Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

बालविवाह विरोधी चिन्तनको विकास गर्नुपर्छ

         ||   229 Views   ||   Published Date : 8th December 2013 |

Samarekha Bahas copy

 

बालविवाहलाई कानुनीरुपमा अपराध र सामाजिकरुपमा कलंकको रुपमा औंल्याउने गरिए पनि यसमा कमी आउन सकेको छैन । किशोरावस्थामै आमा बन्नुपर्ने बाध्यता उत्तिकै रहेको विभिन्न आँकडाले देखाउँछन् । किशोरवयमा हुने गरेका यौन सम्बन्धले उनीहरुको मानसिक र शारीरिक स्वास्थ्यमा नकारात्मक असर पर्ने यो क्षेत्रका विज्ञहरु बताउँछन् । यसले धेरै किशोरीहरुको जीवन अप्ठेरोमा परेको पनि देखिन्छ । तपाईंको विचारमा किशोरीहरुलाई यी समस्याहरुबाट मुक्त राख्ने उपाय के हुन सक्छ ? हामीकहाँ बालविवाहको अवस्था कस्तो पाउनु भएको छ ? बढ्दो बालविवाह रोक्न कसको भूमिका के हुन सक्छ ? यसपटकको बहस जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह,जिल्ला बाल कल्याण अधिकृत रश्मी पाण्डे,सिविन नेपालगञ्जका सिद्धराज पनेरु र ज्योतिका पुन मगरसँग

1. बालविवाह विरोधी चिन्तनको विकास गर्नुपर्छ
जीतबहादुर शाह
प्रचलित ऐनकानुनले बाल विवाहलाई पूर्णरुपले निषेध गरेको भएता पनि व्यवहारमा यसलाई निषेध गर्न सकिएको छैन । २०६८ सालको तथ्याङ्कलाई मात्र हेर्दा पनि कूल विवाहित जनसङ्ख्या १ करोड ३३ लाख ३८ हजार ४ सय ९६ मध्ये ८० लाख १८ हजार ३ सय १३ (६०.१२ प्रतिशत) ले २० वर्ष नपुग्दै विवाह गरेको देखिन्छ । जबकि यो उमेर स्वास्थ्य र कानून दुबैको दृष्टिले जोखिमपूर्ण छ । दाङको हकमा यो अवधिमा विवाह गर्नेको प्रतिशत ६४ जति छ । यसमा पनि बालविवाह गर्ने महिलाहरुको अनुपात अत्यधिक बढी छ । हाम्रो देशका शिक्षा र चेतनाको उज्यालोले छुन नसकेका कतिपय गाउँ र बस्तीहरुमा यो समस्या चर्को रुपमा
रहेको छ । मैले कर्णालीको जुम्लामा काम गर्दा गाउँतिर जाने क्रममा साना–साना आफै पनि कुपोषित जस्ता देखिने बहिनीहरुले काखीमा आफ्नै बच्चा बोकेका मन कुढिने दृश्यहरु देख्नु पथ्र्यो । दाङकै पनि दुर्गम गाविस हाँसीपुरमा जाँदा त्यहाँको एउटा नि.मा.वि. मा कक्षा ६ र ७ मा अध्ययन गर्ने १२ जना छात्राहरुले गतवर्ष नै विवाह गरेको कहालीलाग्दो खबर सुन्नुप¥यो । घोराहीकै एउटा माध्यमिक विद्यालयमा अध्ययनरत २५ जोडी छात्रछात्राहरुले विवाह गरेको समाचार पढ्नुप¥यो ।

