Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

पाठकको आँखामा सेतो धरती

         ||   232 Views   ||   Published Date : 16th September 2013 |

 

451f1-5062011464

पुस्तक समीक्षा

राजन सिलवाल

प्रकाशित भएको लामो समयसम्म मैले सेतो धरती पढिनँ । नयाँ पुस्ताका लेखकहरूका कृतिहरू हम्मेसी मेरो प्राथमिकतामा पर्दैनन् । मैले अमर न्यौपानेका यसअघि प्रकाशित कुनै पनि रचना वा ग्रन्थ पढेको छैन र प्रत्यक्ष चिनाजानी पनि छैन । समरेखाका सम्पादकले सेतो धरतीको पुस्तक समीक्षा लेखिदिनुस् नभनेको भए म सायद सेतो धरती यति जाँगरले पढ्ने थिइनँ होला ।
उपन्यासको विषयवस्तुले आजभन्दा आधा शताब्दी अगाडिको नेपालमा यत्रतत्र भेटिने बाल विवाहको परम्परा र त्यसले समाजमा छाड्ने गरेका अमिट छाप अनि नियतिको कोर्राले बाल्यावस्थामै विधवा हुनु परेका ती सबै महिलाहरूको कारुणिक जीवन गाथालाई पाठकसामु उपस्थित गराएको छ । कथा यसरी अगाडि बढ्छ कि हामी हाम्रै समाजका ७०–८० वर्ष पुगेका कोही बृद्धाको पूर्ण जीवनी सुनिरहेका छौँ । लेखकले आफ्नो उपन्यास तिनै बाल विधवाहरूलाई समर्पण गरेका छन् ।
भाषामा बहाव छ र छोटा छरिता वाक्य गठनले सामान्य पाठकले पनि उपन्यासका गुदी कुरा सहज पचाउन सक्छ । उपन्यासमा जुन समस्या उठाइएको छ त्यो नेपालको जुनै क्षेत्रमा पनि महिलाहरूले भोगेको कथा हो तर उपन्यासकारले जुन भौगोलिक परिवेशका चर्चा गरेका छन् त्यसले यो गण्डकी अञ्चलभित्रैको कथा हो भन्ने संकेत गर्दछ । पात्रहरूका भाषिक लवजले पनि यसलाई आञ्चलिक उपन्यासको विशेषता नजिक पुर्याएको छ । उपन्यासले प्रेमको सर्वोच्चता, यौनिक मनको विहंगम उडान, समाजमा संस्कृति बनेर बसेका रुढिवादी मूल्य र मान्यताहरू, धार्मिकता र प्रभु भक्ति, दैहिक जीवनको लिप्सा, वैराग, घृणा, वात्सल्य आदिजस्ता मानवीय संवेदना र विश्वासहरूलाई कतै गहिराइमा र कतै सर्सर्ती पस्केको छ । पात्रहरूका संवादहरू बडो जीवन्त लाग्छन् । पात्रहरू आफैँ बोलेजस्ता अथवा उपन्यासलाई तत्कालीन समाजका पात्रहरूको बोली बटुलेर लिपिबद्ध गरिएको हो कि भन्ने लाग्छ । उपन्यासकी मूल पात्र अर्थात् बालविधवा ताराको चरित्र निर्माणमा उपन्यासका सारा पृष्ठहरू खर्च भएका छन् । बालविधवा ताराले आफ्नो जीवनलाई कहिले गाईसँग, कहिले चरासँग, कहिले रुखपात र नदीसँग अनि कहिलेचाहिँ उनकै उमेरका सधवीहरूसँग दाँजेर हेरेको कुराले पाठकको मनलाई भित्रैसम्म हल्लाइदिन्छ । सन्यस्त ताराले जीवनको आखिरी क्षणसम्म पनि भोगविहीन यौवनकालको निस्सारतामा मन दुखाएको देख्दा त्यो मन दुःखाइ ताराको हैन उपन्यासकारको हो जस्तो लाग्छ । ताराले भनेकी छ – यमुनाको यौवन भोगेर रित्तियो, मेरो नभोगेरै ।
त्यसो त उपन्यासमा अरू महत्वपूर्ण पात्रहरू पनि छन् तर ती धेरै मूलपात्र ताराकै कथा निर्माणमा र उपन्यासको विस्तारका लागि प्रयोग भएका छन् । अन्य पात्रहरूमा ताराकी साथी यमुना, लक्ष्मी, ताराका बाआमा, भाइबैना, ताराकी सौतेनी सासु, उनका बालसखा गोविन्द, पवित्रा, देवघाटका स्वामीजी आदि छन् । उपन्यासभित्र जीवनका स–साना कुराहरूलाई पनि सावधानीपूर्वक प्रस्तुत गरिएको छ र तिनले कृतिको प्राकृतिकतामा बल पु¥याएका छन् ।
