Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

आत्मनिर्भरताले बढाएको आत्मविश्वास

         ||   138 Views   ||   Published Date : 24th August 2014 |

आत्मनिर्भरताले बढाएको आत्मविश्वास

samarekha cover 12

  • नरेन्द्र केसी

घोराही नगरपालिका १० निवासी बिनसरी पुनको कुनै बेला पनि हात खाली हुँदैन । श्रीमान् विदेश गएकाले उहाँलाई आर्थिक अभाव त थिएन तर आफूले पनि
केही गर्नुपर्छ र सकेसम्म आत्मनिर्भर बन्नुपर्छ भन्ने सोंचले उहाँ विगत चार बर्षदेखि धागो बनाउने काममा लाग्नुभएको छ । त्यही मेहनतको परिणामस्वरुप उहाँ घर खर्च र छोराछोरीलाई पढाइ शुल्क आफै तिर्न सक्नुहुन्छ । घर खर्च आफै कमाएपछि श्रीमान्ले पठाएको रकमबाट घडेरी किन्नुभएको छ । रोल्पाबाट दाङ झरेकी बिनसरी अब दाङमै जम्ने सुरसारमा हुनुहुन्छ ।
“सबै त पुग्दैन तर घरखर्च चलाउन उहाँ (श्रीमान)ले पठाएको रकम त्यति धेरै खर्च पनि हुँदैन”, बिनसरी भन्नुहुन्छ– “दुई चार महिना पैसा नपठाए पनि के खाने, कसो गर्ने भन्ने छैन, धागो कातेर अलिअलि खर्च धानेकी छु ।” उहाँको यो आत्मविश्वास त्यसै आएको होइन । पछिल्लो समयमा दाङमा व्यवसायकै रुप लिन थालेको अल्लो धागो उत्पादन काममा लागेपछि महिलाहरुको आत्मनिर्भरता बढेको छ र त्यसले आत्मविश्वास बढाएको छ ।
जिल्लामा यस्ता केही उद्योगहरु खुलेका छन्, जसले सय होइन हजारको संख्यामा महिलालाई आबद्ध गरेर प्रत्यक्ष रोजगारी दिइरहेका छन् । दाङमा अल्लो धागो तथा तयारी पोशाकसम्बन्धी काम गर्ने पिएनएस अल्लो धागो तथा तयारी पोशाक उद्योग घोराहीका अनुसार यो उद्योगबाट मात्रै झण्डै एक हजार पाँच सय महिलाहरुले अल्लोको लोक्ता लगेर धागो बनाउने गरेका छन् । “मेरो उद्योगबाट पन्ध्र सय जतिले लोक्ता लगेर धागो बनाउँछन्” उद्योगकी सञ्चालक प्रेमकुमारी पुनले भन्नुभयो, “प्रत्येक महिलाले महिनामा राम्रो काम गरेमा तीन हजारसम्म कमाउने गरेका छन् । यसले सयौं महिलाहरुलाई रोजगारीको अवसर सिर्जना भएको छ ।”
केही बर्षअघि पहाडी जिल्लाका महिलाहरु मात्र आबद्ध हुने अल्लो धागो तथा तयारी पोशाकसम्बन्धी व्यवसाय दाङमा पनि शुरु भएपछि यहाँका सयौं महिलाहरु यो पेशामा आबद्ध भएका छन् । उनीहरुले उद्योगबाट अल्लोको लोक्ता लैजान्छन्, फुर्सद भएको बेला घर वा कार्यक्षेत्रमा त्यसलाई कातेर धागो बनाउँछन् र पुनः उद्योगमा ल्याएर बिक्री गर्छन् । त्यसमा उनीहरुले राम्रै आम्दानी गर्ने गरेका छन् । यो पेशाले सामाजिक र आर्थिक दुबै दृष्टिले फाइदा पुगेको जानकारहरु बताउँछन् । केही काम नगरेर बस्दा एकातिर आर्थिक अभाव हुने, त्यसकै कारण महिलाहरु हेपिने स्थितिमा कमी आउने र अर्कोतिर बेरोजगार भएर बस्दा देखिनसक्ने अन्य विकृति विसंगतिबाट पनि यसले रोकेको उनीहरुको भनाइ छ ।
