Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

शब्द प्रयोगमा संबेदनशीलता

         ||   302 Views   ||   Published Date : 27th July 2015 |

शब्द प्रयोगमा संबेदनशीलता

Hemraj Acharya
हेमराज आचार्य
शब्दको प्रयोगमा खास लिङ्ग र जातमा प्रयोग गरिने शब्द चयनमा ख्याल राखिएन भने हाम्रो भाव नै अनर्थ हुने वा माफी माग्नसमेत पर्नसक्छ । समयक्रमसँगै अहिले भाषिक सचेतता बढेको छ । खास लिङ्ग, खास समुदाय, खास जातलाई लक्षित गरेर प्रयोग हुने गरेका भाषा शब्द तत्तत् समुदायको आत्मसम्मानमा ठेस पुग्ने खालका, उनीहरुलाई होच्याउने खालका रहेकाप्रति आपत्ति जनाउने क्रम बढेको छ । यो सचेतता भाषामा रहेको विभेद हटाउन लागिपरेको छ । जस्तो दलित जातिको बारेमा चमार, डुम, कामी, दमैजस्ता शब्दको सट्टा दलित सुमदाय भनेर सम्बोधन गरिन्छ । शारीरिक अपांगलाई त झन् लाटा बहिरा लंगडाको सट्टा अपांग भनिन्थ्यो । तर अचेल फरक क्षमता भएका भनेर शब्द प्रयोग गरिन्छ । महिलाप्रति प्रयोग गरिने शब्दमध्ये तपाईंकी श्रीमती के गर्नुहुन्छ भन्दा हाउस व्वाइफ भनिदै आएकोमा अब हाउस म्यानेजर भनेर सम्बोधन हुनुपर्छ भन्ने प्रयास शुरु भएको छ । विधवा महिलालाई एकल महिला भनेर लेखिन्छ बोलिन्छ ।
कार्यालयहरुमा श्रीमान कार्यालय प्रमुखज्यू भन्ने सम्बोधनको सट्टा श्री कार्यालय प्रमुख र अन्तमा श्रीमान्को जे आदेश लेख्नु भएको छ । पुराना निवेदनमा सेवामा नम्र निवेदन यो गर्दछु कि भनी लेख्नुको सट्टा स्कूल वा अन्य ठाउँमा प्रस्तुत विषयमा ….. भनी लेख्ने गरिन्छ अचेल । नामको माथि आज्ञाकारी लेख्नुको सट्टा निवेदक मात्र लेखिन्छ । ड्राइभरको सट्टा चालक, खलासीको सट्टा सहचालक, पियनको सट्टा कार्यालय सहयोगी, हाकिमको सट्टा कार्यालय प्रमुख, अन्धाको सट्टा दृष्टिविहीनजस्ता शब्द प्रयोग गरिन्छ । बाटामा हिंड्दा फुच्चे वा फुच्ची भनेर सम्बोधन गर्नुभयो भने बालअधिकार हनन् वा बालकप्रति अभद्र शब्द प्रयोग गरेको मानिन्छ । अहिलेको सरकार लंगडो सरकार भनी बोलेकाले प्रतिपक्षी नेताले माफी मागेको धेरै भएको छैन । न्यायाधीशलाई श्रीमान भन्दा महिला न्यायाधीशलाई के भन्ने ? अब न्यायाधीशलाई श्रीमान् भनेर सम्बोधन गर्नुहुँदैन । लैंगिक विभेद भयो भनी नयाँ–नयाँ शब्दका अभ्यास भइरहेका छन् । हाम्रो समाज यस्तै–यस्तै सरल देखिने तर आत्मसम्मान र पहिचानका नयाँ चेतनासँगै वैकल्पिक शब्द खोजिरहेको छ । कसैलाई सल्लाह दिँदा यो गलत भयो भन्नुको सट्टा तपाईंको ठाउँमा म भइदिएको भए यो–यो गर्ने थिइन, मेरो विचारमा यो कुरा सही लाग्छ र यो कुरामा म सहमत हुन सकिन भनी सकारात्मकताबाट शुरुवात गर्ने प्रयास अचेल व्यापक देखिन्छ । बृद्धबृद्धालाई ज्येष्ठ नागरिक (सिनियर सिटिजन्स), नेतालाई समाजसेविका, सामाजिक कार्यकर्ता । तालिममा आउने प्रशिक्षकलाई सहजकर्ता, तालिममा आएका विद्यार्थीलाई पार्टीसिपेन अथवा सहभागी, शिक्षकको सट्टा प्रशिक्षक, कर्मचारीको सट्टा राष्ट्रसेवक, किसानको सट्टा कृषि मजदुर, आरनको सट्टा कृषि औजार निर्माण स्थल, घोरेटो, गोरेटो बाटोको सट्टा कृषि सडक जस्ता शब्द विकसित भएका छन् ।
लैंगिकरुपमा प्रयोगमा आइरहेका शब्दहरु आत्मसम्मान वा महिलामैत्री शब्दको प्रयोग केही असहज देखिए पनि पछाडि परेका समुदाय र लिंगसँग सम्बन्धित संस्थाहरुको पहलमा चालिएका बहस र योगदान नै यसका श्रेयदाता हुन् । हिजो एक दुईवटा साधन चलाउने महिला हुन्थे । अचेल मजासँग महिलाहरुको मोटरसाइकल ¥याली निस्कन थालेको छ । सामाजिक सञ्जालमा राम्रै पहुँच बनाएका आजका पुस्ता लिंग, क्षेत्र र पछाडि परेको समुदायको आत्मसम्मानमा असर नपर्ने शब्द प्रयोगमा अभ्यस्त हुँदैछ । नेपालले शुरुवात गर्न थालेको साइवर कानूनमा पनि यस्ता शब्द प्रयोग गर्न अर्थात अपमानपूर्ण शब्द प्रयोग गर्न बन्देज लगाउनु र आवश्यक दण्डको पनि व्यवस्था हुनुपर्दछ ।
घरेलु हिंसाबाट पीडित महिलाहरुले परिवारको जुन भूमिकामा रहे पनि आत्मसम्मानपूर्वक सम्बोधनको अपेक्षा गर्नु के गलत हो र ? राज्यले प्रयास गरे असम्भव जस्तो लाग्ने कार्यहरु पनि सम्भव हुन्छन् भन्ने कुरा काठमाडौंमा स्थानीय रुटमा चल्ने साधनमा बरु सिट खाली हुन्छ तर महिला सिटमा कोही पनि नचढेको दृष्टान्त उदाहरणीय छ । छिमेकी राष्ट्र भारतको मद्रास शहरमा सिटी बसको एकातर्फ पूरै महिला र अर्कोतर्फ पुरुष बसी यात्रा गर्न थालेको धेरै वर्ष भइसक्यो । हाम्रो यहाँ महिला, अपांग, लेखिएको सिटमा महिला र फरक क्षमता भएकाहरु मात्र चढ्ने गरेका छन् । दक्षिणका तराईका बासिन्दालाई भारतीय भनी हेप्ने शब्द, उत्तरका जनजातिलाई तिब्बती वा भोटे भनी बोल्ने शब्द अब रुपान्तरित भएको छ । तराईबासीले मधेश भन्दा गर्व गर्छन् । आधुनिक शिक्षाको प्रवेश सँगसँगै नयाँ पुस्तामा नेपाली ठेंट शब्द प्रयोग नगर्ने र नजान्ने पनि हुँदैन । नेपाली गीत पिँढी बसेर….. सुन्दा पिंढी भनेको कस्तो हुन्छ, चुलोचौको, बार्दली, घरको पाली, पाटी पौवा, आँगनीजस्ता शब्द बुझ्न छाडेका छन् । शहरीकरणको यो (ग्लोवलाइजेसन) विश्व भू–मण्डलीकरणले पारेको प्रभावले नयाँ पुस्ता जिल्लाका साना–साना बजार वा शहरमा पढ्ने र ग्रामीण परिवेशका ठेट शब्द नै थाहा नपाउने अवस्था पनि छ । के हाम्रा ठेंट शब्द लोप हुनै थालेका हुन् त ? पँधेरी भनेको आजको बच्चालाई थाहै छैन । अझ स्थानीय घाँस, झारपात र जडीबुटी चिन्ने शब्द त नयाँ पुस्तामा हराउँदै गएको छ ।

