Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

महिला मुक्ति आन्दोलन र चुनौतिहरु

         ||   255 Views   ||   Published Date : 24th August 2014 |

महिला मुक्ति आन्दोलन र चुनौतिहरु

pramod
प्रमोद धिताल
राजनीतिक रुपमा नेपालमा सामन्तवादी राजसंस्थाको समाप्तिपश्चात तात्विक रुपमा नेपाली महिला आन्दोलनले प्राप्त गरेका उपलब्धिहरु के के हुन् ? यसको विस्तृत फेहरिस्त अहिले पनि फेला पर्न गाह्रो छ । मूल राजनीतिक आन्दोलन त्यसमा पनि आमूल रुपान्तरणकारी शक्तिहरुको अवस्था नै कुहिराको काग झैं अकर्मण्य बनिरहको अवस्थामा यसको जवाफ पनि उत्साहप्रद नहुनुलाई स्वाभाविक रुपमा लिनुभन्दा हाम्रो अगाडि अर्को विकल्प छैन । तर पनि महिला आन्दोलन निरपेक्ष राजनीतिक आन्दोलन मात्र नभएकोले यसका अभियन्ताहरुले स्वतन्त्र चिन्तन गर्न जति कन्जुस्याई गर्छन् यो आन्दोलन त्यति नै पराधिन बन्ने खतरा छ । नीति निर्माणका तहहरुमा महिलाहरुको सहभागितामा वृद्धि हुनु, त्यसको आवाज मुखर बन्नु, महिलाहरुमा तुलनात्मक रुपमा अधिकारप्रतिको सचेतनतामा वृद्धि भएर जानु, आर्थिक आत्मनिर्भरता तथा शिक्षा प्राप्तितर्फ अग्रसरतामा केही हदसम्म वृद्धि हुनुजस्ता कुराहरुलाई लिन सकिन्छ । अन्य अवस्थाहरुलाई हेर्ने हो भने तीतोसत्य मात्र हाम्रोसामु देखा पर्दछ । अझ महिलाहरुको अपरिवर्तित अवस्था समाजको जति भुँइतहसम्म पुग्यो, त्यो विकराल अवस्था देखिन्छ । राजनीतिक तथा प्रशासनिक निकाय तथा नीति निर्माणका तहहरुमा पनि जुन वर्गका महिलाहरुको प्रतिनिधित्व हुन सक्नुपथ्र्यो त्यो हुनसकेको देखिन्न बरु नगण्य उपस्थिति नै रहेको देखिन्छ । यसले के देखाउँछ भने नेपाली समाजको आधारभूत संरचनामा अझै पनि पर्याप्त परिवर्तनको आवश्यकता छ ।
नेपाली बहुसंख्यक शोषित, उत्पीडित महिलाहरुको जीवनमा कुनै आधारभूत परिवर्तन आएको छैन । शिक्षामा आएको जागरण र त्यसले वृद्धि गरेका आर्थिक आत्मनिर्भरताको कारणले उनीहरुको जीवनलाई एकहदसम्म सहज बनाए पनि नेपालको पिछडिएका ग्रामीण मात्र होइन शहरी भेगका महिलाहरुको अवस्था अहिले पनि रुद्रराज पाण्डे लिखित रुपमति उपन्यासकी पात्र रुपमतिको सहनशीलताको आदर्शभित्र कैद भएको अवस्था छ । जसले जीवनको एकमात्र कर्तव्य भनेको घरपरिवारका मान्यजन श्रीमानहरुलाई खुशी बनाएर उनीहरुको कृपा प्राप्त गर्नु रहेको छ । श्रम जति महिलाहरुको काँधमा अधिकार जति पुरुषहरुको पोल्टामा छ । यहाँसम्म कि शिक्षित तथा जागिरे महिलाहरुले आर्जन
गरेको आफ्नै आम्दानीमाथि पनि उसको हक लाग्दैन । अंशमाथि अधिकारको प्रश्न कानूनमार्फत स्वीकृत भएता पनि वास्तविक जीवन व्यवहारमा लागु भएको
