Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

जनयुद्धमा महिलाले खेलेको भूमिकालाई जगेर्ना गर्ने अभियान छौं

         ||   137 Views   ||   Published Date : 27th July 2015 |

जनयुद्धमा महिलाले खेलेको भूमिकालाई जगेर्ना गर्ने अभियान छौं

20141017_173059
लिला शर्मा, अस्मिता
अध्यक्ष
पूर्व जनमुक्ति सेना महिला परिषद

लिला शर्मा, अस्मिता नेपाली जनयुद्धमा खारिएको महिला नेताको नाम हो । जनयुद्धमा महिलाले खेलेको भूमिकाकै कारण नेपाली सेनामा महिलाको लागि ढोका खुल्यो । जनयुद्धको दौरान सुत्केरी, गर्भवती अवस्थामा समेत महिलाहरु लडाईंमा सहभागी मात्रै भएनन् लडाईं जितेर बीरता कायम गरे । गौरवपूर्ण इतिहास बनाएका पूर्व जनमुक्ति सेना महिलाहरु आफ्नो योगदानको अवमूल्यन भएको भन्दै पूर्व जनमुक्ति सेना महिला परिषद् गठन गरेर ऐतिहासिक संग्रहालय निर्माणमा जुट्ने तयारी गरिरहेका छन् । ब्रिगेड भिसी हुँदै बिग्रेड कमाण्डरको भूमिका निर्वाह गरेकी परिषदकी अध्यक्ष लिला शर्मासँग जनयुद्धमा महिलाले खेलेको भूमिका, पूर्व जनमुक्ति सेना महिला र परिषदले गर्ने कामका विषयमा समरेखाको लागि कुरा गरेका छौं ।
१ पूर्व जनमुक्ति सेना महिला परिषद कहिले गठन कहिले गर्नुभयो ?
परिषद एक वर्ष पहिले गठन भएको हो । जनयुद्धमा एक हप्ता बन्दुक बोकेका महिलाहरु पनि यसको सदस्य हुनसक्नेछन् । परिषद्मा सदस्यसंख्या बढ्ने संगठन होइन । जनयुद्धमा जे जतिले सेना बनेर भूमिका निर्वाह गरे त्यतिलाई नै केन्द्रीत गर्ने हो । हिँजो जसले बन्दुक बोकेर लडे उनीहरु संगठित हुने हो । अहिलेसम्म हामीले राष्ट्रिय भेला तथा सम्मेलन ग¥यौं । देशभरबाट छानिएका ७० जनाको सहभागितामा १९ जनाको केन्द्रीय कार्यसमिति बनायौं । यसले धेरै राम्रो प्रभाव पारेको छ । अहिले १ हजार बढी सदस्यहरु आवद्ध भैसकेका छन् ।
२. पूर्व जनमुक्ति सेना परिषदको मुख्य उद्देश्य के हो ?
यसको मुख्य उद्देश्य संग्रहालय स्थापना गर्ने हो । विश्वकै कम्युनिष्ट आन्दोलनकमा नेपालमा भएको दशवर्षे जनयुद्ध महत्वपूर्ण युद्ध हो । जनयुद्धमा महिला सहभागिताको प्रसंगमा पनि यो निकै महत्वपूर्ण मानिन्छ । अन्यत्रको कुरा गर्दा रुसमा लडाई भयो यत्रो सेना बनाएनन् । चीनमा ठूलो सेना बन्यो तर महिला सेना कम भए । पेरुमा थिएनन् । भारतीय पिपुल्स वारभित्र महिला हेर्दा परिवार नियोजन गरेपछि बल्ल विहे गर्ने प्रचलन छ । तर हामी त बच्चा बोकेरै लड्यौं । यो इतिहासलाई संग्रहालय बनाएर भावी पुस्ताका लागि अध्ययनको विषय बनाउने प्रतिष्ठानको मुख्य उद्देश्य हो ।
दोश्रोमा अहिलेको राजनीतिक निरासाको कारणले महिलाहरु पार्टीमा संगठित छैनन् । कतिपयले पार्टी सदस्यता नवीकरण नै नगरेर बसेका छन् । ती महिलाहरुलाई राजनीतिमा आउनका लागि वातावरण बनाउने हाम्रो उद्देश्य हो । राजनीतिमा आउने वातावरण भनेको उनीहरुको आर्थिक स्थितिको संबोधन नै हो । आत्मनिर्भर प्रकृतिको तालिम तथा उद्यम सञ्चालन गर्ने, पूर्व लडाका महिलाहरुको सहकारी स्थापना गरी उनीहरुको जीवनमा परिवर्तन ल्याउने हाम्रो अर्को उद्देश्य हो । अब छिट्टै संग्रहालय शुरु हुँदैछ । जनयुद्धको आधार इलाका राप्ती भएकोले संग्रहालय राप्तीमै पनि हुन सक्छ ।
३. जनयुद्धमा महिलाले खेलेको भूमिकाको निकै चर्चा हुने गर्छ । नेपाली महिला आन्दोलनले वर्षौंदेखि उठाएको समान सहभागिताको मुद्दा जनयुद्धकै बलमा राजनीतिक मूलधारमा स्थापित भयो पनि भनिन्छ । खासमा जनयुद्धमा तपाईंहरु के कस्तो भूमिकामा रहनुहुन्थ्यो ?
