Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

संविधानसभाको काम एकदमै रफ्तारमा भइरहेको छ

         ||   58 Views   ||   Published Date : 24th August 2014 |

संविधानसभाको काम एकदमै रफ्तारमा भइरहेको छ

SAM_9441
ओनसरी घर्ती, उपसभामुख, संविधानसभा
रोल्पा जंकोट– १ माडीचौरमा जन्मनुुभएकी ओनसरी घर्ती बिगत लामो समयदेखि राजनीतिक आन्दोलनमा सक्रिय व्यक्तित्व हुनुहुन्छ । २०४६ साल अघिदेखि नै राजनीतिक क्षेत्रमा क्रियाशील घर्ती जनयुद्ध हुँदै दोस्रो संविधानसभाबाट निर्वाचित भएपछि संविधानसभामा उपसभामुखको जिम्मेवारी सम्हाल्दै आउनुुभएको छ । जनयुद्धको थालनी रोल्पा होलेरी आक्रमणमा सहभागी दुुई महिलामध्येकी एक घर्तीसँग नयाँ संविधान, संविधानमा महिला अधिकारका विषय र महिला आन्दोलनका प्राथमिकता लगायतका विषयमा समरेखा म्यागजिनको यो अंकका लागि रोल्पाबाट मनिषा श्रेष्ठले कुराकानी गर्नुभएको छ । सम्पादक

१. आगामी माघको पहिलो हप्तासम्म संविधानको ड्राफ्ट आइसक्छ भन्ने दलीय प्रतिवद्धता छ । त्यस्तो संभावना देख्नुु हुन्छ ?
सम्भावना पूरै छ, किनभने संविधानसभाको काम एकदमै रफ्तारमा भइरहेको छ । अहिलेसम्म अघिल्लो संविधानसभाका पाँचवटा बिषयगत समितिको छलफल लगभग टुंगिसकेको छ । हाउसको छलफलको टिप्पणीसहित मस्यौदा समितिमा गइरहेको छ । सहमति भएको बिषयमा मस्यौदा समितिले पनि काम गरिरहेको छ भने असहमतिका बिषयमा बिशेष सम्वाद समितिले पनि आफ्नो काम जारी राखेको छ । निक्र्यौैल समितिले निक्र्यौल गरेर अघिल्लो संबिधानसभाले ड्राफ्ट गरेका बिषयवस्तुलाई तयार गरिसकेको छ । अधिकांश टेबुल पनि गरिसकेको छ । अघिल्लो संविधानसभाबाट संविधान जारी नहुँदा दोस्रो संविधानसभा निर्वाचन भयो । यसपटक समयमै संविधान नल्याए आफ्नो भविष्य छैन भन्ने राजनीतिक दलहरुलाई राम्रोसँग थाहा छ । त्यसैले संभावना बलियो देख्छुु म ।
२. संविधानसभाले गरेका गतिविधिबारे बताइदिनुस् न । दोस्रो संविधानसभाले के कति प्रगति गरेको छ ?
अघि पनि मैले भने मस्यौदा गर्ने काम शुरु भएको छ । सम्वाद समितिले विवाद हल गर्नको लागि पनि छलफल गरिरहेको छ । त्यस्तै निक्र्यौल समितिले लगभग आफ्नो काम सकेको छ । अघिल्लो संविधानसभाले सहमति गरेका सम्पूर्ण विषयहरुको स्वामित्व ग्रहण गर्ने कुरा थियो । त्यसमा पनि दलहरुको सैद्धान्तिक सहमति भएको देखिन्छ । त्यसो गर्दा संविधानसभाभित्र मात्र रहेका नभएर बाहिर रहेका राजनैतिक दलहरुलाई समेत राखेर सम्वाद समितिमा एउटा संयन्त्र बनाउने जुन निर्णय भयो, यसले एकदमै
सकारात्मक अवस्था सिर्जना भएको छ ।
३. नयाँ संविधानमा महिला मुद्दा संस्थागत गर्न अघिल्लो संविधानसभामा निकै कसरत गर्नुभयो । नयाँ संविधान महिलामैत्री बन्छ त ? त्यसका आधार के देख्नुहुन्छ ?