देखिन्न । महिलाहरुको आफ्नै शरीर (गर्भ)माथि पनि अधिकार छैन । कति सन्तान जन्माउने ? छोरा छोरी के जन्माउने ? कतिखेर जन्माउने ? भन्ने कुराको फैसला महिला जसलाई त्यसको सम्पूर्ण भार बहन गर्नुपर्छ लाई गर्ने अधिकार छैन । सासू ससुराको निम्ति, श्रीमानको निम्ति अन्य मान्यजनहरुको निम्ति आफ्नो शरीर र जीवनलाई नै जोखिममा पारेर बच्चा जन्माइदिनुपर्ने साधन बन्नुपर्ने दुर्नियतिको शिकार छन् उनीहरु । परम्पराको नाममा सामान्यजस्तो लाग्ने यो पक्ष महिला हक अधिकारको निम्ति अत्यन्त लज्जास्पद विषय हो । घुमाउरो तरिकाले अहिले पनि अधिकांश नेपाली महिलाहरु बँधुवा दासको जिन्दगी बाँचिरहेका छन् । राजनीतिक रुपमा सामन्तवादको अन्त्य भए पनि आर्थिक तथा साँस्कृतिक रुपमा सामन्तवादका तमाम अवशेषहरु यथावत रहेका अवस्थामा त्यसको जबर्जस्त उत्पीडनकारी प्रभाव पनि महिलाहरुमाथि नै छ ।
महिला मुक्ति आन्दोलनको वाधकको रुपमा यसरी हेर्दा साँस्कृतिक वर्चश्वको चुनौति र समस्या प्रवल देखिन्छ । यस क्षेत्रमा रुपान्तरणको गति मन्द हुनुका पछाडि स्वयं आमूल रुपान्तरणकारी आन्दोलन नै जिम्मेवार छ । किनकि त्यो आन्दोलनका अगुवाहरुको प्राथमिकताभित्र नेपाली समाजको सामाजिक, साँस्कृति रुपान्तरणको प्रक्रियालाई तीव्रता दिने कुरा कहिल्यै परेन, उनीहरुको ध्यान केबल राजनीति र सत्तावरिवरिका मुद्दाहरुमा मात्र केन्द्रीत भइरह्यो । जसले गर्दा सुक्ष्मरुपमा विद्यमान सामाजिक, साँस्कृतिक मुद्दाहरु ज्यूँका त्यूँ थाँती रहे । जुन मुद्दाहरु लामो कालखण्डसम्म प्राथमिकताको विषयभित्र परिराख्नुपर्ने हो, तिनै मुद्दाहरु तपसीलमा पर्नुले उनीहरुको अदूरदर्शी तथा नितान्त राजनीतिक सत्तामुखी मोहलाई उदांगो बनाउने मात्र काम गरेको छ । त्यसरी नै आधुनिकता, स्त्री स्वतन्त्रताको नाउँमा विकृत पूँजीवादले आफ्नो भूमण्डलीकृत साँस्कृतिक आक्रमणलाई तीव्र बनाउँदै महिलाहरुलाई उपभोक्तावादको शिकार बनाएको छ । अर्थात उनीहरुको भौतिक, मानसिक शोषण मात्र गरिरहेको छैन कि उपभोक्तावादी मालमा परिणत गरिदिएको छ । यो विषयमा रुपान्तरणकारी शक्ति र व्यक्तिहरु गम्भीररुपमा घोत्लिनु पर्ने अवस्था छ । आजको वित्तीय साम्राज्यवाद जो निजीकरण, उदारीकरण र भुमण्डलीकरणको माध्यमबाट संसारमा आफ्ना खुनी पञ्जाहरु फैलाइरहको छ । त्यसको मुख्य उद्देश्य भनेको स्वत्वको अपहरण र आफ्नो साँस्कृति वर्चश्वको स्थापना गर्नु नै हो । त्यसको आर्थिक आदर्श भनेको नाफा हो भने साँस्कृतिक आदर्श भनेको उपभोक्तावादी संस्कृति हो । उपभोक्तावादलाई संस्कृतिक चिन्तक शम्भुनाथले मुखौटाहरुको संसार भनेका छन् । यसरी कथित आधुनिकता र स्वतन्त्रताको मुखौटाहरु धारण गरेर सारमा