झण्डै दश बर्षअघिदेखि अल्लो धागोसम्बन्धी व्यवसाय शुरु गर्दै आएकी पुनले उद्योग नै स्थापना गरेपछि अरु सयौं महिलाहरुलाई रोजगारीको अवसर सिर्जना भएको छ । यसका लागि उद्योगले सुदूरपश्चिमका दार्चुला, बझाङ, डोटी, डढेल्धुरा, मध्यपश्चिमका दैलेख, सुर्खेतलगायतका जिल्लाबाट अल्लोको लोक्ता ल्याएर धागो बनाउन महिलाहरुलाई वितरण गर्ने गरेको छ । धेरै चरणको प्रशोधनपछि लोक्ता महिलाहरुलाई वितरण गर्न योग्य हुने उद्योग सञ्चालक पुनको भनाइ छ । “अल्लो दाङ ल्याएर पकाउने, धुने, पिट्ने, फेरि धुने, कमेरो (सेता माटो) लगाउने, फेरि धुने, सुकाउने, पिट्ने गरेपछि बल्ल लोक्ता वितरण गर्न योग्य हुन्छ”, उहाँ भन्नुहुन्छ “महिलाहरुले लोक्ता निःशुल्क लैजान्छन् र कातेर उद्योगमा ल्याएर प्रतिकेजी १ सय ५० का दरले बिक्री गर्छन् ।”
उद्योगले धागोको डल्लालाई लछी बनाएर राजधानीका गार्मेन्टमा पठाउने गरेको र केही धागो दाङमै तयारी पोशाकमा प्रयोग हुने गरेको उद्योगका व्यवस्थापक
देवप्रसाद पुनले बताउनुभयो । उद्योगले दाङमै कोट, सल, झोला, पर्स, टोपी लगायतका तयारी पोशाकहरु तयार गरी बिक्रीबितरण गर्दै आएको छ । तयारी
पोशाकका कोट र पर्सहरु धेरै बिक्री हुँदै आएको पुनको भनाइ छ ।
एउटा उद्योगबाट मात्रै १ हजार ५ सय महिलाले रोजगारी पाएको जानकारी दिंदै अर्की व्यवसायी बिनाकुमारी पुनले अन्य उद्योगहरुले पनि सयौंको संख्यामा महिलाहरुलाई रोजगार बनाएको बताउनुभयो । पछिल्लो समयमा आफूहरुले तीन महिने तालिम नै लिएर यो व्यवसायलाई अघि बढाएको उहाँले जानकारी दिनुभयो । घरमा लोक्ता लगेर धागो बनाउनेबाहेक उद्योगमै पनि १०÷१५ जना महिलाले रोजगारी पाउने गरेका छन् । यसमा प्रायः सबै महिलाहरु नै लाग्ने भएकाले महिलालाई चाँडो रोजगार र आत्मनिर्भर बनाउन भूमिका खेलिरहेको बिनाकुमारीको बुझाइ छ ।
दाङको घोराही १० मा रहेको पिएनएस अल्लो धागो तथा तयारी पोशाक उद्योग नेपालमै उत्कृष्ट भएर २० हजार पुरस्कार र शील्ड हात पार्न सफल भएको छ । घरेलु तथा साना उद्योग विकास समितिले बैशाख ४ देखि ८ गतेसम्म राजधानीमा गरेको राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा यो उद्योग उत्कृष्ट भएको हो । त्यस्तै यस उद्योगका सञ्चालक प्रेमकुमारी पुनलाई नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले पनि “वरिष्ठ हस्तकला कलाकार”को पदवीले कदरपत्रसहित सम्मान गरेको छ । यही उद्योगकै पहिचानले उद्योग सञ्चालक पुन दाङ जिल्ला उद्योग वाणिज्य संघको चुनावमा समेत भिड्नु भयो ।
यो व्यवसाय पुर्खाहरुको कामको निरन्तरता पनि भएको उद्योग सञ्चालक पुनको भनाइ छ “पुर्खाहरुले आफूले लगाउने कपडा आफै बनाएर लगाउने
गर्थे तर अहिले आधुनिकताको नाममा सबै विदेशी उत्पादन प्रयोग गर्छौं । कम्तिमा यो व्यवसायले नेपालमा पनि उत्पादन गर्न सकिने केही वस्तु छन् है भनेर देखाएको छ । तर, यसको जति संरक्षण हुनुपर्ने हो राज्यस्तरबाट हुननसकेको उहाँको गुनासो छ ।

