Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

मिडियाले समतामूलक समाज निर्माण गर्ने ताकत राख्छ

         मञ्जु थापा ||   251 Views   ||   Published Date : 27th June 2016 |

Manju thapa मिडिया समाजको ऐना हो । समाज जस्तो छ त्यस्तै प्रतिरुप मिडियामा प्रतिबिम्बित हुने गर्छ । तर यथार्थमा मिडिया समाजको ऐना मात्रै होइन । मिडिया विश्लेषक मञ्जु थापाको भनाइमा मिडिया त समाजको पथ—प्रदर्शक पनि हो । उनका अनुसार मिडियाले यथार्थको प्रतिनिधित्व मात्र गर्दैन । यसले त आफूले देख्न चाहेको जस्तो संसार र भोलिको समाजको पुनः निर्माण पनि गर्छ ।

मिडियाको मुख्य जिम्मेवारी समाचारको माध्यमबाट सूचना प्रवाह गर्नु नै हो । मिडियाले सूचना प्रवाहसँगै शिक्षा र मनोरञ्जन पनि प्रदान गर्दछ । मिडियाले निरन्तर रुपमा प्रदान गर्ने सूचना, शिक्षा र मनोरञ्जनले प्रस्तुत विषयका सन्दर्भमा आम नागरिकको विचार निर्माण भैरहेको हुन्छ भने कतिपय सन्दर्भमा उनीहरुको सोंच धारणा विनिर्माण र पुर्ननिर्माण पनि भइरहेको हुन्छ । कुनै पनि विषयको पक्ष र विपक्षमा जनमत निर्माण भइरहेको हुन्छ । मिडियाबाट प्रवाह हुने विषयवस्तुले आम मान्छेको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषक थापाको अनुसन्धान र अनुभवले पनि देखाउँछ ।

मञ्जु थापा पत्रकार एवं महिला अधिकारकर्मी हुन् । २०४६ सालयता उनले मिडिया र महिला अधिकारका क्षेत्रमा प्रशस्त कलम चलाएकी छन् । खासगरी मिडिया र महिला सम्बन्धी विभिन्न विषयवस्तुमा अनुसन्धान, लेखन एवं प्रशिक्षणमा उनको विशेष रुची छ र योगदान छ । उनका कामले मिडियालाई लैंगिक दृष्टिकोणबाट अनुगमन, लैंगिक मैत्री मिडियाको वकालत र मिडिया उपभोक्ता आम नागरिकलाई जागरुक बनाई लैंगिक समानतामूलक समाज निर्माणको बाटो देखाउने काम गरेका छन् ।

मिडियाबाट प्रवाह हुने सबै सञ्चार सामग्रीहरु निश्चित छनौट प्रक्रियाको बाटो भएर आउँछन् । यो छनौट प्रक्रिया सँधै तटस्थ र बस्तुगत मात्र हुँदैन । समाजमा र देशमै भइरहने थुप्रै घटना परिघटनाको बीचबाट मिडियाकर्मीहरुले जसलाई बढी महत्वपूर्ण देख्छन् त्यसैलाई टिपेर प्रस्तुत गर्छन् बाँकी घटना परिघटना त्यसै हराएर जान्छन् । त्यसैले समाचार छनोट, संकलन, सम्पादन र सम्प्रेषणमा मिडियाकर्मीको माइन्ड सेट (बुझाई र दृष्टिकोण)ले निकै ठूलो भूमिका निर्वाह गरेको हुन्छ । त्यसैले सञ्चार सामग्री उत्पादन एवं सम्प्रेषणमा खट्ने मिडियाकर्मीको बुझाई दृष्टिकोण लैंगिक मान्यताप्रति सही हुनसक्ने हो भने समानतामूलक समाज निर्माणको महाअभियानले छिट्टै व्यवहारिक रुप धारण गर्न सक्छ भन्ने कुरा बुझाउन थापाले व्यक्तिगत र संस्थागत रुपमा धेरै काम गरेकी छन् ।