हरेक व्यक्तिको संस्कृति जति उच्च र जीवित रहन्छ, समाज पनि उत्तिकै पहिचानयुक्त हुन्छ । आज हामीले प्रयोग गर्ने शब्द भोलि अझै सुधार होलान् तर कम्तिमा समाचारमा प्रस्तोता क्यामराम्यानको सट्टा क्यामरा पर्सनजस्ता शब्दावलीले लैंगिकरुपमा एउटा लिंगको प्रतिनिधित्व मात्र नगरी समताको अभ्यास हुँदैछ ।
तपाईं हामी पनि समाजमा स्कूलहरु बालमैत्री, महिलामैत्री छन् कि छैनन् भनेर ख्याल गर्ने कि ? सार्वजनिक यातायात फरक क्षमता भएकाहरुको मैत्री छ कि
छैन ? समाचार माध्यम पछाडि परेका समुदायमैत्री छन् कि छैनन् ? अनि शब्द शब्दबाट शुरु भएको सम्मानपूर्ण सम्बोधनका शब्द र त्यसका दूरगामी असरबारे आजैदेखि ख्याल गर्ने कि ? आमा, दिदी, फूपु, बुहारी आदि धेरै भूमिकाहरुमध्ये एउटा भूमिकालाई हदैसम्म हेप्ने र अन्य भूमिकाप्रति बढी सम्मानको नाटकको सट्टा सम्मानित शब्द प्रयोग गर्न सकिएन भने तपाईंका शब्दको एकै क्षणमा प्रतिक्रिया र उपयुक्त जवाफ दिनु बाध्यता पो पर्छ कि ? एकपटक बदलिँदो परिवेशलाई साक्षात्कार
गर्नैपर्छ । चाहे राजनीतिक मञ्चमा, संघसंस्थाका कार्यक्रममा, घरभित्र, स्कूल कलेजमा, मिडियामा होस्, चाहे सामाजिक सञ्जालमा बोल्नुहोस् । भनिन्छ जिब्रोमा हड्डी हँुदैन । तर यसले एक शब्दमा मुटु छेडिदिन्छ । सम्मानको सिंढी जुन चढिसक्नुभएको छ एकै क्षणमा अपमानित भई तल्लो धरातलमा आउन नपरोस् । आमा, दिदी मात्र हैनन् बुहारी श्रीमती पनि महिला हुन् । कसैलाई होच्याउने अधिकार कहाँ छ र ? बरु सक्छौं सम्मान गरौं । नसके अपमान त नगरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np