Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

खस्कँदो मानवीय संवेदना

         ||   122 Views   ||   Published Date : 2nd February 2015 |

 

 

 

 

 

 

 

 

 

 

 

Samarekha_13_Cover - Copy

केही दिन पहिले दाङमा एकजना राजनीतिककर्मी महिला आफ्नै सहकर्मीबाट बलात्कारको शिकार भएको भईन् । पीडितले आफू बलात्कृत भएको उजुरी प्रहरीमा गरिन् । लामो समय अभियुक्त फरार भए भनियो । अदालत पुगेको यो मुद्दामा सामान्य तारेखमा अभियुक्तलाई छोडियो भने पीडित न्यायको लागि भौतारिँदै हिँड्नु प¥यो । बलात्कारजस्तो जघन्य अपराधमा मुछिएका व्यक्ति मुद्दा चलिरहँदा नै सामान्य दैनिकीमा फर्किए भने पीडित थप पीडित बन्दै जानुपर्ने बाध्यता फेरि दोहोरियो । मुद्दाको अन्तिम टुंगो अदालतले लगाउने हो तर न्यायिक प्रक्रियाभित्र र बाहिर समाजमा यस्ता विषयप्रति मानवीय समवेदना खस्कँदै गएको छ ।
सरसरर्ती हेर्दा बलात्कारलाई जघन्य अपराधको रुपमा लिइन्छ । तर बलात्कारीलाई त्यो अनुरुपको व्यवहार समाजले गर्ने गरेको छैन । समाजमा पीडित नै बहिष्कृत हुनुपर्ने अवस्था उस्तै छ । फितलो कानुन र कानुनी जटिलता एकातिर छन् भने अदालतबाट पीडितले पाउने पाउने न्याय भनेको एकदमै न्यून छ । अझ रुखो शब्दमा भन्ने हो भने पीडितले पाउने न्याय न्यायमूर्तिको व्यक्तिगत तजबीजमा अडेको छ । बलात्कार सम्बन्धी कानुन फितलो भयो भन्दै अधिकारकर्मीहरुको निरन्तरको आवाजपछि अहिले यो कानुन परिमार्जनको प्रस्ताव सहित विधेयक संसदमा पुगेको छ । नयाँ कानुन बन्ला र त्यो कार्यान्वयनमा आउला त्यो एउटा पाटो भयो, विद्यमान कानुनको परिधीभित्र रहेर पनि गर्न सकिने धेरै ठाउँहरु छन् तर बलात्कार पीडित महिलाहरुको पीडामा मल्हम लगाउने काम भैरहेको छैन ।
कानुनी कुराहरु गर्ने हो भने विवाहित श्रीमान् श्रीमतीबीचको इच्छाविपरीतको यौन सम्बन्धलाई समेत बलात्कारको रुपमा मानिन्छ र कानुनले सजाय तोकेको छ । कुनै बेला सहमतिमा यौन सम्बन्ध भएको छ भन्ने अनुमान गरिएको छ भने ती महिलामाथि जबर्जस्ती हुँदा त्यसलाई बलात्कारको रुपमा बुझ्न नसक्ने संकीर्ण सोंच यहाँका न्यायिक अर्धन्यायिक निकाय मात्रै होइन, अधिकारको लागि काम गर्छु भन्नेहरुका मष्तिष्कबाट समेत जान सकेको छैन । बलात्कार पुष्टि हुनका लागि भेटिनुपर्ने प्रमाणका कुरा त झन हास्यास्पद छ । दाङमा केही दिन पहिले एक युवतीले बलात्कारमा परेको उजुरी दिइन् । त्यो उजुरीबाट अभियुक्त गिरफ्तार भएन, तर फेसबुकमा जथाभावी लेखेको आधारमा साइबर क्राइममा उ गिरफ्तार भयो । बलात्कारको मुद्दालाई कति हलुका रुपमा लिइन्छ भन्ने उदाहरण यो भन्दा अरु कुन हुन सक्छ ? अधिकारवादी संस्थादेखि न्यायालयसम्म पु¥याउनुपर्ने प्रमाणको भारले पीडित महिलाहरु नराम्रोसँग थिचिएका छन् ।
दोष हाम्रो न्याय प्रणालीमा मात्रै छैन, चिनजानको भरमा या पैसाको भरमा आवश्यक परे जुन व्यक्ति जहाँ गएर पनि नक्कली कागजात लिएर आउनसक्ने वातावरण छ । निको अपराधी विरामी भएको अस्पताल भर्नाको कागज लिएर आउन सक्छ, मेडिकल रिपोर्ट परिवर्तन गर्न सक्छ, घटनास्थलभन्दा अन्यत्र कतै उपस्थित भएको प्रमाण लिएर आउन सक्छ । पेशाप्रति, दायित्वप्रतिको गैरजिम्मेवारीपन र दोहोरो चरित्रले समाजलाई खोक्रो बनाउँदै लगेको छ । भत्किँदै गएको सामाजिक उत्तरदायित्वबोध र खोक्रो पनलाई दुर गर्न व्यवहारिक रुपमा यथार्थपरक चिन्तनमनन गर्ने कुरालाई बौद्धिक तहले गंभीर रुपमा लिनुपर्छ । कानुनीरुपले दण्ड र सामाजिक रुपले समाजिक बहिष्कार पीडितको सम्मानपूर्ण जीवनयापनको वातावरण निर्माणमा एउटा अग्रसर हुनुपर्छ । जो आफूलाई समाजका अगुवा भन्छौं, हरेकले दोहोरो चरित्र बोक्न छाड्नु पर्छ र बिना स्वार्थ, विना पूर्वाग्रह संवेदनशील भएर पीडितको घाउमा मल्हम लगाउने आँट गर्नुसक्नु पर्छ । यसको लागि पहिलो पाइला आफै चाल्नुपर्छ भन्ने कुरा कसैले विर्सन मिल्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np