खासगरी महिलाका सन्दर्भमा  मिडियाको प्रस्तुती, तिनले महिलामा र सिंगो समाजमा पार्ने प्रभावको बारेमा मिडिया सामग्रीको विश्लेषण गरेर पुस्तकहरु प्रकाशित गरेकी छन् । ‘सञ्चारमा नियाल्दा महिला’ उनको यस्तै विश्लेषण समेटिएको पुस्तक हो । त्यस्तै ‘पत्रकारितामा महिला प्रश्न’ लैंगिक दृष्टिकोणबाट सञ्चार सामग्रीलाई चिरफार गर्दै लैंगिक समानता प्रवद्र्धनमा भइरहेका कमी कमजोरी र ती कमजोरी सच्याउँदै समानतामूलक समाज निर्माणमा मिडियाबाट गर्न सकिने योगदानकाबारेमा खोजी एवं प्रशस्त उपाय सुझाइएको महत्वपूर्ण पुस्तक हो । अस्मिता महिला प्रकाशत गृह सञ्चार तथा स्रोत संस्थाको प्रकाशन उक्त पुस्तक अञ्जु क्षेत्री, सरोज पन्त र मन्जु थापाको संयुक्त लेखन हो । त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर मञ्जु अस्मिता प्रकाशन गृहकी कार्यकारी निर्देशक पनि हुन् । यी पुस्तकका अलावा उनको सम्पादनमा आएको ‘रुपान्तरणमा महिला’ महिलाको अवस्था विश्लेषण गर्दै वर्तमानका आवश्यकताबारे चर्चा गरिएको अनुसन्धनात्मक पुस्तक
हो । त्यस्तै गुल्मीदेखि राजनीतिमा लागेर केन्द्रीय नेतासमेत भइसकेकी आफ्नी आमा ईश्वरादेवी थापाको जीवनका केही साहसिक कथा र केही पीडादायी व्यथाहरु समेटेर उनले पुस्तक नै लेखेकी छन् —जीवन संघर्षका पलहरु । ‘जीवन संघर्षका पलहरु’मा मञ्जुले आमा ईश्वरादेवी थापाको जीवनकथासँगै नेपाली महिला आन्दोलनको एउटा पुस्ताको सिंगो इतिहास समेटेकी छन् ।

मिडियाका आम उपभोक्तालाई यसबाट प्रवाहित हुने विषयवस्तुप्रति सचेत र जागरुक बनाउन अस्मिताले १० जिल्लामा चलाएको सञ्चार साक्षरता अभियानको संयोजकका रुपमा थापाले नेपाली मिडियाको लैंगिक दृष्टिकोणबाट विश्लेषण गर्ने कामलाई देशका विभिन्न जिल्लामा विस्तार गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरिन् । त्यस्तै उनीसँग सन् २०१० मा विश्वव्यापी रुपमा गरिएको मिडिया अनुगमन जिएमएमपीको नेपाल संयोजकको रुपमा र भारतीय मिडिया अनुगमन र विश्लेषण गरेको अनुभव छ । थापाले रेडियो म्यागजिन उत्पादन, विभिन्न डकुमेन्ट्रीहरुको निर्देशन तथा स्क्रिप्ट लेखन, पुस्तक तथा पत्रपत्रिका सम्पादन गरेकी छन् । उनले हुम्लामा जारी प्रथा, चेलीबेटी बेचबिखनविरुद्ध सञ्चार सक्रियता, टेलिभिजनले नेपाली महिलामा पारेको प्रभाव, नेपाली मिडियामा प्रजनन स्वास्थ्यसम्बन्धी कभरेजको अवस्था, मिडियामा लैङ्गिक समानता र पत्रकार महिलाको सुरक्षा, राजनीतिक विद्यार्थी र युवा संगठनमा लैंगिक समानतालगायतका १६ बढी विषयमा अनुसन्धान गरेकी छन् ।