यी सबै घटनाहरुको अध्ययनबाट पनि पुष्टि हुन्छ कि हाम्रो गाउँसमाजमा परापूर्वकालदेखि जरा गाडेर रहेको बालविवाहलाई उखेल्न सकिएको देखिँदैन । केटाकेटीहरुमा १२, १३ वर्षको उमेरदेखि शारीरिक परिवर्तनका कारण विपरीत लिङ्गप्रतिको आकर्षण र यौनइच्छा बढ्न थाल्छ । यो असाध्यै संवेदनशील उमेर हो । यतिबेला यौन
शिक्षा र मनोवैज्ञानिक परामर्श एवं पथप्रदर्शन गर्ने अभिभावकको अभावको कारणले बालबालिकाहरु बालविवाहको फन्दामा परेको स्थिति छ । त्यसमा पनि मोबाइल, फिल्म आदिको दुरुपयोगको कारणबाट पनि यस प्रकारको विकृति बढेको हो । हाम्रो समाज पनि विविध कारणले गर्दा बालविवाह विरोधी भन्दा पनि बालविवाह अनुकूलको सोंचमा बाँचेको अवस्थाले पनि बालविवाहले प्रश्रय पाएको देखिन्छ । यस्तै सोंचका कारणबाट भएका कानूनी प्रावधानहरु पनि कार्यान्वयन नभएको हो कि भन्ने
आभास हुन्छ ।
विवाहपश्चात किशोरीहरु सानै उमेरमा गर्भधारण गरेर आमा–बुबाको भूमिकामा तानिन्छन् । एक त शारीरिक अपरिपक्वताको कारणले यो उमेरको गर्भधारणले आमा र बच्चा दुबैको जीवन जोखिममा हुने गर्दछ । मृत्युको मुखबाट बचे भने पनि आमा र बच्चा दुबै शारीरिक हिसावले स्वस्थ र निरोगी हुने सम्भावना कम रहन्छ । अर्को कुरा आफ्नो भविष्य निर्माण गर्ने समयमा आफूले जन्म दिएका नानीहरुको भविष्य निर्माण गर्नुपर्ने अवस्था आयो भने आफ्नो भविष्य त चौपट हुन्छ नै काखमा रहेको नानीको भविष्यसमेत भनेजस्तो बनाउन सकिँदैन । उमेरमा परिपक्वता आएपछि बाल्यकालमा गरेको विवाहप्रति धेरैको मोहभङ्ग हुने गर्दछ र यिनै जोडीहरु बहुविवाहको समेत चपेटामा पर्ने गर्दछन् । यसको कहालीलाग्दो पीडा किशोरीहरुले जीवनभर भोग्नुपर्ने हुन्छ । महिला र बालबालिकाले भोग्नु परेका धेरै दुःख र पीडाहरुको उद्भव धेरै
हदसम्म बालविवाह हो भन्दा अन्यथा हुँदैन । अन्ततः बालविवाह गर्दा परिकल्पना गरेको स्वप्निल दुनियाँ शीतको थोपा जस्तै हराएर जान्छ । यस्ता जोडीहरुको जीवनमा न त भनेजस्तो शिक्षा हुन्छ, न त स्वास्थ्य, न त अर्थ नै । बालविवाहबाट मुक्ति पाउने कसरी ? पहिलो कुरा त बालविवाहको नकारात्मक असरका बारेमा सुसूचित गर्न गराउनका लागि कार्यक्रमहरु सञ्चालन गर्नु पर्दछ । यसप्रकारको कार्यक्रम विद्यालयहरुले र सरकारी एवं गैरसरकारी संघसंस्थाहरुले हरेक किशोरकिशोरीहरुका निम्ति
सञ्चालन गरिनुपर्दछ । दोस्रो कुरा यसप्रकारको चेतनामूलक कार्यक्रम अभिभावकहरुका निम्ति समेत सञ्चालन गरिनु पर्दछ । किशोरावस्थामा देखापर्ने शारीरिक र संवेगात्मक परिवर्तनका बारेमा आफ्ना छोराछोरीहरुलाई कुशल तरिकाले परामर्श प्रदान गर्ने गरी अभिभावकहरुलाई सशक्त बनाउनु पर्दछ । यसरी अभिभावकहरुमा चेतना जगाउने कार्यक्रम विद्यालय, सरकारी एवं गैरसरकारी निकायहरुबाट सञ्चालन गर्नुपर्दछ । यस कार्यक्रममा नेतृत्वदायी भूमिका स्थानीय निकायले निर्वाह गर्नुपर्दछ । तेस्रो कुरा बालविवाह निषेध गर्ने सम्बन्धी विद्यमान नियमकानूनलाई थाहा नपाएजस्तो गरेर घुमाइफिराई उलङ्घन गर्ने र उलङ्घन गर्न सघाउनेहरुमाथि शून्य सहनशीलताको विकास हुनुपर्दछ । चौथो उपाय भनेको बालविवाह नियन्त्रण गर्नका लागि उल्लेख्य भूमिका निर्वाह गर्ने व्यक्ति एवं निकायलाई पुरस्कृत एवं प्रोत्साहित गरिनुपर्दछ । पाँचौं
अन्तिम उपाय भनेको हाम्रो समग्र समाज, सोंच र चिन्तन बालविवाह विरोधी बनाउनका लागि समाजका हरेक क्षेत्रले आ–आफ् नो स्थानबाट सक्ने जति भूमिका निर्वाह गर्नुपर्दछ ।
जिल्ला शिक्षा अधिकारी
(जिल्ला शिक्षा कार्यालय, दाङ)