जनयुद्धको क्रममा महिलाहरु लडाईंमा एसल्टको भूमिका खेले, भाँचेका फुटेका हतियार कुर्ने, भात भान्सा हेर्ने, दुश्मनको प्वाईन्टमा रेकी गर्नुछ भने आइएनटी (सीआइडी)को भूमिका निर्वाह गर्ने, सिभिल सेना छ छैन के कति कहाँ छन् स्थानीय बनेर स्थानीय भेषमा महिला नै गएर रेकी गर्थे । लडाईदेखि लिएर लडाईं जित्न जे जे गर्नुपथ्र्यो सबै भूमिकामा महिलाहरु अग्रपंक्तिमा थिए । महिलाहरु महिनावारी भएको छ, गर्भवती छ, लड्न गएको छ । लड्न मात्र गएको छैन आफ्नो आर्क पुरा गरेकै छ । लडाईं जितेर आएको छ । आफ्नो ड्युटीप्रति महिलाहरुको प्रतिवद्धता पुरुषको तुलनामा उच्च मानिन्थ्यो । घर परिवारमा महिला एक्लैले पारिवारिक सामाजिक दायित्व निर्वाह गरे भने युद्धको मोर्चा सम्हालेर अर्काथरी महिलाले महिला सक्षमताको अर्को नमूना दिए । यो क्रममा धेरै अन्धविश्वास तोडिए, महिलाका लागि बर्जित जस्तै लाग्ने अस्त्र उठे, शाष्त्र तोडिए । धेरै असहजताका बाबजुद महिला सशक्तिकरणको गतिलो उदाहरण बन्न सफल भएको हो जनयुद्ध ।
४. जनयुद्धमा महिला लडेकैले नेपाली सेनामा महिलाको लागि ढोका खुल्यो । तर शान्ति प्रक्रियासँगै सेना समायोजनको क्रममा महिला सेनाहरु घर गृहस्थी सम्हाल्न फर्किनुपर्ने अवस्था आयो । के भन्नुहुन्छ ?
सुरक्षाक्षेत्रको कुरा मात्रै होइन, चुनौतीपूर्ण काममा महिला सहभागिताको अवस्था निकै कम नै छ । जनयुद्धमा महिलाको भूमिकाकै कारण नेपाली सेनामा महिलालाई लिइयो । सशष्त्रमा लिइयो । तर पनि विश्वमै हेर्दा सेनामा महिलाको संख्या कम छ । खेलाडीको रुपमा महिला कम छ र पत्रकारकै रुपमा पनि महिला कम छ । महिलाहरुमा आन्तरिक रुपमा म गर्न सक्छु भन्ने उत्सुकतामा समस्या छ । पहिले नै सक्छु सक्दैन भनेर नापतौल गर्ने गरेको देखिन्छ । यो बानी पनि होइन । समाजले सेट गरिदिएको मानसिकताकै उपज हो । समाजले तिमी सुन्दरी हौ, तिमी बच्चा हुर्काउ सानो काम गर भन्छ तर जटिल काममै धकेलिदिएको छ । बच्चाको झन्झट, श्रीमान्को झन्झट, घरभित्रको झन्झट कति छन् कति झन्झट । सजिलो राम्रो भनेर झन्झटिलो काममा महिलालाई हालिदिएको छ । समाजले महिलाको हड्डी सानो, कोमल छाला भन्ने कुराले त्यो मानसिकतालाई बल दिएको छ । मानसिकता मुख्य कुरा हो जसले अन्य सबै कुरालाई दिशा प्रदान गर्छ । महिला कमजोर हुन्छन् भनेर मानसिकतामा हालिदिएको गडबड हालिदिएकोले समाजमा महिलालाई अप्ठेरोमा पारिरहेको हो ।
५. तपाईं आफै सेना बनेर बन्दुक बोकेर हिँड्नु भयो, लड्नु भयो । के साँच्चिकै महिलाहरु जैविक रुपमै फरक हुन् त ? तपाईंले व्यक्तिगत रुपमा गरेको अनुभूति के हो ?
