Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

मुलुकी ऐन परिवर्तनको खाँचो छ

         ||   194 Views   ||   Published Date : 27th July 2015 |

मुलुकी ऐन परिवर्तनको खाँचो छ

DSCN0596 (1)
मेनुका थापा
अध्यक्ष रक्षा नेपाल
मेनुका थापा सशक्त महिला अधिकारकर्मीको नाम हो । गणेशस्थान– ५ काभ्रेमा जन्मिएकी थापा रक्षा नेपाल नामक गैरसरकारी संस्थाकी अध्यक्ष हुनुहुन्छ । महिलाहरुमाथि भइरहेका यौन हिंसा विरुद्ध सशक्त अभियान सञ्चालन गरेर पीडितको पीडामा मलम लगाउने कामले उहाँलाई सबैका माझ
चिनाइदिएको छ । महिलाहरुमाथिको यौन हिंसा, बलात्कार सम्बन्धी कानुन संशोधन र सामाजिक जागरण लगायतका विषयमा समरेखा म्यागजिनका लागि मेनुका थापासँग गरिएको कुराकानीको सम्पादित अंश
१. बलात्कारपछि मृत्युवरण गर्न बाध्य भएकी नाबालिका पूजा शाहको मुद्दामा अदालतले गरेको फैसलालाई कसरी लिनुहुन्छ ?
सम्भवत नेपालको इतिहासमै, बलात्कार भएको छोटो समयभित्र अर्थात २५ दिनमै अपराधीलाई फैसला सुनाएको यो पहिलो घटना होला । वर्तमान कानुनी व्यवस्थाअनुसार कानुनविदहरुले यसलाई हदैसम्मको (म्याक्सिमम) कारवाही हो भनेका छन् । यो ऐतिहासिक भए पनि, हदैसम्मको भए पनि यसले पीडितलाई खासै न्याय दिए जस्तो मलाई लागेन न त पीडितको परिवारले यो फैसलाबाट केही राहत महसुस गरेका छन् । तसर्थ यो अधुरो अपूर्ण फैसला हो । यो बाट हामी खुसी छैनौँ ।
२. बलात्कारीलाई मृत्युदण्डको सजायको माग गर्दै सडक तताउनु पनि भयो । बलात्कार मुक्त समाज निर्माणको सामाजिक संघर्षको नारासहित बारामा भएको संघर्षलाई अन्य क्षेत्रका महिला अधिकारकर्मीहरुले पनि ऐक्यवद्धता जनाए । बलात्कारविरुद्धको आवाज लागू गर्न यी आवाज कति पर्याप्त छन् ?
बलात्कार भनेको एकाइसौँ शताब्दीको कलंक हो । झन यो त पुरुषको लागि ठूलो च्यालेन्ज हो । बलात्कार खासमा पुरुषहरुको समस्या हो । महिलाको समस्या हैन । हिंसा भन्ने कुरा कहीँ महिलाबाट पुरुषमाथि भएका छन् काँही पुरुषबाट महिलामाथि भएका छन् तर बलात्कार भन्नेबित्तिकै सबैको मानसपटलमा एउटा विकृत मानसिकता भएको पुरुषकै आकृति आउने भएकोले जबसम्म पुरुषहरुले यो विरुद्ध आवाज उठाउने जमर्को गर्दैनन्, तबसम्म अन्य आवाजहरु सडकमै बिलाउँछन् । यो पुरुष प्रधान समाजमा पुरुषको आवाज निर्णायक बन्ने हुनाले पनि पुरुषको ऐक्यबद्धता साथै पुरुषको गम्भीरता बिना बलात्कार विरुद्धको आवाजहरु सुनिन्छ जस्तो लाग्दैन ।
३. बलात्कारसम्बन्धी कानुन परिमार्जनका लागि निरन्तर आवाज उठिरहेको देखिन्छ । २÷३ वर्षअघिदेखि महिला मानव अधिकार रक्षक सञ्जालले देशव्यापीरुपमा यो आवाज उठाइरहेको छ । यसमा पनि नैतिकरुपले ऐक्यवद्धता जनाउनेहरु धेरै नै देखिन्छन् । सबै एक ठाउँमा आएर एकैपटक आन्दोलनलाई निर्णायक गराउन सकिँदैन ?