2. बालबालिका र सरोकारवाला सबैको भूमिका महत्वपूर्ण
रश्मि पाण्डे धिताल
बालबालिका भनेका भविष्यका कर्णधार हुन् । तर जबसम्म उनीहरुको आज सुनिश्चित र सुरक्षित हुँदैन तबसम्म भविष्य अन्धकार एवं अन्योलताले भरिने सम्भावना हुन्छ ।
बालसंरक्षणका सवालहरुमध्ये अहिले बालविवाह पनि एक जटिल सवाल बनेर हाम्रासामु देखा परिरहेको छ । बालविवाह कुनै पनि हिसावले राम्रो होइन । ज्ञान, सीप आर्जन गरेर सक्षम बन्ने उमेरमा विवाह गरे भने उनीहरुको जीवन कहिल्यै माथि उठ्न सक्दैन । यसले उनीहरु स्वयंलाई मात्र होइन आउने अर्को पिँढीलाई समेत गम्भीर असर पार्दछ । केही समुदायमा अभिभावक आफैले बालविवाह गरिदिएका छन् त कहीँ बालबालिका स्वयंले गरिरहेका छन् । बालविवाहले एकातिर बालश्रमिक र असक्षम
जनशक्ति उत्पादन गर्छ भने अर्कोतिर स्वयं किशोरावस्थामा आमा बन्नाले उनीहरुको स्वास्थ्य एकदम कमजोर हुने, कुपोषित बच्चा जन्मने, अपरिपक्वताको कारण परिवारमा कलह, अशान्ति, घरेलु हिंसामा बृद्धि, पारिवारिक विखण्डन, बेरोजगारी आदि समस्याहरु सिर्जना हुन्छन् । सानै उमेरमा विवाह गरेका किशोरीहरु हाम्रासामु घरेलु हिंसा, नागरिकताको समस्या, जन्मदर्ता, विवाह दर्ता, घरवारविहीन हुने आदि समस्या लिएर उनीहरु आएका छन् । अहिले बालबालिका स्वयंले गर्ने बालविवाह बढ्दो छ । यसलाई बेलैमा रोक्न सकिएन भने गम्भीर समस्या नल्याउला भन्न सकिँदैन ।