चुनौतीपूर्ण कामका सबैजसो क्षेत्रमा महिलाहरुको संख्या कम देखिँदा महिलाहरु जैविक रुपमा फरक हो वा के हो भन्ने कुरा भित्रैदेखि मलाई छोएको कुरा हो । जनयुद्धमा म आफै बन्दुक बोके । लडाईं लडे । सबै किसिमका चुनौतीको सामना गरें । म आफैले आत्मैदेखि गरेको अनुभूति चाहिँ के हो भने हामी कुनै पनि हिसाबले पुरुषभन्दा कमजोर छैनौं जैविक रुपमा पनि । कमजोरी त हामीलाई समाजले मानसिक रुपमा पारेको ह्यांग हो । यो पुष्टि गर्न जैविक स्थिती र महिला नामक किताब निकाल्ने तयारी गरिरहेकी छु । शारीरिक रुपमा मात्रै होइन, कुनैपनि अवस्थामा पुरुषभन्दा महिला कमजोर छैनन् भन्ने नै मेरो जोड हो । त्यो कहिले पुष्टि गर्न सक्छु थाहा छैन ।
.६.हिँजो जनयुद्धकालमा धेरै खालका विभेदका विरुद्ध लड्नु भयो । अन्तर्जातिय विवाह भए । हिँजो परिवर्तनकारी कदम भनेर गरिएको कामले अहिले महिलाहरुनै थप पीडित छन् । लडाकु महिलालाई समाजमा पुनस्थापित हुनका लागि समस्या भएको कुरा पनि सुनियो । तपाईंहरुका भोगाई के कस्ता रहे ?
हो, असहज नै भयो । हिँजो रक्सी फालियो, रक्सी खाईस् भनेर कुटियो । अहिले त्यही फर्केर आएको छ । यो विषयलाई पार्टीले राम्रोसँग हयाण्डिल गर्न नसक्दा यो अवस्था आएको हो । महिलाहरु असुरक्षित छन् र समाजिक रुपमा तिमीहरुले केही गर्न सकेनौं भन्ने पनि भएको छ । अन्तर्जातिय विवाह केही तोडिएका छन् । आफ्नै जातिभित्र विवाह गरेको पनि परिवारभित्र स्वीकारिएको छैन । तँ भन्दा राम्री विवाह गर्थें, मागेर विवाह गर्थें भन्ने खालको मानसिक तनाव दिइएको छ ।हिँजो उमेरका कारणले जैविक आवश्यकताकाबीच विवाह भयो । खुला परिवेशमा आउँदा बाहिरी दुनियाँसँगको तुलना गर्दै विवाह तोडिन थालेको देखिन्छ । सुन्दरता भन्ने विषय मनोवैज्ञानिक समस्याको मारमा महिला पर्ने गरेका छन् । यसले सम्बन्ध विच्छेदका घटनाहरु बढ्ने गरेका छन् ।

7. फरक चाहना राख्ने, विकल्प खोज्ने छनौटको दौडमा पुरुषहरु अघि हुने र महिलाहरु सहेर बस्ने । यसबाट बढी पीडित महिला नै भए होइन र ?
महिलाहरुको बाध्यता पनि भयो र महिला घर गृहस्थी बालबच्चामा इन्गेज हुन सक्ने भएर पनि हो । पुरुषले आमा बन्ने अवसर कहिल्यै पाएन । पुरुषहरु बच्चा, घर गृहस्थीका काममा इन्गेज हुन सक्दैनन । आमा हुनुको व्यवहारिक अनुभूति गर्न नपाउँदा पुरुषले बालबच्चा स्याहारेर, घर गृहस्थी सम्हालेर बस्नुको सट्टा सहज जीवन यापनका लागि अर्को विवाह नै खोज्छ । अर्को विवाह बाहेक अरु कुरामा पुरुष इन्गेज हुन सकेको देखिँदैन । यही नै अहिले देखिएको समस्या हो ।
8. हिँजो जनयुद्धमा महिला लड्दा नेपाली सेनामा महिलाको प्रवेश भयो । राज्यका संरचनामा महिलाको सहभागिताको विषय जबर्जस्त रुपमा स्थापित गराउन सफल माओवादीभित्रै अहिले महिला सहभागिता सिला खोज्नुपर्ने अवस्था देखिँदैछ किन ?