महिला मानब अधिकार रक्षक सञ्जाल लगायत अन्य सामाजिक संघसस्थाले देशव्यापीरुपमा चलाएका अभियानहरु सराहनीय छन् । सामाजिक संघसंस्थाले अभियान थालनी मात्रै गर्न सक्छ निर्णायक भूमिका त सरकारकै रहन्छ । अझ स्रोत र साधन जति सरकारमा निहित भएको हाम्रो देशमा बिना स्रोत र साधनद्वारा स्वतः स्फुर्तरुपमा बुलन्द भएका आवाजहरु, ऐक्यवद्धताहरुलाई कार्यान्वयन गर्न त सरकारको साथ सहयोग र गम्भीरताबिना सम्भव हुँदैन । तर यदि सरकारले गम्भीर भएर बलात्कारसम्बन्धी वर्तमान कानुनी प्रावधानलाई परिमार्जन गर्न चाहन्छ भने त्यो मिनेटभरकै कुरा हो । त्यति ठूलो केही छैन मात्र नीति निर्मातामा चेत हुनु प¥यो । कार्यप्रति उत्सुकता र दक्षता हुनुप¥यो । १ सय ५१ वर्ष पुरानो मुलुकी ऐन कानुन परिमार्जन हैन परिवर्तनको जरुरी छ ।
४. चार दिनमा दुई बलात्कृत भइरहेका दुःखद समाचार सुनिरहँदा पनि आमरुपमा मानिसहरु किन जाग्न नसकेका होलान ?
आजको नेपाली समाज साँच्चै भन्नुपर्दा मानसिक रोगी भएको छ । यहाँ कसैलाई केही आपत विपत प¥यो भने खासै कसैको ध्यान जाँदैन । जसलाई प¥यो उसैलाई मात्र परेको जस्तो हुँदोरहेछ । सबैभन्दा प्रमुख कुरा त महिलालाई हाम्र्रो समाजले अहिलेसम्म पनि दोस्रो दर्जाको नागरिकझैँ व्यवहार गरेको छ । कागजमा र भाषणमा महिला समानता तथा अधिकारका जतिसुकै चर्को बहस भए पनि व्यवहारमा प्रत्येक परिवारमा महिलाको अवस्था दोस्रो दर्जाकै छ । यसर्थ पनि महिला हिंसा बलात्कार भन्ने कुरा
पहिलो प्राथमिकतामा पर्न सकिरहेको छैन । सडकदेखि सदनसम्म पुरुषकै बाहुल्यता छ । आधा धर्ती ओगटेर बसेका महिला पुरुषको अधिनमा बस्न विवश छन् । एकाध पुरुषलाई छोडेर अधिकांश पुरुष महिला हिंसा निर्मूल पार्न मनैदेखि तयार छैनन् । झन सरकार त अलिकति पनि चाहँदैन । त्यसैले यो बलात्कार नामक जघन्य
अपराध मानिसहरुको प्राथामिकतामा परेकै छैन् र आमरुपमा मानिसहरु जाग्न तथा हिंसा निर्मूल पार्नमा लाग्न सकिरहेका छैनन् ।
५. यौन हिंसाविरुद्ध तपाईंले काम गरिरहनुभएको छ । महिलाहरु यतिधेरै यौन हिंसाबाट पीडित हुनुको कारण के के देख्नुहुन्छ ?
यो १२ वर्षको मेरो कार्य अनुभवले महिलाहरुमाथि यौन हिंसा हुनुको पछाडि विभिन्न कारण छन् भन्न सकिन्छ । सबैभन्दा प्रमुख कारण भनेको पुरुष प्रधान समाजमा घर परिवारदेखि नै महिलामाथि हुने दवाव वा विभेद प्रमुख कारक हो । चाहे छोरा होस् वा छोरी सबैजना नौ महिना गर्भमा बसेर यो धर्तीमा आएका हुन्छन् । जब उनीहरु धर्तीमा आउँछन् त्यही दिनबाट शुरु हुन्छ, लिङ्गको आधारमा भेदभाव ! हाम्रो केही सामाजिक मान्यताले पनि महिला र पुरुषमा विभेद गरेको छ । बच्चैदेखि छोरालाई बाहिरी दुनियासँग लड्ने स्वतन्त्रता दिइन्छ तर त्यही घरमा छोरीलाई भने घरको दैलो नाघेर आँगनसम्म पुग्न पनि परिवारको अनुमति चाहिन्छ । हाम्रो परिवारले छोराले यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भनेर सिकाउँछ तर के गर्न हुँदैन भनेर सिकाउँदैन । त्यस्तै छोरीलाई यसो गर्नुहुन्न, त्यसो गर्नुहुन्न भनेर सिकाइन्छ तर के गर्नुपर्छ भनेर सिकाइँदैन । फलस्वरुप छोरा मान्छेको कलिलो दिमागमा म त छोरा हुँ मैले जे गर्दा पनि हुन्छ भन्ने मानसिकताले झाङ्गिने मौका पाउँछ भने छोरीले म छोरी,