बालविवाहलाई निरुत्साहित गरी किशोरीहरुलाई आइपर्ने समस्याबाट मुक्त गर्नका लागि उनीहरुलाई समूहमा आवद्ध गराएर जीवनोपयोगी सीप प्रदान गर्ने, समस्याका
बारेमा व्यापक छलफल गर्ने, अत्यन्त कमजोर अवस्थाका किशोरीहरुलाई आवश्यक सहयोग प्रदान गर्ने, परामर्श गर्ने, घरपरिवार, अभिभावक, विद्यालय, टोल समुदायमा विभेद कम गर्नका लागि अभियान सञ्चालन गर्नाले बालविवाहमा न्यूनीकरण गर्न सकिन्छ । बालबाविवाह रोक्नका लागि बालबालिका स्वयं, अभिभावक, विद्यालय, स्थानीय निकाय, स्थानीय संघसंस्था, सरोकारवाला सबैले आफ्नो तह र तप्काबाट छलफल, घरदैलो कार्यक्रम, साथीसँग मनका कुरा गर्ने वातावरण निर्माण, बालविवाहका नकारात्मक असरबारे बुझाउन सडक नाटक र अन्य सिर्जनात्मक गतिविधि, बालविवाहबाट पर्ने शारीरीक, मानसिक असर र क्षतिका बारेमा व्यापक जानकारी प्रदान गर्नुपर्छ । बालविवाह रोक्नका लागि बालबालिका स्वयं र सरोकारवाला निकाय सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ ।

बालविवाह रोक्नका लागि बालबालिकाहरु बालक्लवमा आवद्ध भएर बालविवाह र यसले व्यक्ति स्वयंको र सामाजिक जीवनमा पार्ने नकारात्मक असरका बारेमा जानकारी आदानप्रदान गर्ने, संगीसाथी÷विद्यालय÷बालक्लव÷समूहमा सामूहिक एवं व्यक्ति स्वयंले नै बालविवाहबारे खुलेर छलफल चलाउने, चेतनामूलक अभियानहरु सञ्चालन गर्ने, बालविवाहबाट हुने नकारात्मक असरका बारेमा घरपरिवार र अभिभावकका बीचमा छलफल चलाउने र आफ्नो छरछिमेकमा बालविवाह हुन लागेको थाहा भएमा तुरुन्त बालअधिकारकर्मी, सामाजिक संघसंसथा एवं विश्वासिलो निकाय तथा व्यक्तिलाई खबर गर्ने र समयमा नै रोकथामका लागि पहल गर्ने जस्ता क्रियाकलापहरु नियमितरुपमा
सञ्चालन गर्न सकिन्छ । त्यस्तै बालबालिकाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था र सरकारी तहबाट बालबालिका तथा उनीहरुको परिवार तथा अभिभावकहरुसँग बालबिवाहबारे छलफल चलाउने, बालबालिकासँग बालअधिकार र बालविवाहसम्वन्धी विशेष कार्यक्रम गर्ने, किशोरकिशोरी शिक्षा, प्रजनन् स्वास्थ्य चेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने, समुदाय र विद्यालयमा बालक्लव गठन गरी संगठित हुन प्रेरित गर्दै बालविवाहको कुरीति बारेमा चेतनामूलक कार्यक्रमको आयोजना, समुदाय, विद्यालय वा घरपरिवारमा बालमैत्री वातावरण सिर्जना गर्न आवश्यक पहल गर्ने, बालविवाह हुन लागेमा सामाजिक दवाव दिई त्यसलाई रोक्न पहल गर्ने र भइसकेको अवस्थामा
नजिकको प्रहरी कार्यालयमा सूचना दिने गरेमा बालविवाह रोक्न सकिन्छ । कानुनको प्रभावकारी कार्यान्वयनका साथै बालविवाह गर्ने गराउनेलाई सामाजिक बहिष्कार गर्ने र उनीहरुलाई सामाजिक दण्ड दिएर सचेत गराउने जस्ता प्रयासको थालनी गर्नुपर्छ ।
बालअधिकार अधिकृत
जिल्ला बालकल्याण समिति, दाङ