अहिले लोकतन्त्रलाई दिगो र संस्थागत गर्ने सन्दर्भमा सबै तह र तप्काका जनताको न्यायपूर्ण र समानुपातिक प्रतिनिधित्वका लागि समावेशी चरित्रको शासनपद्धति हुनुपर्ने आवाज उठिरहेको छ । शासन प्रणालीदेखि राज्य र समाजका सबै संरचनाहरूमा महिलाको समानुपातिक प्रतिनिधित्व र स्वतन्त्र पहिचानको मागलाई राज्यको पुनर्संरचनाले सम्बोधन गर्नुपर्ने आवाज उठिरहेको छ । यो आवाजलाई संबोधन गराउने राजनीति क्षेत्रमा महिलाको उपस्थिती कस्तो छ त ? मन्जु थापाले हालै (सन् २०१५) मा गरेको अध्ययनले नेपालका राजनीतिक दलहरूको वर्तमान केन्द्रीय तहमा सबैभन्दा बढी महिला सहभागिता भनेको केवल २० प्रतिशत मात्रै रहेको देखाएको छ । औसतमा भन्दा यो प्रतिशत करिब पन्ध्र (१४.८६%) मात्रै छ । चिन्ताजनक कुरा त यो छ कि चार वर्ष पहिलेको तुलनामा महिलाको सहभागिता एक प्रतिशत घट्दो छ । सन् २०११ मा जागरण नेपालले गरेको सर्भे अनुसार राजनीतिक पार्टीको केन्द्रीय तहमा महिला सहभागिता १६ प्रतिशत रहेको थियो । यसरी राजनीतिक दलको केन्द्रीय नेतृत्वमा महिला सहभागिता बढ्दै जानुको सट्टा घट्नु भनेको यस मामिलामा दलीय प्रतिबद्धता झन् शिथिल हुँदै गएको उनको अनुसन्धानले देखाएको छ ।

लैङ्गिक समानतायुक्त र न्यायपूर्ण समाजको स्थापनाका लागि मिडियाको पुनर्निर्माण गर्न सक्ने शक्तिको अत्यन्त ठूलो महत्व छ । यही कारणले सन् १९९५ बेइजिङमा सम्पन्न चौथो विश्व महिला सम्मेलनमा मिडियालाई महिला अग्रगमनका लागि एक प्रमुख क्षेत्रका रूपमा पहिचान गरी विभिन्न रणनीतिहरू तय गरिएको थियो । तर रणनीति कार्यान्वयनका सन्दर्भमा रहेको उदासिनताले अपेक्षित सफलता हासिल हुन सकेको छैन । एक वर्ष अघिमात्रै सन् २०१४ थापाकै नेतृत्वमा गरिएको मिडिया अनुगमनले मिडियामा आउने कुल सामग्रीमध्ये लैङ्गिक समानता वा सो सम्बन्धी नीति निर्माणसँग सम्बन्धित विषयसम्बन्धी सामग्री एक प्रतिशत (केवल ०.९% मात्र) पनि नआएको देखायो । चार अंग्रेजी र दश
नेपाली राष्ट्रिय दैनिक पत्रिका, चार रेडियो र चार टेलिभिजन च्यानलका ४ हजार २ सय १९ मिडिया सामग्रीको लैङ्गिक दृष्टिकोणबाट अनुगमन गरिएको थियो । ती सामग्रीका अन्तर्वस्तुको विषयका रूपमा उल्लेखित व्यक्तिहरू कुल १७ हजार ७ सय २३ जना भएकोमा महिला ७.७ % र पुरुष ९०.४% छन् । महिला १ हजार ३ सय ६२ जना (७.७%) र पुरुष १६ हजार २५ जना (९०.४%) रहेको देखिन्छ भने ३ सय ३६ जनाको सम्बन्धमा लैङ्गिक पहिचान स्पष्ट हुन नसकेको वा सान्दर्भिक नभएको अवस्था छ ।