महिलाहरुलाई सौन्दर्य प्रशाधन, आभूषण र फेशनको दास बनाउने काम गरेको छ । यसले महिलाहरुको आत्सम्मान, विवेक र स्वको अपहरण गरी उनीहरुको उपभोगको साधन भन्दा अरु केही बनाएको छैन । यसभित्र पूँजीवादीहरुको नाफाको कारोबार सुरक्षित रहेको हुन्छ । पूँजीवादी साँस्कृतिक उद्योगअन्तर्गत विद्युतीय सञ्चारमाध्यम तथा सिनेमाहरुको माध्यमबाट गरिने स्त्री देहको अश्लील विज्ञापन तथा ती पात्रहरुको ग्ल्यामराइजेशन, युवा पुस्ताहरुको निम्ति तिनीहरुलाई नै रोल मोडलको रुपमा प्रस्तुत गरिने जस्ता कामहरुको भण्डाफोर गरिनु नितान्त आवश्यक भएको छ ।
ललाई, फकाई, बाध्यतामा पारेर बेचिएर देहव्यापारमा बाध्यतावश संलग्न महिलाहरुलाई अनैतिक महिलाको दर्जामा राख्ने गरिएको पाइन्छ । त्यसको विपरीत पैसाको निम्ति नाफामा आधारित पूँजीवादी साँस्कृतिक उद्योगहरुमा निर्वाधरुपमा अंग प्रदर्शनहरुमा सरिक हुने महिलाहरुलाई समाजले अनैतिक दर्जामा राख्ने गर्दैन । तर कुनै पनि घटना या वस्तु आफैमा अश्लील या अनैतिक हुँदैन, बरु त्यसमा निहित आशयभित्र अनैतिकता वा अश्लीलता लुकेको हुन्छ । तसर्थ बाध्यताले देहव्यापार गर्नेहरु नभएर स्वेच्छाले शरीरलाई नाफाको साधनको रुपमा प्रयोग गर्न तयार हुनेहरु नै अनैतिक, अश्लील र भ्रष्ट हुन् । जसले सुन्दरताको कुरुप भ्रष्टीकरणमार्फत दर्शकहरुलाई भ्रमित बनाउने काम गर्दै आएका छन् । तसर्थ ती पूँजीवादी साँस्कृतिक उद्योगका प्रतिनिधिहरु युवायुवतीहरुका रोलमोडेल हुने कुराले वास्तविक अर्थमा उन्नत संस्कृतियुक्त समाज कसरी सम्भव छ भन्ने कुरामा व्यापक बहस चलाउनुपर्ने आवश्यकता छ ।
साम्राज्यवादी आर्थिक, साँस्कृतिक परियोजनाको चौतर्फी आक्रमणले गर्दा यस्ता विषयमा सोंच्नुपर्ने दिमागहरुलाई पनि धिमा बनाएको अवस्थामा अत्यन्त प्रखर तथा सूक्ष्म सांस्कृतिक वैचारिक प्रतिरोधलाई अगाडि बढाउनुपर्ने आवश्यकता महशुस भइरहेको छ । अन्यथा महिला मुक्ति आन्दोलन स्वयं पनि हात्तीको देखाउने दाँतमा सीमित हुने खतरा बढी हुन्छ । पेटको भोक मानिसको लागि जति महत्वको छ, आत्मसम्मानको भोक शायद त्योभन्दा अझ महत्वको हुन्छ । पेटको भोको मान्छे मरे पनि एकपटक मर्ने हो तर आत्मसम्मान अपहरण गरिएको मानिस जीवनमा अनगिन्ती पटक मरिरहेको हुन्छ । जसलाई अर्को शब्दमा साँस्कृतिक मृत्यु पनि भन्न सकिन्छ । मानवीय जीवनको सार्थकता भनेको आत्मसम्मानको प्रश्नसँग जोडिएको हुन्छ । जसरी सामन्ती राज्यव्यवस्था र त्यसका अवयवहरुले महिलाहरुको आत्मसम्मानलाई कैदी बनाएर राखेका थिए, त्यसरी नै अहिलेको पूँजीवादले उनीहरुको आत्मसम्मानलाई अपहरण गरेर उनीहरुलाई जिउँदो लाशको रुपमा उपभोग गरिरहेको छ । महिलाहरुको दीर्घकालीन गौरवपूर्ण बाटो भनेको यही आत्मसम्मानको स्थापनाको बाटो हुनुपर्छ ।