उपन्यासमा कतिपय यस्ता उपखण्डहरू छन् जसको मूल कथा तन्तुसँग खासै धेरै अन्तरसम्बन्ध छैन । ती उपखण्ड नभए पनि उपन्यासको स्वाद र सार मर्दैन । बाल विधवालाई आवश्यकताभन्दा बढी नै ज्ञानी र प्रौढा बनाइएको छ । उनको किशोरावस्था, युवावस्था, प्रौढावस्था र बृद्धावस्थाका मनोलापहरू त पत्यारिलो लाग्दछ तर बाल्यावस्थाका मनोभाव भने असामान्य लाग्छ र पात्र हैन उपन्यासकार स्वयंले नै कथा वाचन गरे जस्तो लाग्छ । मूलपात्र ताराले सात वर्षको उमेरमा भएको विवाह र नौ वर्षको उमेरमा भोगेको वैधव्य जीवनबारे जे जस्तो अनुभूति र मनोविश्लेषण गरेकी छ त्यसमा एउटी बालिका हैन उपन्यासकार स्वयंले कथा वाचन गरेको प्रष्टै देखिन्छ ।
यौनलाई उपन्यासकारले बालविधवाका हकमा अतिशयोक्तिपूर्वक उठाइरहेका छन् । सन्यास ग्रहण गरिसकेकी ती बृद्धालाई पनि उपन्यासकार यौनापेक्षी सन्यासीनीका रूपमा चित्रित गरिरहेका छन् । यति हुँदाहुँदै पनि उपन्यासभित्र शालीन ढंगले यौनलाई उठाइएको छ । कतै पनि उत्श्रृंखलता देखिन्न । बालविधवा ताराको अतृप्त यौनवासना यमुनाको जोडीको रात्री जीवन सुनेर वा बाँदरका जोडीको सहवास हेरेर वा चरा र गाईका प्रजनन कर्म स्मरण गरेर पनि अघाउँदैन । अन्तिमसम्म पनि तारा भनिरहन्छिन् – यस धरतीमा मेरो कुनै बीउ नरहने भो । उनीभित्रको सृष्टितत्व सुकेर गएकामा तिनलाई सर्वाधिक खिन्नता छ । ताराको सात वर्षकै उमेरमा विवाह भयो, उनी नौ वर्षकै उमेरमा विधवा भइन् । त्यसपछिको उनको जीवन कति दुरुह, कति अवहेलनाग्रस्त र कति जिम्मेवारीपूर्ण थियो भन्ने कुरालाई उपन्यासभित्र केस्रा केस्रा पारेर प्रस्तुत गरिएको छ ।
उपन्यासभित्र एउटी पात्रा छे पवित्रा जो मूलपात्रा ताराकी बालसखा हो । ऊ गाउँमा पुराण भन्न आएका युवक साधुहरूको हुलसँग मिसिएर भारत पस्छे र बीसौँ वर्षसम्म उपन्यासभित्र हराउँछे । त्यही पवित्रा त्यस मित्रदेशमा गायिका मीरा (जो साधुसँग प्रेम र सहवाससम्म पुग्छे), कोठी खोलेर यौन व्यापार गर्ने अभिसारिका (जसले आफ्नो जीवनकाललाई मनग्य पुग्ने पैसा कमाउँछे), विना बाबुको छोरीलाई जन्मदिने हिम्मतीली वत्सला, गङ्गेश्वरी अर्थात् वृन्दावन आश्रममा साधना गर्ने साधक भएर निस्किई । पछिपछि जीवनको उत्तराद्र्धमा त ऊ पुरुष प्रवचकभन्दा पनि प्रखर प्रवचक र आत्म साक्षात्कार भएकी सन्यासीनी भएर अवतरित भई । पवित्राको सृष्टि र उत्तराद्र्धमा उपन्यासकारले आफ्नो लेखकीय सीप, परिकल्पना सामथ्र्य, जीवनका उज्याला अनि अँध्यारा पाटाहरूको प्रकटीकरण गर्नमा सफलता प्राप्त गरेका छन् । उपन्यासभित्र छ्याप्छ्याप्ती पाइने कौतुहलताले पाठक कतै रोमाञ्चित हुन्छ र कतै विस्मित अनि क्रुद्ध ।
इश्वरप्रति असाध्य गुनासो छ ताराको । समाजप्रति पनि उसको गुनासो छ । सौतेनी सासुले अनेकन् प्रताडना दिँदा पनि ऊ बोल्न सक्दिन । आमाले बाल्यकालमै सिकाएकी छिन् कि लोग्ने भनेको देउता हो । लोग्नेका बाबुआमा पनि देउताका बाबुआमा हुन् । उसका दिदीबहिनी पनि देवखलक हुन् । यो मातृवाणीले उसलाई मन नपरेका कुरा पनि सहिरहन बाध्य पार्छ । उसभित्रको रंगीन जीवनको दुर्दमनीय चाहनाले कहिल्यै साकार हुन पाउँदैन र एउटा स्वतन्त्र