अघिल्लो संविधानले पर्याप्त मात्रामा काम गरेका हुनाले अहिलेयसैलाई स्वामित्व ग्रहण गरेर जाँदा महिलाहरुको एजेन्डाहरु सम्बोधन हुन्छ नै । र, हामीले भन्ने गरेको महिलामैत्री संविधान सम्भव देखिन्छ । एजेण्डाको हिसाबले जसरी महिला सभासदहरु सक्रिय हुनुपथ्र्र्यो, त्यो विगतको तुलनामा अलि कम छ । राजनैतिक दलहरुले महिला अधिकार सम्बोधन गर्ने सवालमा अघिल्लो संविधानसभामा सहमति भएका विषयहरुमा कुनै विवाद गरेका छैनन् । महिला अधिकार विषय सबैले अनरसिप लिएका छन् । त्यसैले महिलामैत्री संविधान बन्छ भन्ने कुरामा म ढुक्क छु ।
. महिला अधिकारका लागि सामाजिक क्षेत्रबाट पनि धेरै आन्दोलन भइरहेका छन् । अहिले बलात्कारसम्बन्धी कानुन ल्याउनका लागि महिलाहरु सडकमै छन् । काठमाडौको भद्रकालीमा निरन्तर चलेको आन्दोलन संविधानसभा अगाडि पुुगेको छ । त्यो आन्दोलनमा तपाईंहरु कहाँ हुनुहुन्छ ?
यो एउटा बिडम्बना नि, नेपालको सन्दर्भमा भइरहेका यस्ता आन्दोलनहरुमा जुन खालको ऐक्यवद्धता र सहभागिता हुनुपर्ने हो त्यो देखिरहेको अवस्था छैन । सामाजिक क्षेत्रबाट उठाइएको यो आन्दोलनले राजनैतिक क्षेत्रबाट योगदान पु¥याएका महिलाहरुलाई त्यति समेटेजस्तो लागेको छैन । यो गैरसरकारी क्षेत्रले महिला आन्दोलनका नाममा भित्रयाएको पैसाले पनि हाम्रो आन्दोलन कतै व्यक्ति बिशेषको पकडमा सीमित भएको छ । एजेण्डाको हिसाबले यो राम्रो छ । किनभने जुन महिलामाथिको हिंसा भइराखेको छ, सबैभन्दा डरलाग्दो बलात्कार नै हो । यो मुद्दालाई लिएर संसदमा प्रस्ताव ल्याउने, त्यसले छलफल प्राप्त गर्ने, संसदमा रहनुभएका महिलाहरुले यसलाई सपोर्ट गर्ने, सडकमा रहनुभएका महिलाहरुले दबाबमूलक आवाज उठाउने जस्ता काम एकीकृत रुपमा गर्ने हो भने यस्तो आन्दोलनले सफलता हासिल गर्छ । सामाजिक क्षेत्र, राजनैतिक दलहरुको जनवर्गीय संगठन सबै एक भएर गर्नुपर्ने हो त्यो हुन सकिरहेको छैन । यस्तो संवेदनशील मुद्दामा विभाजित हुनु बिडम्बना नै हो । राजनीतिक क्षेत्रमा क्रियाशील महिला संघसंगठन र गैरसरकारी संस्थामार्फत आवाज उठाउने महिला अधिकारकर्मी दुबैले यो विभाजन मेटाउनुु पर्छ । यसलाई जोड्नको लागि महिला लिडरसिपको देशमा खाँचो देखिन्छ । तर जहाँसम्म उहाँहरुको एजेण्डाको कुरा छ त्यसमा हाम्रो समर्थन छ । उहाँहरुले लगातार कुरा उठाइरहनुभएको छ । त्यसलाई हामीले सदनमा कुरा उठाउने र अगाडि बढाउने काम भइराखेको छ ।
५. नेपाली महिला आन्दोलनका उपलब्धिलाई कसरी हेर्नुहुन्छ ? तपाईंको विचारमा अहिले महिला आन्दोलनका प्राथमिकता के के हुनुपर्छ ?
