Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

हिंसा प्रभावितहरुको सराहनिय काम

         ||   157 Views   ||   Published Date : 27th July 2015 |

हिंसा प्रभावितहरुको न्यायका लागि दाङमा प्रभावितहरु स्वयंले अभियान थालेका छन् । न्याय खोज्दै न्यायिक÷अर्धन्यायिक निकायमा वर्षौं धाएर प्राप्त गरेको सीमित अधिकार उपभोग गर्न बञ्चित भएपछि उनीहरुले संगठित रुपमा यस्तो अभियान शुरु गरेका छन् । स्थानीय महिला समूह हुँदै प्रहरी, जिल्ला अदालत, पुनरावेदन हुँदै सर्वोच्चसम्म धाएर पाएको सीमित अधिकार पनि उपभोगको वातावरण नबनेपछि दाङको घोराहीबाटै उनीहरुले यस्तो काम शुरु गरेका हुन । दाङ जिल्ला सदरमुकाम घोराहीको तुलसीपुर चोकमा पीडित बृद्धा रविकुमारी गुरुङको जग्गामा घर निर्माण गरिदिएर उनीहरुले यस्तो अभियान थालेका हुन् । पटक पटक प्रहरी प्रशासनसँग सर्वोच्च अदालतको फैसला कार्यान्वयनको लागि सहयोग माग्दा पनि पीडितलाई घर बनाउन सहज नभएको अवस्थामा हिंसा प्रभावित महिलाहरु आफै मजदूरको रुपमा काम गरेर ती बृद्धाको घर बनाउन जुटेका छन् । संस्थागत रुपमा संगठित भएका उनीहरु अदालतका फैसला कार्यान्वयनको लागि अभियान नै चलाउने जमर्को गर्दैछन् ।

हिंसा प्रभावितहरुको न्यायमा पहुँच नभएको चर्चा बेलाबेला भइरहने गर्छ । पितृसत्तात्मक सोंच र मूल्यमान्यताबाट ग्रसित नेपाली समाजमा हिंसा प्रभावितहरुलाई हेर्ने दृष्टिकोण अझै फराकिलो हुन सकेको छैन । घर, परिवार, समाज जहाँतहीँ आफूभन्दा कमजोरमाथि थिचोमिचो गरेर आफू अग्लिएको सोंच राख्नेहरुकै बोलबाला छ । विभेदयुक्त लैंगिक मान्यताले परिवारदेखि सरकारसम्म, समाजदेखि न्यायिक निकायसम्म जकडेकै छ । महिला स्वयंमा कमजोर होइन, हाम्रा विभेदयुक्त सोंच र व्यवहारले उनीहरुलाई कमजोरमा दर्ज गरिदिएको कुरा बुझ्नेहरु निकै कम छन् । महिलाको आत्मसम्मान, स्वाभिमान, स्वअस्तित्व भन्ने विषय कुरामा मात्रै सीमित छन् । समान हैसियतको नागरिकको रुपमा अझै सहजै स्वीकारिँदैन । जसका कारण हिंसा प्रभावितहरुले पाउने न्याय प्रभावित भैरहेको छ । हिंसाको चरम रुप भोग्न नसकेर बोल्न थालेका उनीहरु आवाज उठाएदेखि थप हिंसा भोग्नुपर्ने अवस्था छँदैछ । समाजमा उनीहरुको सम्मानित जीवनयापनको अवस्था कोसौं टाढा छ ।

त्यसो त महिलाहरुको न्यायमा पहुँच बढाउन कामहरु हुँदै नभएका पनि होइनन् । केही ऐन कानुनहरु पनि छन् । हिंसा प्रभावितहरुका लागि सहयोगी संयन्त्रहरु पनि छन् । लैंगिक हिंसालाई संबोधन गर्ने गरिएको पनि छ । तर ती सीमित भए । जे जति भए ती पनि पीडितमैत्री भएनन् भन्ने गुनासो उत्तिकै सुनिने गर्छ । पीडितलाई न्याय उसको सम्मानित जीवनको लागि हो । तर हाम्रा संयन्त्रहरु पीडितलाई थप पीडा दिने खालका भए । पीडितलाई हेर्ने दृष्टिकोण फेरिएन भन्ने तथ्य बेला बेला प्रकट भइरहेका हुन्छन् । हिंसा प्रभावित आफैमा पीडित पनि हो र साक्षी पनि तर यसरी बुझ्ने गरिएको छैन । लैंगिक हिंसा अन्त्यका लागि सरकारी प्रयास निकै कम छ । सत्ता, शक्ति र पैसाको बलमा पीडक जहिल्यै हावी हुने गरेका छन् । प्रहरी प्रशासनको मुखै अगाडि अदालतले गरिदिएको फैसला पनि कार्यान्वयनमा समस्या देखिनु त्यसैको एउटा उदाहरण हो ।

महिलाविरुद्ध भएका हिंसाका सबै घटनाहरु महिलाको मानव अधिकार हनन हो । मानव अधिकारको मान्यताले यसरी हुने मानव अधिकार हननको जिम्मेवारी सरकारले लिनैपर्छ भन्छ । त्यसैले जिम्मेवार सरोकारवाला निकायहरु कुनै प्रभावमा नपरी पीडितलाई न्याय दिलाउनु आवश्यक छ । हाल कानुनी व्यवस्थामा रहेका समस्या, कार्यान्वयन तहमा रहेका समस्या र व्यवहारमा देखिएका समस्याहरु तत्काल सम्बोधन गर्ने हो भने न्याय पाउन सहज हुन सक्छ । त्यस्तै न्यायमा सहज पहुँच सुनिश्चित गर्नका लागि सरकारले पीडितमुखी कानुन निर्माण, त्यसको प्रभावकारी कार्यान्वयन गर्न स्थानीयस्तरदेखि राष्ट्रियस्तरसम्म पीडितमुखी सहयोगी संयन्त्र निर्माण गर्नुपर्छ । लैंगिक हिंसा अन्त्यको विषय सरकार एक्लैको प्रयासमात्रैले संभव हुँदैन । महिलालाई हिंसा गर्न प्रेरित गर्ने विभेदयुक्त लैंगिक सोंचले सिंगो समाजलाई नै खोक्रो बनाउँदै लगेको छ । हाम्रा प्रगति र समृद्धिका बाटाहरु अवरुद्ध गरिदिएको छ भन्ने बुझेर यसका बिरुद्ध सिंगो समाज तात्न जरुरी छ । हिंसा खेपेकाहरुले त्यो हिंसाको पीडा भोगेका छन्, दैनिक मजदुरी गरेर सन्तानको पालनपोषणगर्दै वर्षौंदेखि न्यायको ढोका चाहारेका छन् त्यसैले साँझ बिहानको हातमुख जोर्ने त्यही मजदुरी पनि छाडेर ती पीडितको सहयोगमा उभिएका छन् । उनीहरुको कामलाई प्रहरी प्रशासनलगायत समाजका सचेतवर्गले सकारात्मक सहयोग गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np