पहाडबाट झरेको पेशा
अल्लो धागो उत्पादनमा संलग्न अधिकांश महिलाहरु राप्तीका पहाडी जिल्लाबाट झरेका छन् । त्यसमा पनि अधिकांश मगर समुदायका छन् । यो कुनै आकस्मिकता होइन । पहाडबाट झरेका महिलाहरुले आफैंसँग लिएर आएको संस्कृति हो यो । विशेषतः रुकुम रोल्पाका मगर बाहुल्य क्षेत्रमा महिला पुरुष धागो उत्पादनमा लागेका हुन्छन् । जंगलमा प्रशस्त पाइने अल्लो (जसलाई पहाडमा पुवा भनिन्छ) र बारीमा लगाइने भाङको लोक्ताबाट धागो उत्पादन गरिन्छ । अल्लो (पुवा)को लोक्तालाई अल्लो नै भनिन्छ भने भाङको लोक्ताबाट बन्ने धागोलाई हेम्प भनिन्छ ।
राप्तीका पहाडी गाउँहरुमा आयआर्जनको एउटा मुख्य आधार हो धागो उत्पादन तर यो मुख्य पेशा भने हुँदैन । घाँस, दाउरा, पानी पँधेरो, गोठाला आदि जाँदा आउँदा काठको फिरफिरे बनाएर धागो कात्ने गरिन्छ । “गाउँमा महिला पुरुष सबैले धागो कात्छन्, महिनामा एकजनाले १० देखि ५० किलोसम्म बेच्छन्”, हेम्प धागो व्यवसायी गणेश केसी भन्नुहुन्छ– “गाउँमै साढे दुई सयदेखि चार सयसम्म प्रतिकेजी मूल्य जाने गर्दछ ।” यसरी एकजनाले बढीमा मासिक २० हजारसम्म कमाउने भनाइ उहाँको छ ।