मैले केही गर्नुहुन्न वा गर्न सक्दिन भन्ने कुराले डेरा जमाएर बस्छ । त्यसैले पछि ती छोरा मैले जे गर्दा नि हुन्छ भन्ने मानसिकता बोकेकाले हिंसा गर्ने, बलात्कार गर्नेसम्म साेंच्छन् भने छोरीहरु आफू बलात्कृत हुँदा पनि मैले यो कसैलाई भन्न हुन्न, लुकाउनुपर्छ वा भने पनि मैले अपराधीलाई जित्न सक्दिन भन्ने कमजोर
मानसिकतामा बाँचेका हुन्छन् । यदि कसैले हिम्मत गरेर आफूमाथि भएको अन्यायको विरुद्धमा आवाज उठायो भने पनि ऊ एक्ली हुन्छे । यो पुरुष प्रधान समाजले उसलाई विचरी मात्र भन्छ, उसलाई साथ दिने, आत्मबल दिने काम गर्दैन । अर्को प्रमुख कुरा यौन हिंसा पीडितको लागि पीडितमैत्री न्याय प्रणाली छैन । दरिलो कानुनको अभावमा बढ्दै गएको दण्डहीनता हिंसाको अर्को कारण हो ।
६. नीति नियम नहुनु एउटा समस्या होला, तर महिलाविरुद्ध हुने हिंसाको सवालमा त भएका ऐन कानुन पनि त
कार्यान्वयन नभएको गुनासो आउने गरेको छ नि ।

हो । यो कुरा सत्य हो । पीडितले भोगेको सत्य गुनासोको रुपमा बाहिर देखिएको हो । ऐन कानुनको कार्यान्वयन नहुनुमा राजनीतिकर्ताको मुख्य दोष छ । जबसम्म नेपाली छोरी चेलीको अस्मिता राजनीतिकरण हुन्छ तबसम्म निर्दोष महिलाहरु जलिरहनेछन्, मरिरहनेछन् । त्यस्ता राजनैतिक दल वा व्यक्तिलाई फेरि, फेरि पनि भोट हालिरहने, जिताइरहने हामी जनता पनि कम दोषी छैनौ ।
७. महिला विरुद्धका हिंसा अन्त्य गर्न कहाँ कहाँ (नीतिगत, कार्यान्वयन तह, सामाजिक क्षेत्र ) के कस्तो समस्या छ ?
महिला विरुद्धको हिंसा अन्त्य गर्ने सवालमा नीतिगत तह सा¥है अव्यवहारिक छ । कार्यान्वयन तह एकदमै फितलो छ भने सामाजिक क्षेत्रमा हिंसा लुकाउने कल्चर छ । उदाहरणको लागि बलात्कारकै सवाल लिऔँ । बलात्कारमा ३५ दिनभित्र उजुरी दिनुपर्छ । ३५ दिन भन्दा ढिलो गरी आएको निवेदनउपर केही कारवाही हँुदैन । यो असाध्यै अव्यवहारिक छ । यसलाई सच्चाएर जहिले पनि उजुरी दिन सकिने प्रावधान राखिनु पर्छ । त्यस्तै कार्यान्वयन पक्षका प्रहरी र अदालतले बलात्कार जस्तो जघन्य अपराधलाई एउटा सामान्य चोरी जस्तो बुझेका छन् भने हाम्रो समाज सकेसम्म पैसा र पावरमा घटना मिलाउन खोज्छ । दबाउन खोज्छ । महिला हिंसा अन्त्यको जटिलता नै यही हो ।
८. कतिपय मानव अधिकारकर्मीहरुले मुत्युदण्डले कुनै न कुनै रुपमा हिंसालाई नै प्रवद्र्धन गर्छ भन्दै बलात्कारीलाई सर्वस्वहरणसहित जन्मकैदको सजायको वकालत गरिरहेको सुनिन्छ । तपाईंहरु बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्छ भन्नु हुन्छ किन ?