विगतको तुलनामा चेतनास्तरमा केही वृद्धि भए पनि आधारभूत परिवर्तन नभएको हुनाले महिला आन्दोलनका हिजोका एजेण्डाहरु यथावत छन् । जस्तै अंश र बंशको कुरा, समानुपातिक समावेशी प्रतिनिधित्वको कुरा, हरेक क्षेत्रमा महिला समानताको कुरा आज पनि प्राथमिकताका साथ उठाउनुुपर्ने मुद्दा हुन् । तर हामीले अहिले तत्काल देखिराखेका छौं कि महिला हिंसाविरुद्धको मुद्दा उत्तिकै प्राथमिकताका साथ उठाउनु पर्ने मुद्दा बनेको छ । दिनदिनैजसो महिला हिंसाको समाचार सार्वजनिक भइरहेका छन् । यी सवाल हाम्रा साझा सवाल हुन् । यसका अतिरिक्त महिलाले पाउनुपर्ने मानवअधिकार जुन छन्, त्यसमा हामीहरुले निरन्तर आवाज उठाइराखेका छौँ ।
. जनयुद्धका बेला महिलाहरुमा एउटाखालको चेतनाको लहर नै छायो, समग्रमा महिला आन्दोलनका उपलब्धिहरुलाई कसरी हेर्नुभएको छ ? उपलब्धि संरक्षण गर्ने कुरामा यहाँको के धारणा छ ?

जनयुद्धमा महिला समानताको कुरा जसरी जनसत्ताले ग¥यो, त्यो बराबर त अहिले कहीँ पनि भेटिँदैन । मेरो विचारमा त्यो समानता प्राप्तिको राज्यव्यवस्था भनेको समाजवाद मात्रै हो । समग्रमा महिला अधिकार प्राप्तिका लागि त सम्पूर्ण महिलाहरु समाजवादी क्रान्तिको लागि तयार हुनुपर्छ, तत्पर रहनुपर्छ र योगदानकोलागि अघि बढ्नुपर्छ भन्ने नै हो । जनयुद्धको पृष्ठभूमिले महिलाहरुलाई एउटा स्थितिमा पु¥यायो । अहिले महिलाहरुमा ठूलो जागरण आएको छ । जनयुद्धमा महिलाले पुु¥याएको योगदानकै प्रतिफल नेपाली सेनामा, सशस्त्र प्रहरीमा महिलाको प्रवेश शुरु भयो । सबै हिसाबले सबै ठाउँमा महिलाको प्रतिनिधित्व कायम गरिनुपर्छ, महिलाहरुको समानुपातिक सहभागिता हुनुपर्छ भन्ने करा स्थापित जनयुद्धले नै गरेको हो । हामी सबैको प्रयासले यसलाई बढाएर लैजानुुपर्छ ।

७. समानुपातिक समावेशी सहभागिताको मुद्दालाई लिएर लामो संघर्ष गर्नुभयो । कम्तीमा ३३ प्रतिशत सहभागिताको विषय स्थापित पनि भए । तर व्यवहारिक पक्ष हेर्दा खाडल उस्तै उस्तै छ । आफ्नै पार्टी महिलाविहीन स्थायी समिति भयो । यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?


देशको सन्दर्भलाई हेर्दा हाम्रो देशमा लामो समयदेखि पितृसत्तात्मक चिन्तनभित्र रहेको राज्य प्रणाली सञ्चालन भयो । त्यसको प्रभाव हाम्रो गाउँ समाजमा पर्याप्त मात्रामा छ । त्यसको प्रतिबिम्ब यहाँका राजनैतिक पार्टी र हाम्रो पार्टीभित्र पनि छ । अध्यक्ष प्रचण्डले चुनाव भइसकेपछि कहीँ न कहीँ हाम्रो पार्टीभित्र पहाडीय अहंकार, ब्राम्हणवादी चिन्तन र पितृसत्तात्मक चिन्तन रहेछ भन्नुुभएको थियो । चुनावमा जाँदा महिला, दलित र मधेशी आउनुपर्ने यो तीनवटा तप्का छुट्न पुुगे । यसका विरुद्ध हामीले संघर्ष गर्नुपर्छ भन्नुभएको थियो अध्यक्षले । यो सत्य नै हो । पार्टीभित्र