पार्टीका पुरुष नेताहरुमा भएको पितृसत्तावाद हो भन्छु म । महिलाहरुलाई विश्वास नगर्ने महिलाले गर्न सक्दैनन् भन्ने मान्यता जब्बर हुँदा यस्तो अवस्था आएको हो ।
9. हिजो त जिम्मेवारी दिए त ?
हिँजो बाध्यता थियो । हिँजो छ सम्हाल्नु थियो । महिलाले घर सम्हालेको जस्तो युद्ध सम्हाल्नु थियो । युद्धका हाँगाबिँगा सम्हाल्नु थियो । चिठ्ठी बोक्ने, भात खुवाउने, थोत्रा बन्दुक बोक्ने, बलिया बन्दुक बोक्ने, लडाईं मेनटेन गर्ने काम महिलाकै थियो । समाजमा घरभित्रको काम महिलाले गरेजस्तै समग्र युद्धको व्यवस्थापन महिलाले नै गरेको हो । लडाईं जित्नु थियो महिला प्रयोग भए, अहिले त केही व्यवस्थापन गर्नु छैन, चुनाव जित्नु पनि छैन जसले जहाँ जे भेट्टायो खायो भैहाल्यो । अहिले पुरुषहरुले महिलाले गर्न सक्दैनन भन्ने अन्धविश्वास पालेका छन् । हिँजो पुरुषभन्दा म प्रतिवद्ध भएर बन्दुक बोकें अनि मलाई दिनुपर्ने बाध्यता थियो । अहिले शान्तिकाल छ । कष्टकर काम छैन । जहाँ पनि कष्टकर काममा महिला अघिसर्नुपर्ने अवस्था आउँदो रहेछ भन्ने हाम्रो अनुभवले देखाएको कुरा हो ।
10. चाहे जनयुद्ध होस् या शान्तिपूर्ण आन्दोलन, आन्दोलन सफलतामा पुगेपछि उपलब्धिको हिस्सेदारीमा महिलाहरु पाखा लगाइएका छन् । यसबाट मुक्ति पाउने उपाय के हो ?
संघर्ष नै हो । संघर्षको लागि महिलाहरु केन्द्रीत हुनुको विकल्प छैन । संघर्ष, दबाबकै विषय हुन् । पार्टी भित्र, बाहिर जो जहाँ छौं सबैले निरन्तर संघर्ष गर्नुको बिकल्प छैन ।
11. जनयुद्धमा महिलाले खेलेको भूमिकालाई जगेर्ना गर्ने अभियानमा हुनुहुन्छ । यसमा समग्र महिलालाई जोड्नुहुन्छ ?
महिलाको समग्र एजेण्डामा हामी सबैसँग सँगसँगै काम गर्छौं । पूर्व पिएलएहरुको इतिहास राख्ने र संग्रहालय बनाएर भावी पुस्ताका लागि अध्ययनको विषय बनाउने मुख्य काम यो प्रतिष्ठानको हो । संग्रहालय बनाउने र पूर्व पिएलए महिलाहरुको जीवनस्तर उकास्ने काममा प्रतिष्ठान लागि पर्ने भएकोले यसको लागि आवश्यक पर्ने क्षेत्रमा सबैलाई जोडेर लैजान्छौं ।
12. यसको संरचना कस्तो हुन्छ ?
केन्द्रीय कार्यसमिति र सोझै जिल्ला कार्यसमिति हुन्छ । जिल्ला कार्यसमिति पचहत्तरै जिल्लामा हुने होइन जहाँ पिएलए छन् त्यहाँ संगठन हुन सक्ने कुरा भयो ।
१२. तपाईंहरु पूर्व पिएलएका रुपमा महिलाको योगदानको संरक्षणमा लाग्नु भएको छ । महिलाहरु विभिन्न क्षेत्रबाट महिला अधिकार संस्थागत गर्न लडिरहेका छन् । महिलाहरुले अहिले उठाउनुपर्ने प्राथमिकताको विषय के हो ?
पहिलो, महिलाहरु राजनीतिबाट निराश हुनु हुँदैन । दोश्रो केही गर्न सक्छौं भन्ने आत्मविश्वास जगाउनै पर्छ । त्यसपछि महिलाहरु संगठित भएर पार्टीसँग संघर्ष नगरी कुनै पनि पोष्ट अधिकारहरु प्राप्त गर्न सकिँदैन भन्ने बुझेर निरन्तर लागिपर्नु पर्छ । त्यस्तै चौथोमा राजनीतिमा टिकीरहनका लागि आत्मनिर्भर भएर राजनीति गर्ने विधिको खोजी गरी आफूलाई मेनटेन गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np