मृत्युुुदण्ड भनेको व्यक्तिगतरुपमा मेनुका थापाको एजेन्डा वा माग होइन । यो त तीन करोड जनता, जो समाजमा अमन चयन चाहन्छन् उनीहरुको माग हो । विशेषगरी पीडितको माग हो । मेरो साथ र समर्थन सधैं पीडितको पक्षमा भएको कारण
मैले मृत्युदण्डलाई जोड दिएको हुँ । म आवाजविहीनहरुको आवाज बनिदिएकी मात्रै हुँ । एउटी बालिका बलात्कृत हुन हुने, बलात्कारको पीडाबाट मर्न पनि हुने तर उसलाई मार्ने बलात्कारीले छाती फुलाएर बाँच्न पाउनु पर्छ भन्ने वकालत मलाई स्वीकार्य छैन । यो देश महिलाको होइन ? ऊ भयमुक्त वातावरणमा बाँच्न पाउनु पर्दैन ? मैले मृत्युदण्डको कानुन चाहिन्छ भन्नु भनेको म आफू स्वयं पनि फाँसीमा चढ्न तयार छु भनेको हुँ । किनभने भोलि मैले केही गल्ती गरें भने त मेनुका थापाको लागि भनेर त अर्को कानुन बन्दैन नि । तसर्थ बलात्कारीलाई मात्रै हैन चेलीबेटी बेचबिखन गर्नेलाई, भ्रष्टाचारीलाई, अपहरणकारीलाई र हत्यारालाई मृत्युदण्डको विकल्प छैन । मृत्युदण्डको कानुन बन्यो भने सबैभन्दा पहिला तिनीहरुले फाँसीमा चढ्नु पर्ने हुन्छ जो मानव अधिकारवादी हौँ भनिरहेका छन् । तसर्थ मैले मृत्यूदण्ड माग्दै गर्दा उनीहरु तर्सिएर मानव अधिकारको बर्खिलाप भयो भनेका हुन् । नत्र डराउन पर्ने, आत्तिनुपर्ने कारण छैन । सबैलाई झुण्ड्याउने भनिएको होइन तर जसले गल्ती गरेको छ ऊ चाहे धनी होस् वा नेता होस् वा अधिकारकर्मी होस् उसलाई बाँच्ने अधिकार छैन । यस्ता अपराधीहरु मानव हैनन् दानव हुन् । दानवलाई त द्वापर युगमा भगवान् रामले पनि मारेकै हुन्, त्रेता युगमा कृष्णले पनि दानव रुपी आफ्नै मामा कंशलाई मारेकै हुन् भने यो कलियुगमा पनि मानवरुपी दानव बलात्कारीलाई मार्न हुन्छ । कानुनले फाँसीको सजाय नबनाए पनि एक दिन पीडित छोरीले नै त्यस्ता अपराधीलाई मारिदिनेछन्, मार्नुपर्छ पनि ।
९. लैंगिक समानता र सामाजिक न्यायका लागि यतिधेरै संघसंस्थाले काम गरिरहेका छन् । सरकारले पनि गरिरहेको दाबी गरिरहेकै छ । सरकारी गैरसरकारी दुबै क्षेत्रले यसमा लगानी पनि गरेकोजस्तो देखिन्छ तर अपेक्षित परिणाम किन नआएको होला ?
सबैले गरिरहेकै छन आ—आफ्नो ठाउँबाट । तर  सरकारबाट चाँहि जे जति गरिनु पर्ने हो त्यो भएको छैन । कागजी रुपमा भएर हुन्न । व्यवहारमा धेरै कमीकमजोरी छन् ।
एनजीओले देश विकास हुने भए सबैभन्दा एनजिओ÷आइएनजिओ हाम्रै देशमा छन् । देश अमेरिका जस्तो, यूरोप जस्तो सम्पन्न हुनुपर्ने होइन र ? सामाजिक संघसंस्थाले विषय उठान मात्र गर्न सक्छ । एउटा अभियान मात्रै थालनी गर्न सक्छन् तर त्यसलाई ठोस दिसातर्फ लैजान वा शतप्रतिशत परिणाम आउन त सरकारकै नेतृत्वको जरुरी छ । सरकारले एनजीओ चलाउनु पर्छ । एनजीओले सरकार चलाउने होइन । हाम्रो देशमा सरकार र एनजीओबीच समन्वय हुन नसक्दा र सरकारले कडारुपमा सबैको काम कारवाही निष्पक्ष अनुगमन÷मूल्यांकन गर्न नसक्दा समाजमा खासै परिणाम नदेखिएको हो ।
१०. महिला अधिकारको सवालमा राजनीतिक पार्टीका महिला संघसंगठनहरु र सामाजिक संघसंस्थाबीचको पर्याप्त सहकार्य नहुँदा परिणाम आएन भन्ने पनि छ नि ? सहकार्य के कस्तो छ ?