चराकोजस्तो, एउटा आम सधवी नारीकोजस्तो लोग्नेसँग माया, प्रेम, र भोगविलासमा डुब्दै सन्तानकी आमा हुने उसको अभीप्सा देवघाटमा अतृप्त विसर्जन हुने पर्खाइमा रहन्छ । उपन्यासकारले भारतमा पुगेकी पवित्रा उर्फ साधिका गंगेश्वरीलाई देवघाटमा फर्काएर ल्याउनुका सांकेतिक अर्थहरू निस्कन्छन् । नेपालकै तीर्थमा आएर मर्ने, नेपालमै भगवत् शरणमा जाने, नेपालमै आएर सेवा गर्ने आग्रह हो यो । यमुना जति ज्ञानी भएर सन्यासीनी भई र देवघाट आई त्यसरी तारा आएकी हैन । ताराले उस्तो ठूलो विद्रोह गरेकै छैन जीवनमा । यमुनाले भौतिक जीवनबाट लोग्नेको मृत्युपछि सहज वैराग्य प्राप्त गरी । सन्तानको माया र सम्पत्तिको स्वामित्वलाई उसले तृण बराबर मानी । ताराकोभने परिवारबाट विद्रोहभन्दा पनि स्वेच्छिक पलायन देखिन्छ । ऊ विद्रोही महिला हैन । विद्रोही छोरी वा बुहारी केही पनि हैन । बाल्यकालमा आमा, बाबु र सानिमाबाट ऊ जसरी दीक्षित भई त्यसैअनुसारको उसको समर्पणवादी व्यक्तित्व निर्माण भयो । खासमा त्यो समाज थियो नै त्यस्तै । पूरै समाज त हैन, सायद त्यसबेलाको व्राह्मण समुदायमा यी कुराहरू बढी हुँदा हुन् । छोरी, बुहारी र सन्यासीका रूपमाभन्दा पनि मूलपात्र ताराको चरित्र बालिका सौतेनी आमा र  साना भाइबैनाको अभिभावकका रुपमा बढी सशक्त भएजस्तो लाग्छ ।
उपन्यासभित्र राजनीतिको कतै गन्ध छैन तर एकजना कमलशरण नामका नेपाली राजनेता भारतमा आउजाऊ गरिरहन्छन् र वत्सला उर्फ पवित्रासँग प्रेम गर्छन् । यो पनि प्रवासमा बसेका नेपाली राजनेताहरूको चरित्रप्रति एउटा संकेत गरेजस्तो लाग्छ । कमलशरण पात्र उपन्यासभित्र सुहाएकै देखिन्छ । उपन्यासको अन्त्यमा गोविन्द, यमुना र पवित्रासँग जसरी मिलन गराइएको छ त्यसले सुखान्त साहित्यको पारख गर्ने पाठकहरूलाई खुशी तुल्याउँछ । अँध्यारोबाट सुरु भएको यो उपन्यास पूरै उज्यालो त हैन तर त्यसको संकेत गर्ने रातो क्षितिजतिर पुगेर टुंगिन्छ ।
अन्त्यमा, यो उपन्यास नेपाली साहित्यको एउटा प्राप्ति नै हो । यसले राम्रो उपन्यासको खोजीमा रहेका पाठकलाई प्रसन्न तुल्याउन सक्छ । विषय वासनाबारे सुन्नै नचाहने वा उपन्यासभित्र मन बरालिने गरी लेखिएका यौनिक प्रसंगहरू खोज्ने पाठकले यसबाट सन्तुष्टि लिन सक्दैनन् । उपन्यासमा विद्रोह, विरोध र क्रान्तिका कुरा हुनुपर्छ भन्ने जमात पनि यस उपन्यासका प्रशंसक नहुन सक्छन् ।
अमर न्यौपानेले भाञ्जीसँग देवघाट भ्रमणमा जाँदा भेटेको एउटी बृद्धाको कथाबाट यो उपन्यास लेख्ने बीज र ऊर्जा प्राप्त गरे । देवघाट आश्रमका अन्य माताहरूसँग पनि कुराकानी गरे । अनि यो उपन्यासको जन्म भयो । अमर न्यौपानेको भूमिका (उपन्यासको अन्त्यमा) पनि पढ्नै पर्नेखालको छ । उपन्यासभित्र धेरै त्यस्ता वाक्य र संवादहरू छन् जसले पाठकलाई धरधरी रुवाउँछ । जस जसले पढ्न बाँकी छ तिनले पढ्नै पर्ने पुस्तक हो भनिदिँदा विज्ञापनै गरेको अभियोग त नलाग्नु पर्ने हो । क

One Response to पाठकको आँखामा सेतो धरती

  1. राजन सिलवाल Reply

    December 26, 2016 at 2:52 pm

    अाज दुइ वा तीन वर्षपछि अाफ्नै समीक्षा पुनः पढेँ । रमाइलै लाग्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np