ऐतिहासिक संस्कृतिसँग जोडिएको व्यवसाय
धेरै भएको छैन, दुई पुस्ता अगाडिका नेपालीहरुले प्रायः स्वदेशमै तयार भएको घरबुना कपडा लगाउँथे । अहिले पनि गाउँघरतिर त्यस्ता पोशाक
लगाउनेहरु कहीँकतै पाइन्छन् । प्रायः उनीहरुले यिनै अल्लो र हेम्प अर्थात् भाङको धागोबाट निर्मित कपडा लगाएका हुन्छन् । यो मगर समुदायको मुख्य
पोशाक हो, जसलाई भांग्रो भनिन्छ । जानकारहरुका अनुसार भाङको लोक्तालाई कातेर तयार पारिएको कपडा भएकाले यसलाई भांग्रो भनिएको हो ।
अल्लो धागो उत्पादन मगरात संस्कृतिको निरन्तरता हो भन्ने धेरै पुराना व्यक्तिहरुको भनाइबाट झल्कन्छ । रोल्पाबाट दाङ झरेर अहिले पनि अल्लो व्यवसायमा लागिरहेकी ६८ बर्षीया रामकली पुन इतिहास सम्झदै भन्नुहुन्छ, “त्यतिबेला भांग्रोको गादो लगाइन्थ्यो । भांग्रोको लरालाई मसिनो बनाई डोरी निकालेर भांग्रो बुनिन्थ्यो । भांग्रोको गादो लगाउन र दरीको रुपमा ओछ्याइन्थ्यो । त्यतिबेला धागो कात्न सिकेको सीप बुढेसकालमा अल्लो कात्न प्रयोग गरेकी छु ।” उहाँले पनि घोराहीस्थित प्रेममिस अल्लो धागो तथा तयारी पोशाक उद्योगका लागि धागो कातेर पौरखी हात चलाइरहनु भएको छ । बसेर गरिने अल्लोको काममा खासै मेहनत बढी नलाग्ने र समयावधि पनि निश्चित नहुने हुनाले अल्लो कात्ने काम रामकलीले आफूखुशी समयमा गर्नुहुन्छ ।
यो ब्यवसाय इतिहाससँगजोडिएको अर्को प्रसंग पनि छ । जानकारहरुका अनुसार दोस्रो विश्वयुद्धताका नेपालबाट भारतमा लगेर गाँजा बिक्री गर्न खुला थियो । खुला मात्र होइन रोल्पा रुकुमका माथिल्लो क्षेत्रको यो मुख्य आयआर्जनको स्रोत थियो । भाङ र गाँजा नै मुख्य खेती थियो । त्यसबाट उत्पादन भएको गाँजा भारत लैजाने र लोक्ताबाट धागो उत्पादन गर्ने चलन इतिहासदेखिको भएको जानकारहरुको भनाइ छ ।
यति लामो इतिहास भए पनि नेपालमा अल्लोको रेशाबाट निकालिएको वस्तु बिक्रीवितरण शुरु भएको करिब १५ बर्ष मात्रै पुगेको राष्ट्रिय अल्लो सङ्घका
केन्द्रीय सदस्य सन्तोष कार्की बताउनु हुन्छ । संघका अनुसार नेपालका ३१ जिल्लामा अल्लो उत्पादन हुन्छ । अहिले प्राकृतिक रुपमा उपलब्ध अल्लोलाई संकलन र प्रशोधन गरेर कपडा बनाउने गरिएको छ । नेपालमा यसको व्यवसायिक खेती भने कसैले गरेको छैन ।
पछिल्लो बर्षहरुमा राज्यले गाँजा आपूर्तिमा रोक लगाएपछि तत्कालीन शासकविरुद्ध त्यस क्षेत्रका जनता आक्रोशित हुनुको एउटा कारण यो पनि थियो । सरकारी प्रतिबन्धसँगै गाँजा खेती हराए पनि अचारका लागि भाङ खेती भइरहेको छ र त्यसको लोक्ताबाट हेम्प धागो उत्पादन गरिन्छ, जसलाई धेरै महिलाहरुले आयआर्जनको स्रोत बनाएका छन् । राप्तीका पहाडी गाउँहरुको मुख्य पहिचानको रुपमा रहेको अल्लो र हेम्प धागो उत्पादन विस्तारै मध्यपश्चिम र सुदूरपश्चिमका अन्य जिल्लामा पनि विस्तार हुन थालेको छ । अल्लोको धागोबाट निर्मित वस्तुको पहिरन प्रयोग गर्नाले मानिसलाई हरेक प्रकारले हुने एलर्जीबाट सजिलै छुट्कारा पाउन सकिने प्राकृतिक चिकित्सकहरु बताउँछन् ।