हामी नेपालीको कल्चर नै खराब छ । यहाँ सबैलाई ठूलो बनिनुपर्छ । सबैलाई कुर्सी चाहिएको छ । एउटाले भनेको कुरा अर्कोले स्वीकार्न नसक्ने, अर्कोले भनेको अर्कोले नस्वीकार्ने दीर्घरोगले गर्दा स्वस्थ्य काम हुन नसकेको हो । राम्रो कामको लागि सबैजनाको एउटै स्वर हुनुपर्नेमा सबैलाई म ठूलो हुँ भन्ने मानसिक रोगले ग्रस्त पारेको छ । समग्र महिलाको मुद्दामा एकजुट हुनुपर्ने बेलामा कुन पार्टीको महिला भनेर पार्टीमा विभक्त हुँदा समग्र महिला आन्दोलन थलिएको छ ।

 

११. मुलुकमा राजनीतिक संक्रमण गहिरिँदै छ । यो संक्रमणकाल लम्बिँदा यसबाट सबैभन्दा बढी प्रभावित महिला र बालबालिका नै भएका छन् । यो संकट निवारणका लागि तपाईंहरुजस्तो व्यक्तिको भूमिका के हुन सक्छ ? त्यो भूमिका निर्वाहमा भइरहेको छ ?
म यो देशको एक नागरिक हुँ र यो देश मेरो पनि होे । तसर्थ यो मुलुकले हार्दै गर्दा मैले पनि हार्नुपर्छ । अहिले मुलुक संक्रमणकालमा भएको कारण यो देशका जनता पनि विभिन्न समस्याले संक्रमित भएका छन् । संक्रमण भन्ने कुराले जहिले पनि कमजोरलाई प्रभाव पारेको हुन्छ । हाम्रो देशमा महिला र बालबालिकालाई पुरुषप्रधान समाजले कमजोर बनाएको कारण उनीहरु नै बढी प्रभावित भएका छन् । यो संकट निवारणको लागि म एक जना व्यक्तिको प्रयास समुन्द्रमा थोपाको केही प्रभाव नदेखिए जस्तै हो । तसर्थ हामी सबै सचेत र विवेकशील नेपालीको उत्तिकै दायित्व छ ।

१२. रक्षा नेपाल कस्तो संस्था हो ? यसको स्थापना किन र कसरी गर्नुभयो ? यसले के कस्तो काम गरिरहेको छ ?
रक्षा नेपाल हजारौं सामाजिक संस्थाको भीडमा आफ्नो छुट्टै पहिचान बोकेको विशुद्ध सामाजिक संस्था हो । जसले पहिलोपटक क्याविन, रेष्टुरेन्ट, डान्सबार, मसाज व्यवसायका नामबाट निर्दोष किशोरीमाथि हुने गरेका यौन शोषण, शारीरिक शोषण, मानसिक शोषण एवं आर्थिक शोषणका विरुद्ध सशक्त आवाज उठाएको थियो । यौनजन्य हिंसा एवं वाध्यात्मक देहव्यापार निर्मूृल पार्नको लागि भनि यो संस्था स्थापना गरिएको हो र यसले यौनजन्य हिंसा, बलात्कार एवं बाध्यताले शरीर बेच्न बिवश महिला र तिनका सन्तानको हितमा काम गर्छ । विभिन्न तालिममार्फत उनीहरुलाई सशक्त पार्दै यो समाजमा सबल नागरिकको रुपमा जिउन सिकाउँछ ।
विशेषगरी रक्षा नेपालको अभियान आमा बचाउने अभियान हो । एउटी आमा बाँच्नु भनेको ऊप्रति आश्रित सन्तान बाँच्नु हो । आमा आर्थिक, मानसिक र शारीरिक रुपमा बलियो बन्नु भनेको उसको सन्तान पनि भविष्यमा कुनै पनि हिंसाविरुद्ध लड्न सक्ने क्षमतावान हुनु हो ।
१४. काम गर्दा के कस्ता चुनौतीहरु आइपरे ?