भएको कुरालाई मैले छ भनेर डिफेन्स गर्ने पक्षमा छैन । यसमा मैले दुईवटा कुराहरु देख्छु । पहिलो त नेपालमा हरेक क्षेत्रमा प्रतिनिधित्व गराउनको लागि विशेष व्यवस्था हुनुपर्छ । विगतको निर्वाचन प्रणालीमा संविधानसभामा ३३ प्रतिशत आउनुको कारण माओवादी आन्दोलनको राप ताप थियो । जबर्जस्त रुपमा एउटा वातावरण थियो । त्यो वातावरण भनेको के हो भने प्रत्यक्षमा २४ जना महिलाहरुले जित्नुुभएको थियो । त्यसैले ३३ प्रतिशत हुन पुुगेको थियो । अहिले त प्रत्यक्षबाट १० जनामात्र महिला आउनुपर्ने स्थिति पैदा भयो । त्यसैले ३३ प्रतिशत राजनैतिक दलले असाध्यै प्रयास गर्दा पनि भएन होइन भने पचासै प्रतिशत दिएको तर त्यति दिँदा पनि त्यहाँ कभर हुन सकेन । त्यसैले म के कुरामा प्रष्ट छु भने निर्वाचन प्रणालीले महिलाहरु आउँदै आउँदैनन् । अहिले नेपालमा अलि पढेलेखेका बुद्धिजीवी महिलाहरुले हामी पुरुषसँग प्रतिस्पर्धा गर्न सकिहाल्छौँ, यो चाहिँ विशेष व्यवस्था, आरक्षणको कुरा नगर भनेर धाक लगाउँछन् । तर हाम्रो देशको वातावरण, वस्तुस्थिति अहिल्यै महिलाहरुले प्रतिष्पर्धा गर्नसक्ने अवस्था छैन । त्यसैले हामीले विशेष व्यवस्था गर्नैपर्छ भन्ने मेरो निष्कर्ष हो । दोस्रो कुरा समाजमा व्याप्त चिन्तन र प्रवृत्ति पार्टीभित्र पनि छ । पितृसत्तावाद हावी छ । जसरी जनयुद्धमा दुखकष्ट गरेका महिलाहरुलाई ल्याउनु पथ्र्यो त्यो नभएकै हो । तर महिला आफैले पनि चेतना राजनैतिक हिसाबले कति जागरुक छौँ भन्दा हामी आफै पनि उठ्न जरुरी छ । संघर्ष त गर्नुप¥यो नि । समस्याहरु आउँछन, आयो भन्दैमा थाक्ने, भाग्ने र डराइहाल्ने जुनप्रकारको समस्या छ यसले हामी महिलालाई नै घाटा पु¥याएको छ । हामी पनि गर्न सक्छौँ, प्रतिष्पर्धा गरेर अगाडि बढ्नुपर्छ भन्ने हिम्मत गर्नुपर्छ । मुख्य कुरा पितृसत्तावादको अन्त्य गर्नैपर्छ हामीले तर त्यसभित्र पनि महिलाहरु तयार हुनुपर्ने कुरामा जोड हुनुपर्छ भन्ने मेरो कुरा हो ।
. २६ जना मनोनयन गर्न बाँकी नै छ । सबै दलले महिलालाई नै सिफारिस ग¥यो भने ३३ जना पुग्ने पक्का नै हो । त्यसको आवाज पनि त महिलाहरुले उठाइरहेका छन् नि ? तपाईं संभावना देख्नुुहुन्छ ?
यो सम्भावना म देख्दैन । किन देख्दैन भने अहिले यो २६ जना मनोनयन गर्नको लागि अदालतले पनि बारबन्देज लगाइदिएको छ । अर्को कुरा राजनैतिक दलहरुलाई ठूलो दवाव छ । हामीले त ७५ अथवा शतप्रतिशत नै गर्नुस् भनेका छौँ तर आधाआधी हुनसक्छ । २६ जना सबै ल्याउँदा संविधानसभामा महिला सभासद ३३ प्रतिशत पुग्ने
देखिए पनि त्यो संभाबना नहुँदा अहिले संविधानसभामा महिलाको ३३ प्रतिशत पुग्ने अवस्था नै छैन ।
९. प्राप्त उपलब्धि भत्किरहेको अवस्था हेर्दा जनस्तरमा नैराश्यताको अवस्था सिर्जना भएको छ । के भन्नुहुन्छ ?