अल्लोको फैलिँदो बजारले महिलाहरुमा आत्मनिर्भरता बढाउँदै
पछिल्लो समयमा नेपालमा हस्तकलाको राम्रो सम्भावना बढिरहेको छ । हस्तकलाका सामान बनाएर आम्दानी गर्न सकिने उपाय धेरै छन् । ठूला मेसिनको प्रयोग नगरी हातबाट बुनिने सामानहरुलाई हस्तकलाका सामान भनिन्छ । नेपालमा हस्तकलाका ४० भन्दा बढी विधाहरु प्रचलनमा रहेका नेपाल हस्तकला महासंघले जनाएको छ । यस्ता सामान बर्षमा ४ अर्ब रुपैयाँको निर्यात र स्वदेशमै १२ अर्ब रुपैयाको बिक्री हुने गरेको नेपाल हस्तकला महासंघका अध्यक्ष हेमरत्न शाक्य बताउनुहुन्छ । नेपालीलाई भन्दा विदेशीलाई विदेशमा अल्लोको महत्व र पहिरनप्रति निकै आकर्षण बढ्दै गएको छ । अल्लोको मात्रै तीन करोड ६० लाख मूल्य बराबरको सामान विदेश निर्यात गरिएको छ । उहाँले हस्तकला नेपालको ठूलो लगानीको क्षेत्र हुन थालेको जनाउँदै ५० अर्बभन्दा माथि नै यो क्षेत्रमा लगानी भएको जानकारी दिनुभयो । अन्य सबै सामान विदेशबाट आयात गर्ने भए पनि हस्तकला सामग्री भने निर्यात भइरहेकाले देशको इज्जत बचाउन पनि यसले काम गरेको उहाँको भनाइ छ ।
यसबाट देशभरि ११ लाखले रोजगारी पाइरहेका छन् । राप्तीका पहाडी जिल्लाबाट अल्लो र हेम्प धागो राजधानी लगेर बिक्री गर्ने बन्दना ह्याण्डी क्राफ्टका सञ्चालक राम नेपाल भन्नुहुन्छ– “यो ब्यवसाय गाउँघरको तल्लो लेबलसम्म सिधै जोडिएको हुन्छ । यसले विदेशी मुद्रा भित्र्याउन सहयोग गरेको छ । मलाई लाग्छ– यसले गाउँका महिलाहरुको जीवन बदिलरहेको छ ।” बैशाख ४ देखि ८ सम्म राजधानीमा भएको हस्तकला व्यापार मेलामा १० करोड रुपैयाँको कारोबार भएको थियो । सो मेलामा सरकारका मुख्य सचिव लीलामणि पौडेलले मेलाबाट मुलुककै अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताउनुभएको थियो भने विभिन्न देशका राजदूतले समेत बजार प्रवद्र्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

अल्लोको माग पनि बढ्दै
घरेलु तथा साना उद्योग विभाग त्रिपुरेश्वरका अनुसार अल्लोको रेशाबाट धागो बनाउने र सोबाट बनेको बिभिन्न किसिमका कपडाको हाल निकै माग
बढेको छ । अल्लोको कपडा सूती जस्तै तथा प्राकृतिक रेशाबाट बन्ने
भएकोले यसप्रति जनमानसको आकर्षण छ । अल्लो गाउँघरमा पाइने र स्थानीयस्तरमा यसबाट रेशा निकाली धागो बनाउन सकिने भएकोले सो कार्य बढेको विभागको निष्कर्ष छ । “अल्लोबाट बन्ने कपडाको स्थानीयको साथै बैदेशिक माग पनि उच्च छ ।
अल्लोको कपडा बुन्नको लागि कुनै विशेष प्रकारको प्रविधिको आवश्यकता पर्दैन । साधारण हाते तानद्वारा गाउँ र पहाडमा पनि बिनाविद्युत शक्ति चलाउन सकिने यो उद्योग कम खर्चिलो छ”– विभागले भनेको छ– “खासगरी अल्लोको कपडा बुनाइ उद्योगबाट कपडा आवश्यकताको पूर्ति हुनाको साथै ग्रामीण क्षेत्रमा रोजगारीको अवसर पनि बढ्न जाने भएकोले ग्रामीण क्षेत्रमा सञ्चालन गर्ने संभाव्यतालाई दृष्टिगत गरी कार्यक्रम समेत बनाइएको छ ।” 

उद्यमीसँगको कुराकानी
आम्दानीले आँट बढाउँछ–प्रेमकुमारी पुन मगर,सञ्चालक, पिएनएस अल्लो धागो तथा तयारी पोशाक उद्योग, दाङ