यौनको विषयमा बोल्न समेत हिच्किचाउने नेपाली समाजमा यौनजन्य हिंसा पीडितको पक्षमा काम गर्नु नै फलामको चिउरा चपाउनुसरह हो । यति धेरै सामाजिक संस्थाको भीडमा रक्षा नेपाल पनि एक संस्था नै भएकोले कतिपय मान्छेले हाम्रो कामलाई अन्दाज पनि गर्न सकेका छैनन् । अर्को कुरा भनेको जो पीडक हुन्छ, त्यो जहिले पनि समाजमा रवाफ भएको, पैसा, राजनीति पावर भएकै हुन्छ । पीडितको सुरक्षाकवच हामी हांै भन्ने ठानेर हामीलाई धम्क्याउने, डर देखाउने गर्छन् । त्यो अर्को चुनौती हो भने पीडकलाई राजनीतिक संरक्षण हुनु सबैभन्दा प्रमुख चुनौती हो । हाम्रो जस्तो देश जहाँ हरेक चिजमा राजनीतिकरण हुन्छ, त्यो देशमा गैरराजनीतिक भएर सामाजिक काम गर्नु खतरासँग खेल्नु हो ।
१५. आफ्नो काम प्रति के कति सन्तुष्ट हुनुहुन्छ ?
यतिधेरै चुनौती र अप्ठ्याराका बाबजुद पनि संस्थालाई सफलतापूर्वक ११ औँ वर्षमा ल्याउन सकियो । यो सबै शुभचिन्तक सम्पूर्ण नेपालीको माया, सहयोग एवं यौनजन्य हिंसा पीडितको आशीर्वादले गर्दा हो । आज मेरो जुन बाटो छ, त्यो म स्वयंले नै रोजेको बाटो भएको कारण म आफ्नो कामप्रति एकदमै सन्तुष्ट छु । ११ वर्ष अगाडि यौनजन्य हिंसाको विषयमा बोल्ने म मात्रै थिएँ । अहिले हजारौं हुनुहुन्छ अनि त्यतिबेला मैले बलात्कारीलाई मृत्युदण्डको सजायको सवाल उठाउँदा आफ्ना साथीभाइले नै मलाई बोल्न नमिल्ने कुरा बोलेको भन्थे तर आज उनीहरु पनि मसँगै लाइनमा छन् ।
१६. अन्तमा समरेखा म्यागजिन मार्फत केही भन्न चाहनुहुन्छ ? मैले छुटाएको तपाईंलाई भन्न मन लागेको केही भए थप गरिदिन सक्नुहुन्छ ।
अत्यमा, विगतदेखि वर्तमानसम्मका सबै कुराहरु राख्ने मौका दिनुभएकोमा समरेखा म्यागजिन परिवारलाई हार्दिक धन्यवाद छ । विशेषगरी यो म्यागजिनमार्फत म एउटै कुरा भन्न चाहन्छु कि यौनजन्य हिंसा बलात्कारको उत्पादन हाम्रै समाजमा भएको हो । पीडक पनि नेपाली हुन् र पीडित पनि नेपाली हुन् । तसर्थ समस्या निम्त्याउने हामी हौँ भने समाधान पनि हामीले नै गर्नुपर्छ । समस्या जन्माउनेले समाधान गर्न पनि सक्नुपर्दछ । जे परे पनि विदेशीलाई गुहार्ने हाम्रो एकदमै नराम्रो कल्चर बस्दै गएको छ । यसप्रति हामी विवेकवान सम्पूर्ण नेपाली सजक हुनुपर्छ । बलात्कार जस्तो २१ औँ शताब्दीको नेपाली समाजको कलंकलाई जरैदेखि उखेलेर फाल्न सकिन्छ । त्यसको लागि सम्पूर्ण पुरुष वर्गले आफूलाई नौ महिना गर्भमा बोकेर आफूलाई धर्तीमा ल्याएकी र छाती चुसाएर सास भरेकी आमालाई बचाउने हिम्मत देखाउनु पर्छ । महिला भनेकै कसै न कसैको आमा हुन् । ती आमा अकालमा मरे भने पुरुषहरुले यो सुन्दर संसार कसरी हेर्न सक्छन् ? त्यस्तै महिलाले अपराधीलाई अपराधीकै नजरबाट हेर्ने हिम्मत गर्नुपर्छ । कुनै पनि बलात्कारी कसैको श्रीमान् वा बुबा वा दाजु वा भाइ हुन सक्दैन । उसलाइ अपराधी नै भन्नुपर्छ । बलात्कार विरुद्ध प्रतिकारमा उत्रने वा
सामाजिक बहिष्कार गर्ने संस्कारको विकास भएमा यौनजन्य हिंसाको जरो उखाल्न हामी आफैँ सक्षम छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np