यसको लागि हामीले संघर्ष गर्नुपर्छ । पूँजीवादी प्रणालीअन्तर्गत संसदीय राजनीतिको प्रतिस्पर्धा गर्ने जुन व्यवस्था छ, यो अन्तरगत महिला समानता हुनै सक्दैन । राम्रो प्रतिनिधित्व पनि ग्यारेण्टी हुँदैन । त्यसैले पहिलो कुरा समाजवादी क्रान्ति हुनुपर्छ अनि दोस्रो कुरा हरेक क्षेत्रमा महिलाहरुको लागि विशेष ब्यवस्था गरिनुपर्छ । यो भएन भने महिलाहरु समानतामा आउने, विगतका सफलता गुुम्ने क्रम भइरहन्छ । त्यसैले म के भन्न चाहन्छु भने पहिलो कुरा हामी संघर्ष गरौँ, अनि विभिन्न ठाउँमा महिलाको प्रतिनिधित्व ग्यारेण्टी गर्नको निम्ति राजनैतिक रुपमा दलहरुलाई पनि अनुरोध गरौँ ।
१०. जनयुद्ध जनआन्दोलन हुँदै संविधानसभाभित्र उपसभामुखको जिम्मेवारीमा पुुग्नुु भएको छ । कस्तो अनुुभूति भएको छ ? थोरै व्यक्तिगत अनूूभूतिको कुरा शेयर गरिदिनुस न ।

सामान्य किसानको छोरी राष्ट्रको महत्वपूर्ण पद संविधानसभाको उपसभामुखको जिम्मेवारी प्राप्त गरें । मैले सबै ठाउँमा भन्ने गरेको छु कि यो जनयुद्धको उपलब्धि अनि जनताले दिएको जिम्मेवारी हो । किनभने जनयुद्ध हुँदैन थियो भने मैले राजनीति गर्ने वातावरण नै थिएन । हामी त साधारण किसानको छोराछोरी । राजनीति भनेको धनीमानीको ठेक्का, जसले फट्याई, धुत्र्याइँ गर्छ उनीहरुको ठेक्का जस्तो थियो । त्यस्तो अवस्थामा हामी न त त्यस्तो गर्न सक्थ्यौं न त धनीमानी नै थियौं । मेरो जग जनयुद्ध नै हो भन्छु । त्यस्तै नेपालमा विभिन्न प्रकारका आन्दोलनहरु आ—आफ्नै पहिचानसहित स्थापित भएका छन् । ती आन्दोलनले आफ्नो प्रतिनिधित्व खोज्यो । परिणामस्वरुप हाम्रै पार्टीभित्र म भन्दा धेरै सिनियर कमरेडहरु हुनुहुन्थ्यो तर पनि लिङ्गीय हिसावले प्रतिनिधित्व हुनुपर्छ भनेर उहाँहरुले त्याग गर्नुभयो । उहाँहरु म भन्दा कम क्षमताको भएर छोडेको होइन, प्रतिनिधित्वको हिसाबले महिलाहरुलाई अगाडि बढाउनुपर्छ भनेर उहाँले जुन खालको सदाशयता देखाउनुभयो अनि महिलाप्रतिको दृष्टिकोणको पनि म सराहना अनि आदर गर्न चाहन्छु । अनि आज मैले जुन जिम्मेवारी पाएकी छु त्यो पनि यसैको प्रतिफल हो ।

११. राजनीतिक जीवन कहिलेदेखि शुरु गर्नुभयो ?
एकदमै सानैे उमेरमा शुरु गरें । तेह्र चौध बर्षको उमेरदेखि नै मेरो राजनैतिक जीवनको शुरुवात भयो । जुनबेलामा बहुदल आयो त्यो सँगसँगै राजनीतिक यात्रा शुरु भयो । त्यो भन्दा अगाडि हामी साना साना हुँदा सामाजिक जागरणको हिसाबले एउटा संगठनमा लागेका थियौं । जसको कारण १३÷१४ बर्षको उमेरमै आन्दोलनमा जाने र संगठित हुने वातावरण सिर्जना भयो । सानैदेखि म युवा क्लबमा संगठित थिएँ । जलजला युवा क्लब जो अहिले माडी जलजला युवा क्लबको नाममा सक्रिय छ । अहिले म त्यसको संरक्षक पनि छु । त्यसपछि विद्यार्थी संगठनमा सिधै जोडियौं ।
१२. तपाईं रोल्पाबाट जितेर संविधानसभामा पुुग्नुुभएको छ । यो क्षेत्रका आम जनतालाई भन्नुपर्ने केही छ कि ?