यो पेशा कहिलेदेखि शुरु गर्नुभयो ?
मैले दश बर्षदेखि यो पेशा गरिरहेकी छु ।

अल्लोबाट धागो कसरी तयार गरिन्छ ?
हामी सुदूरपश्चिमका दार्चुला, बझाङ, डोटी, डढेल्धुरा, मध्यपश्चिमका
दैलेख, सुर्खेतलगायतका जिल्लाबाट अल्लोको लोक्ता ल्याउँछौं । अल्लो दाङ ल्याएर पकाउने, धुने, पिट्ने, फेरि धुने, कमेरो (सेता माटो) लगाउने, फेरि धुने, सुकाउने, पिट्ने गरेपछि बल्ल धागो बनाउन लायक हुन्छ र महिलालाई दिन्छौं । महिलाहरुले धागो कातेर फेरि उद्योगमा ल्याएर बिक्री गर्छन् । हामीले महिलाको नाम टिपेर कति लोक्ता लगे भन्ने विवरण राख्छौं तर पैसा लिंदैनौं, बरु धागो कातेर ल्याएपछि उनीहरुले हामीलाई बिक्री गर्छन् ।

कति जति महिला यसमा छन् र उनीहरुले कतिजति कमाउँछन् ?
सरदर पन्ध्र सय जति महिलाहरुले हामीबाट लोक्ता लगेर धागो कात्ने गर्दछन् र उनीहरुले लोक्ता निःशुल्क पाउने भएकाले त्यसको मूल्यभन्दा पनि श्रमको मूल्य हामीबाट लैजान्छन् । जति गरे उति आम्दानी हुने पेशा हो यो, सरदर एकजना महिलाले मासिक तीन हजार जति कमाउँछन् ।

अनि धागो कहाँ पठाउनुहुन्छ ?
यहीं पनि सामान बनाउँछौं तर त्यति गुणस्तरीय नहुने भएकाले काठमाडौंका गार्मेन्टमा पठाउँछौं ।

यसको बजार कत्तिको छ ?
राम्रै बजार पाएको छ । गत बैशाख ४ देखि ८ गतेसम्म राजधानीमा
लागेको मेलामा मात्रै मैले ५ लाख १४ हजारको उत्पादन बिक्री गरेको थिएँ, यसबाटै थाहा हुन्छ यसको बजारको अवस्था ।

अल्लो कपडाको बजार कस्तो रहेछ ? अब भावी योजना के बनाउनुभएको छ ?
दाङमै राम्रो गार्मेन्ट राखेर काम गर्न सके त निकै राम्रो हुने थियो तर अहिले जे जे उत्पादन हुन्छन्, त्यसलाई बिक्री गर्ने शोरुम खोल्ने तयारीमा छौं । अब चाँडै शोरुमबाट तयारी पोशाक बिक्री गरिने छ ।

यसबाट महिलाहरुलाई के फाइदा भएको छ ?
धेरै फाइदा भएको छ । आम्दानीले नै मानिसलाई आँट दिने हो । तपाइलाई थाहै छ, समाजमा महिलाहरु हेपिनुको मुख्य कारण उनीहरुसँग आर्थिक स्रोत नहुनु हो । उनीहरुले आफै आम्दानी गर्न थालेपछि पुरुषले हेप्ने समस्या पनि रहँदैन । त्यसबाहेक उद्योगसँग जोडिएका दिदीबहिनीहरुले आफूजस्ता धेरै महिलासँग चिनजान गर्नुभएको छ । उद्योगमै काम गर्ने महिलाहरुले पनि आपसमा सुखदुःखका कुरा गर्नुहुन्छ, यसले केही साझा समस्या पर्दा मिलेर समाधान गर्ने आँट पलाउँछ ।
नेपाली बजारमा अल्लोका कपडा मिटरको दुई सयदेखि सात सय रुपैयाँसम्ममा बिक्री हुन्छ । अल्लोबाट उत्पादित चार हजारदेखि १५ हजार रुपैयाँसम्मका कोट उपलब्ध छन् । ५० रुपैयाँदेखि माथिका अल्लोबाट उत्पादित विभिन्न सामग्री उपलब्ध छन् ।.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np