दुनियाका कुनै पनि धर्महरुको उद्देश्य महिलाहरुलाई स्वतन्त्र बनाउनु रहेको छैन । बरु परनिर्भर, अबला र दासीको रुपमा महिलाहरुलाई धर्महरुमा चित्रित गरिँदै आइएको छ । धर्मको महत्वपूर्ण योगदान नै वर्ग समाजलाई मजबुत बनाउने रहँदै आएको छ । तसर्थ वास्तविक मुक्तिका अनुयायीहरु यसको भ्रमबाट मुक्त हुनैपर्छ । भाग्यवाद, तर्कविहीनता, अलौकिताको पक्षपोषणजस्ता धार्मिक आदर्शहरु महिलाहरुको निम्ति सदैव अभिशाप बन्दै आएका छ । कतिपयले धर्मलाई विशुद्ध नैतिकता तथा सदाचारको अर्थमा पनि लिने र धार्मिक आदर्शबाट मुक्त हुनु भनेको नैतिकता छोड्नु हो भनेर पनि अथ्र्याउने गरेको पाइन्छ । तर वास्तविकता त्यसो होइन । नैतिकता पक्षधरतासँग जोडिन्छ । नैतिकताका मापदण्ड र स्वार्थ परिमितहरु हुन्छन् । शोषण गर्नेहरुले जसरी नैतिकताको आफ्नो मापदण्ड निर्धारण गरेका हुन्छन्, त्यसरी नै शोषितहरुले पनि त्यसबाट मुक्तिको लागि आफ्नो मापदण्ड निर्धारण गर्नुपर्छ । धार्मिक तथा सामन्तवादी नैतिकता, पूँजीवादी नैतिकता, समाजवादी नैतिकता तथा आचरणहरुका आआफ्नै मापदण्डहरु हुने गर्छन् । त्यसैले धार्मिक भ्रमजालबाट मुक्त हुनु नैतिकता छोड्नु हो भन्ने मान्यताबाट मुक्त भएर महिलाहरुले आफ्नो मुक्तिमार्गी नैतिकताको निर्माण गर्नुपर्छ । धार्मिक नैतिकताले त महिलाहरुलाई जन्मपूर्वदेखि र मरणोपरान्त पनि पुरुषको अधिनस्थ हुनुपर्छ भन्ने मान्यतालाई स्थापित गर्यो । महिलाहरु मानवमध्येका दोस्रो दर्जाका मानिस हुन् भन्ने मान्यताको स्थापनादेखि लिएर जिउँदै जलाएर सती पठायो । पछिल्लो अवस्थासम्म आइपुग्दा धर्म पूँजीवाद एकठाउँमा उभिएर धार्मिक र उपभोक्तावादी शोषणलाई अगाडि बढाइरहका छन् । पूँजीवादी बजारले धर्म, धार्मिक संस्थाहरु र संस्कारहरुको बजारीकरण गर्दै गएको छ । भाग्य र उपभोक्तावादी संस्कृतिको व्यापार एकसाथ गरिरहेको छ ।

कार्यदिशाको प्रश्न
महिला मुक्ति आन्दोलनलाई कुन कार्यदिशाको आधारमा अगाडि बढाउने ? यो सरोकारवालाहरुको निम्ति पहिलो अहं प्रश्न हो । हरेक आन्दोलन र संघर्ष समस्याहरुसँग जोडिएको हुन्छन् । त्यसको निम्ति सर्वप्रथम समस्याहरुको पहिचान गरी त्यसको आधारमा अगाडि बढ्ने दिशा ठोस गरिनुपर्छ । खाली महिलाहरुमाथि शोषण, उत्पीडन भयो, यसको अन्त्य हुनुपर्छ भनेर मात्र हुने होइन । पहिलो प्रश्न भनेको दृष्टिकोणको प्रश्न नै हो । महिलामाथि वर्षौंदेखि हुँदै आएको लैंगिक, साँस्कृतिक तथा आर्थिक विभेद आफसे आफ अथवा कुनै अलौकिक शक्तिबाट सृजित समस्या हो या समाज विकासको क्रममा समाजभित्रैबाट सृजित समस्या हो ? यसको उत्तर