रोल्पाली जनता धेरै महान छन् । जसले महिला पुरुष भनेर लिङ्गीय भेदभाव गर्नुभएन र मलाई जिताउनु भयो । अरु ठाउँमा महिला भन्नेबित्तिकै हारेको अवस्था पनि
छ । जनयुद्धको त्यत्रो भार उठाउनु भयो । पछिल्लो जनआन्दोलनमा पनि रोल्पाली जनताको महत्वपूर्ण भूमिका रह्यो । पछिल्लो चुनाव पनि आन्दोलन नै थियो । यो सबै
हेर्दा मलाई के लाग्छ भने उहाँहरुले जति दुुःख गर्नुभयो, त्योअनुसारको उपलब्धि अहिले प्राप्त गर्नुभएको छैन । तर नआत्तिन म अपिल गर्छु । परिवर्तनका दिनहरु विस्तारै आइरहेका छन् । आज पनि हामीले जनताको दैनिक समस्यादेखि लिएर राजनैतिकरुपमा सम्बोधन गर्नुपर्नेे संविधानसभामा पनि अथक पहल गरिरहेका छौं । जनताको संविधान समयमै दिन संघर्ष गरिरहेका छौँ । त्यस्तै रोल्पाली र सम्पूर्ण जनताको जनजीविकाको सवाललाई लिएर म र रोल्पाली सभासद लगातार सम्बन्धित निकायमा धाइराखेका छौँ । विकास निर्माणको बजेट पर्याप्त मात्रामा रोल्पामा पार्ने आश्वासन पनि म दिन्छु ।
१३. केही गर्न चाहने महिलाका लागि तपाईंका सुुझाव के छन् ?
पहिलो कुरा त केही गर्न चाहनु नै सबैभन्दा ठूलो कुरा हो । गर्न सक्दैन भन्यो भने त्यो उर्जाशक्ति नै हराएर जान्छ । त्यसैले केही गर्न चाहनु नै ठूलो हिम्मत हो । विकसित मुलुकहरुमा एउटा मान्यता स्थापित भई नै सकेको छ कि बच्चा जन्माउँदासम्म आमाको कर्तव्य भए पनि त्यसपछि महिलाहरुले हुर्काउन बढाउन पर्दैन । प्रशस्त मात्रामा आर्थिक व्यवस्थापन हुन्छ । तर हाम्रो नेपालको सवालमा गर्भमा रहँदा त रहँदाको कुरा भयो जन्मिसकेपछि पनि सम्पूर्ण भूमिका महिलाले ने खेल्नुपर्ने हुन्छ । केही पुरुषबाहेक अधिकांश पुरुषहरुले सहयोग गर्दैनन् । यस्ता समस्याहरु हामीसँग छन् । तैपनि अब गर्न चाह्यौं भने ती कुरा हामीले मानसिक रुपमा गौण बनाउनुपर्छ । हामी नेपाली महिलाहरुको सन्दर्भमा हेर्ने हो भने केही गर्नको लागि कडा अनि कठिन संघर्षको विकल्प नै छैन । हामीसँग समस्याहरु छन् तर समस्यासँग जुधिसकेपछि उपाय आउँछ । र, हामीले विकास गर्न सक्छौँ । त्यसरी संघर्ष गरिरहनुभएका महिलाहरुले सफलता पाउनुभएको छ, मैले देखिराखेको पनि छु । त्यसैले सम्पूर्ण महिला मित्रहरुलाई संघर्ष गर्ने कुरा कहिल्यै नबिर्सन आग्रह गर्दछु । अब बन्ने संविधानमा महिलाहरुको विशेष अधिकारको कुरालाई जसरी पनि सुनिश्चित गर्ने र त्यसलाई कार्यान्वयन गर्नको लागि राजनैतिक रुपले अथवा संस्थागत व्यक्तिगतरुपमा सबैले आआफ्नो ठाउँबाट जागरण फैलाऔं भन्छु ।
१४. अन्तमा थप केही भन्नुु छ कि ?
मेरो विचार तपाईको पत्रिकामार्फत जनताको माझमा जाने मौका दिनुभयो । त्यसको लागि धन्यवाद दिन चाहन्छुु । सबैमा मेरो अपिल छ कि आज देशलाई निकास दिन, शान्ति प्रक्रियालाई व्यवस्थित गर्न, जनयुद्ध र जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्न आवश्यक छ । त्यसको लागि धैर्य गरौं । सबैले आ—आफ्नो स्थानबाट सकारात्मक दबाब सिर्जना गरौं भन्न चाहन्छु ।.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np