3. सचेतनाका कार्यक्रम व्यापक बनाउनुपर्छ
सिद्धराज पनेरु
हामीकहाँ बालविवाहको अवस्था निकै बढी छ । केहीले आफूखुशी सानो उमेरमै विवाह गर्दछन् तर धेरैजसोलाई बाबुआमाले विवाह गरिदिन्छन् । कसैलाई फकाएर त कसैलाई हकारेर विवाह गराई दिन्छन् । यसको कारण सानैमा विवाह गरिदिँदा खर्च कम लाग्छ । अर्काको घरमा जाने छोरीलाई धेरै समय पाल्न परेन । धेरै सन्तान भएको परिवार रहेछ भने त्यहाँ खाने मुख घट्छ । महिनावारी नहुँदै विवाह गरिदिए धर्म हुन्छ भन्ने अन्धविश्वास र विवाहपछि आफ्नो जिम्मेवारी पूरा हुने परम्पराले जिम्मेवारी पूरा गर्न हतारिने चलनले पनि बालविवाहलाई प्रश्रय दिएको छ । समाजमा बेलैमा बिहे गरिदिए बिग्रिएर हिँड्दैनन्, समाजले कुरा काट्न पाउँदैन, नातिनातिनाको मुख देख्न पाए स्वर्ग पुगिन्छ भन्ने मान्यताले पनि काम गरेको हुन्छ ।

पढेलेखेको कुल घरानाको केटाको प्रस्ताव आए सजिलै स्वीकार्ने प्रचलनले बालिकाको शिक्षा श्रीमान् नभेटिउन्जेलसम्मको लागि मात्रै भइदिएको छ । बालविवाहले कशोरीको जीवन समस्यामा पारेको छ । बालविवाहको अन्त्यबिना सभ्य र समृद्ध समाजको कल्पना गर्न सकिँदैन ।

बालविवाहको अन्त्यको लागि कुनै एक पक्ष या तहबाट काम गरेर मात्रै सफलता प्राप्त गर्न सकिँदैन । बालविवाहको अन्त्य गर्न सञ्चारमाध्यम, सरकारी, गैरसरकारी क्षेत्रबाट आवश्यक पहल गर्न सकिन्छ । बालविवाहले पार्ने नकारात्मक असरका बारेमा जनस्तरमा सहज सूचना प्रवाह गर्न मिडियाले महत्वपूर्ण भूमिका खेल्न सक्छ । त्यसको लागि बालविवाहलाई निरुत्साहित गर्ने खालका छोटाछोटा सन्देश, सूचना प्रवाहलाई अभियानका रुपमा लैजानुपर्छ । त्यस्तै सबै बालबालिकाहरुलाई समेट्ने
गरी बालक्लबहरुको गठन र तिनको बिस्तार गरी बालविवाह विरुद्ध दबाब समूहको रुपमा विकास गर्न सकिन्छ । बालक्लबमा साथीहरुबीच छलफल गर्ने, सिर्जनात्मक प्रस्तुति र घरदैलो कार्यक्रमजस्ता अभियान सञ्चालन गर्न सके प्रगति गर्न सकिन्छ । बालविवाह रोक्न अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । बाह्य व्यक्तिका अनावश्यक कुरा नसुन्ने, कुरीतिको पछि नलाग्ने, आर्थिक लोभलालचमा नफस्ने र छोरीलाई बोझको रुपमा लिएर छिट्टै विवाह गरिदिनेजस्ता प्रचलन छाड्नु पर्छ ।
समाजमा कन्यादानलाई उत्तम दानको रुपमा लिने मान्यता रहिआएको छ । यी कुराहरु सही होइनन् भन्ने कुरा जति धर्मगुरुहरुले भन्दा प्रभावकारी हुन्छ त्यति अरुले भनेको
कुरामा विश्वास नहुन सक्छ । त्यसैले बालविवाहका नकारात्मक पक्षबारे धर्मगुरुहरुद्वारा समुदायमा सचेतीकरणको काम अझ प्रभावकारी हुनसक्छ । त्यस्तै सचेत तह र तप्काबाट बाल विवाह गर्ने परिवारलाई सामाजिक बहिष्कार बालविवाह रोक्ने उपाय हुनसक्छ ।