खोज्नुपर्छ । यो समाजको जन्मसँगै आफै वा कुनै अलौकिक शक्तिले सिर्जना गरिदिएको समस्या हो भन्ने हो भने न कहिल्यै समाधानसम्म पुग्ने कुरा हुन्छ न आफूहरुमाथि भइरहेका शोषण, उत्पीडन र विभेदहरुको बारेमा चिन्ता गर्नुको नै कुनै अर्थ हुन्छ । यदि यो मानव तथा समाजनिर्मित समस्या नै हो भन्ने हो भने सचेत प्रयत्नबाट यो समस्याको विरुद्ध संघर्ष गर्ने कुरा नै हुन्छ । तसर्थ अध्यात्मवादी दृष्टिकोणको आधारमा वास्तविक महिला मुक्ति प्राप्त हुन असम्भव छ ।
भौतिकवादी दृष्टिकोण मात्र यस्तो हतियार हो जसले वर्गसमाजले महिलाहरुमाथि गरेको शोषणलाई ठीक ढंगले बुझ्न तथा त्यसको विरुद्ध जुध्न सहयोग गर्छ । अन्यथा मुक्तिका सपनाहरु सपनामै सीमित रहने खतरा हुन्छ । भौतिकवादी दृष्टिकोणको आधारमा महिला आन्दोलनको कार्यदिशालाई निम्न अनुसार ठोस गर्नुपर्ने हुन्छ ।
१. महिला आन्दोलनलाई संगठित गर्दै जाने क्रममा, सुदूर भविष्यसँग जोडिएका मुद्दाहरुसँग पनि जोड्दै तत्कालीन जल्दाबल्दा समस्याहरुको पहिचान गरी तिनीहरुको विरुद्ध
आन्दोलन संगठित गर्नुपर्ने हुन्छ । उनीहरुमाथि भइरहेका घरेलु हिंसा, दाइजो, तिलक, देउकी, झूमा, कुमारी, छाउपडी, बोक्सी, चेलीबेटी बेचविखन, घुम्टो प्रथा, बुर्काप्रथा लगायत अन्य अनगिन्ती प्रथाहरु जुन महिलाहरुको निम्ति अहिले पनि निधारको कालो कलंक साबित भइरहेका छन् । तिनीहरुको विरुद्ध सामाजिक साँस्कृतिक आन्दोलनहरुमार्फत जागरण र रुपान्तरण ल्याउनुपर्ने आवश्यकता छ । तर शहर केन्द्रीत एकाध बौद्धिक गोष्ठी र भाषण एवं लेखनका विषयभन्दा यी अभियानहरुमाथि उठ्न नसक्नुले यी पक्षहरुमा जति तीव्रतामा परिवर्तन आउनु पर्ने हो आउन सकेको छैन ।
२. महिलाहरु पनि औपनिवेशिक देशका उत्पीडित नागरिकहरु हुनुको नाताले राष्ट्रियता, जनअधिकार र जनजीविकाको पक्षमा उनीहरु निरन्तर सहभागी हुनुपर्ने हुन्छ । हरेक सचेत नागरिकहरुको तहमा उनीहरुको सहभागितालाई अनिवार्य बनाउनुपर्छ ।
३. अधिकार र मुक्तिको प्रश्न अन्ततः राज्यसत्तासँग अनिवार्यरुपमा जोडिने भएकोले शोषणकारी राज्यसत्ताअन्तर्गत महिला हक, अधिकारहरुको सुनिश्चितता हुन सक्दैन । अतः उनीहरुको संघर्ष पनि त्यस राज्यसत्ताका शोषणकारी संवैधानिक, आर्थिक तथा राजनीतिकि परिपाटीहरुसँग हुनु अनिवार्य छ । त्यसको उनीहरुले आफ्नो आन्दोलनलाई राज्यसत्ता रुपान्तरणकारी आन्दोलनसँग पनि एकाकार गर्नैपर्ने हुुन्छ ।