त्यसो त पछिल्लो समयमा मिडियामा महिलाका प्रत्यक्ष सरोकार रहने विषयवस्तुहरुले ठाउँ पाउन थालेको छन् । महिलामाथि हुने हिंसाको
कभरेज मिडियाको प्राथमिकतामा पर्न थालेका छन् । नगण्य रुपमा भए पनि  महिलाले परम्पराभन्दा फरक धारमा निर्वाह गरेका भूमिकाहरु सार्वजनिक हुन थालेका छन् । तर यतिले नपुग्ने थापाको भनाई छ । मुख्यगरी राजनीतिक समाचारमा महिलालाई बहिस्करण गर्ने विद्यमान प्रवृत्तिले महिलालाई राजनीति र अन्य सामाजिक क्षेत्रबाट अदृश्य बनाउँदै लग्ने खतरा बढीरहेको मिडिया विश्लेषक थापाको बुझाई छ ।
‘लैङ्गिक समानता सुनिश्चित हुनुपर्ने सबै क्षेत्रहरूमा पनि राजनीति थप निर्णायक र महत्वपूर्ण क्षेत्र हो । वर्तमान नेपालमा राजनीतिक
क्षेत्र, बहस र सवालहरूलाई मुखरित गर्ने तथा दिशानिर्देश गर्ने सबैभन्दा  चलायमान एवं प्रभावकारी माध्यम मिडिया हो ।’ थापा भन्छिन्, ‘मिडियामा पहिलो स्थान ओगट्ने राजनीतिक समाचार, विचारमूलक बहस र प्रस्तुति तथा सम्पादकीय जस्ता सामग्रीहरूले समसामयिक एजेन्डा तथा सामाजिक राजनीतिक प्राथमिकताक्रम निर्धारण गर्ने भएकोले यी विधाहरूमा महिलाको चित्रण, विचार, अनुभव, भूमिका,
महिला आन्दोलनका एजेन्डाहरूको बहिस्करण भनेको सिङ्गो महिला अधिकार आन्दोलन र लैङ्गिक समानताको आन्दोलनलाई प्रभावित गर्ने पाटो हो ।’

मञ्जु थापाको विचारमा राजनीति र सञ्चार क्षेत्र लैंगिक समानता र महिला सशक्तिकरणमा सबैभन्दा बढी भूमिका निर्वाह गर्नुपर्ने क्षेत्र हुन् । राजनीतिले नीतिगत रुपमा समस्याको संबोधन गराउन र मिडियाले त्यसका पक्षमा जनमत निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न
सक्छन् । यी दुई क्षेत्रले लैंगिक समस्यालाई सही रुपमा बोध गरेर क्रियाशील हुने हो भने सिंगो समाजलाई लैंगिक विभेदमुक्त बनाउन गाह्रो छैन । यसको लागि सबैभन्दा बलियो कडी एउटै छ सञ्चार सामग्री तयार गर्दा र प्रस्तुत गर्दा त्यसले पार्ने दुरगामी प्रभावबारे सचेत बन्ने । सचेतता पूर्वक तयार पारिएका सञ्चार सामग्रीले समाजलाई सही दिशामा अघि बढाउन मद्दत गर्छन् । त्यस्तो सचेतता बढाउन सञ्चार सामग्री उत्पादकलाई तालिम दिने । उद्योगको रुपमा स्थापित हुँदै गएको मिडियालाई उसका सामाजिक उत्तरदायित्वबोध गराउने । हरेक परिवार, समाज र देशका प्राथकिताहरु स्थापित गर्ने सवालमा मिडियाको भूमिका र दायित्वका सन्दर्भमा मिडिया उपभोक्ता नागरिकलाई मिडियाप्रति सचेत, जागरुक बनाउँदै लैंगिक संवेदनशील सामग्री प्रवाहमा जोड दिन लगाउने । समाजमा विद्यमान लैंगिक विभेदविरुद्ध क्रियाशील अभियन्ताहरुले मिडियासामग्रीप्रति चासो सरोकार राख्दै मिडियालाई लैंगिक संबेदनशील बनाउन सकारात्मक सहयोग गर्ने । थापा भन्छिन्, ‘लैंगिक संवेदनशील मिडियाले मात्रै समतामूलक समाज निर्माण गर्ने ताकत राख्छ ।’

प्रस्तुति : लक्ष्मी आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np