बालविवाह कानुनीरुपमा अपराध भएकोले त्यस्तो आपराधिक कार्यमा संलग्न हुने र सरिक हुनेसम्मलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्छ । कानुनको प्रभावकारी कार्यान्वयन, राज्यकोषबाट तलब खाने हरेकको परिवारमा बालविवाह भएमा थप कारवाहीको व्यवस्था गर्नुपर्छ । बालविवाह एउटा सामाजिक कुरीति पनि हो । यस्तो कुरीति हटाउन मद्दत पुग्ने खालका कार्यक्रम, कानुन कार्यान्वयन भए नभएको अनुगमन, कानुनी सचेतना कार्यक्रम सञ्चालन र बालबालिका सम्बन्धी मुद्दाहरुमा छटोछरितो सुनुवाईको व्यवस्था हुनु जरुरी छ । त्यस्तै गैरसरकारी क्षेत्रबाट बालअधिकार र बालविवाहले निम्त्याउने समस्याबारे सचेतनाका कार्यक्रम सञ्चालन गर्ने, अभिभावक, शिक्षक, बालबालिका, धर्म गुरुहरुका लागि तालिम, सूचना सामग्रीहरुको व्यापक वितरणजस्ता कामलाई सँगसँगै लैजाने हो भने बालविवाहलाई न्यूनिकरण गर्न
सकिन्छ ।
सिविन नेपाल, नेपालगञ्ज, बाँके
सरोकारवाला बालविवाहको असरबारे सचेत हुनुपर्छ
ज्योतिका रोका
नेपालको मध्यपश्चिमको राप्ती अञ्चलको दुर्गम अनि पिछडिएको जिल्ला रुकुम हो । विभिन्न जात जाति, भाषाभाषी र आपm्नै संस्कृति भएका समुदायहरु बसोबास गर्ने यहाँ पनि बालविवाह समस्याकै रुपमा छ । पहिले बालविबाह आमाबाबु तथा अभिभावकहरुबाट जबर्जस्ती गराइन्थ्यो भने पछिल्लो समयमा बालबालिकाहरु आफै रहरले, एकअर्काको देखासिकीले, साथीहरुको लहलहैमा लागेर पनि बालविवाह गरेको पाइन्छ । यसले गर्दा प्रायःकिशोरीहरुको शारीरिक एवं मानसिक स्वास्थ्यमा कठिनाई
उत्पन्न भएको देखिन्छ । आजभोलि हरेकजसो विद्यालयमा पढ्ने बालिकाहरु सय प्रतिशतमा बीस प्रतिशतको सिउँदोमा सिन्दुर अनि हातमा चुरा देखिन्छ । अनि शुरुशुरुमा विवाह रहर र पछि त्यही विवाहबन्धन बोझ हुन पुगेको अवस्था छ । जसले गर्दा सिर्जनाका स्रोत नारी जाति पछि परेका छन् ।

यसको न्यूनीकरण गर्नको लागि हामी सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी, पत्रकार, स्वास्थ्यकर्मी, शिक्षाविद, तथा कानुनविदहरु र सम्पूर्ण बालबालिकासँग सरोकार राख्ने व्यक्ति, सरकारी तथा गैरसरकारी संघसंस्था, निकायहरु एक भएर लाग्नु जरुरी छ । सबै सरोकारवालाहरुले बालविवाहको असर र भावी जीवनमा पार्ने प्रभावहरुका बारेमा अभिमुखीकरणलाई विभिन्न माध्ययमबाट ब्यापक बनाउने, कानुनीरुपमा भएका व्यवस्थाहरुलाई अक्षरशः पालना तथा कार्यान्वयन गर्ने गराउने र सञ्चारका माध्ययमको बढ्दो दुरुपयोग रोक्ने, अभिभावक शिक्षा, किशोरी शिक्षा, मनोसामाजिक विमर्शका क्रियाकलापहरुलाई व्यापक बनाउन जरुरी छ ।
शिक्षा सहजकर्ता (बालसरोकार केन्द्र ९ रुकुम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np