४. साम्राज्यवादी शोषण, जसले अझ विशेषगरी तेस्रो विश्वका गरीब मुलुकहरुलाई आफ्ना शोषणकारी नीतिहरु थोपर्दै टाट पल्टाउने काम मात्र गरिरहेको छैन, बरु साँस्कृतिक आक्रमण पनि त्यत्तिकै तीव्र बनाउँदै लगेको छ । त्यसको महत्वपूर्ण शिकार महिलाहरु नै भएका छन् । उपभोक्ताको दास तथा बजारको बिक्रीयोग्य मालको रुपमा उनीहरु प्रयोग गरिएका छन् । यसको वास्तविक विश्लेषण र चिरफार गर्दै उपभोक्तावादी संस्कृतिको विरुद्धमा महिला आन्दोलनले सार्थक र आक्रामक हस्तक्षेपलाई अगाडि बढाउनुपर्छ ।

निष्कर्ष
उपरोक्त छोटो विश्लेषणको आधारमा हामी के निष्कर्षमा पुग्न सक्छौं भने नेपाली महिला आन्दोलनका सामु अहिले पनि धेरै चुनौतिहरु विद्यमान छन् । दुःखको कुरा यतिखेर नेपाली राजनीतिभित्रको सम्झौतावादी, आत्मसमर्पणकारी रवैया र साँस्कृतिक आक्रमण सँगसँगै बढिरहेको छ । प्रतिरोधी आन्दोलनहरु रक्षात्मक बन्दैछन् । जसमा महिला आन्दोलन पनि अपवाद हुनसक्दैन, यो मूल राजनीतिक आन्दोलनकै प्रभाव हो । तर मूल राजनीतिक आन्दोलनलाई पनि आलोचनात्मक ढंगले मूल्यांकन गरेर आफ्नो दिशा स्पष्ट गरेमा मात्र महिला आन्दोलनलाई विसर्जनबाट जोगाउन सकिन्छ । यो अवस्थामा विभिन्न तहबाट विभिन्न बहानामा महिलाहरुलाई दास बनाउने षडयन्त्रहरुका विरुद्ध वैचारिक आन्दोलनको शुरुवात गरिनुपर्छ । आदर्शवादी, संसदवादी, एनजिओवादी भ्रम र गोलचक्करबाट मुक्त हुँदै सशक्त प्रतिरोधी महिला आन्दोलनको उठान गरिनुपर्छ । साझा सवालहरुमा एकजुट भएर आन्दोलनहरु सञ्चालन गर्नलाई कुनै राजनीतिक कित्ताबन्दी बाधक बन्नु हँुदैन । महिला आन्दोलनको उपादेयता त्यतिखेरसम्म अन्त्य हुँदैन जबसम्म वास्तविक महिला मुिक्त र स्वतन्त्रताको आवाद हुँदैन । यो कुरामा देशका इमान्दार महिला आन्दोनकर्मीहरु स्पष्ट हुनैपर्छ ।
महिला मुक्ति र स्वतन्त्रता आन्दोलनको विरासत भनेको संघर्ष र प्रतिरोधको विरासत हो । मोर्चाहरु तथा संघर्षका रुपहरु फेरिन सक्छन्, अधिकारको निम्ति कहिलेकाँही कानूनी सम्झौता र सहकार्यका बाटाहरु सहज हुनसक्छन् त्यो परिस्थिति सापेक्ष कुरा हो तर संघर्ष निरपेक्ष कुरा हो । राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक संघर्षहरुलाई अगाडि बढाउँदै ती संघर्षहरुको पनि केन्द्रभागमा आत्मसंघर्षलाई राखेर अगाडि बढ्नुको विकल्प छैन । विश्वको इतिहासमै हेर्ने हो भने पनि पेरिस कम्युनदेखि लिएर नेपालका पछिल्ला राजनीतिक रुपान्तरणकारी आन्दोलनहरुमा महिलाहरुको संघर्षको गाथा अतुलनीय छ ।
त्यसैले उनीहरुलाई अधिकारसम्पन्न पनि बनाएको छ । सबै खालका संघर्षहरुमा उनीहरुले विजय हासिल गरिसक्दा पनि साँस्कृतिक शोषण र विभेदको विरुद्धमा एउटा लामो र सुक्ष्म संघर्ष उनीहरुले लडिराख्नुपर्नेछ । त्यसैले पनि यो पक्षलाई नजरअन्दाज गर्नु र केवल राजनीतिक संघर्ष मात्र सबथोक हो भन्नु पनि महिला आन्दोलनको लागि एउटा भूल हुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np