Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

आमा बन्दाको पीडा

         प्रस्तुती रचना सुवेदी ||   273 Views   ||   Published Date : 28th June 2016 |

Rachana subedi (2)‘तपाई बन्नुहुन्छ मेरो बच्चाको बुबा ? उनीहरुले दिने सवै पैसा हजुरलाई नै दिन्छु ।’
यो सम्वाद कुनै नाटक या फिल्मको नभई एक आमाले बच्चाको जन्म दर्ताको लागि सरकारी कार्यालयमा गरेका सम्वाद हो । लामो समयदेखि आफनो बच्चाको जन्म दर्ता गराउन नगरपालिका धाउन लागेकी घोराही नगरपालिका निवासी एउटी महिलाले कर्मचारी समक्ष गरेको सम्वाद हो यो । विगत पाँच वर्षदेखिको उनको प्रयास अझै सफल भएको छैन । अहिलेसम्म बच्चाको जन्म दर्ता बनाउन सकेकी छैनन् ।
एसएलसी पास गरी क्याम्पस पढन् थालेकी थिइन् । उनीको सँगै पढने गाउँको साथीसँग प्रेम भयो । दुवै जना खुशी थिए । दुबैले सल्लाह गरेर विवाह गरे ।
‘तर हाम्रो बिहे श्रीमान्को परिवारलाई स्वीकार्य भएन । त्यस पछि शुरु भए दुखान्त दिनहरु ।’ उनी भन्छिन्, ‘मलाई अस्वीकार गरेपछि परिवारका सदस्यको सहयोगमा मलाई बिहे गरेको एक महिना नबित्दै अर्को बिहे गर्नु भयो । बिहे दर्ता पनि गरी कानुनी मान्यता पनि दिनु भयो । परिवारको साथ लिएर मेरो श्रीमान्ले नै ममाथि घात गरे ।’
त्यसपछि उनलाई शारिरीक र मानसिक यातना दिन शुरु गरियो । माइतीले पनि आफैले रोजेर बिहे गरेको भनी उनलाई वास्तै गर्न छोडे । बाँच्नु र मर्नुको दोसाँधमा पुगिन् । कयौ पटक त मर्ने प्रयास पनि गरिन् तर सफल हुन सकिन् । उनलाई घरमा साह्रै समस्या हुन थाल्यो । उनको अवस्थादेखि बुबा आमालाई दया लागेर स्वीकार गरे तर उनलाई स्वीकारेको निहुँमा दाजुहरुले अंश लिएर छुट्टिए । ‘मैले गरेको अपराधको सजाय मेरा बुबा आमा पनि भोग्न विवश हुनुहुन्छ ।’ माइतीको शरणमा पुगेकी उनले वताइन् ।
त्यतिबेला उनको गर्भ थियो । गर्भ रहेको कुरा मैले श्रीमान् लगायत परिवारका सदस्यलाई जानकारी गराएकी थिइन् । तर कसैले उनको कुरामा बिश्वास गरेनन । घरभित्र उनको कुरा विश्वास नगरेपछि न्याय खोज्न निस्किन् । समाजका भद्र भलाद्रमी ,राजनिती दलका प्रतिनिधी र परिवारका सदस्यहरुका बीचमा छलफल भयो । छलफलमा साप पनि मरोस लठ्ठी पनि नभाँचियोेस् भने जसरी केही पैसा दिएर मिलाउने निर्णय भयो । ‘मेरो श्रीमान्लाई कतैबाट अप्ठेरो नपर्ने गरी कुराकानी हँुदै थियो । सबैको नजरमा म मात्र दोषी थिएँ । अपराधै गरेको भए पनि म एक्लैले गरेको थिइन, हामी दुवैले गरेका थियौं । तर मेरो श्रीमान्को गल्ती परिवार र समाजलाई स्वीकार्य भयो, दोषी म मात्रै कहलिएँ ।’ उनी भन्छिन्, ‘गल्ती थियो भने दुवैले गरेका थियौं । दुवैको समान थियो श्रीमान् भागेकोले सबै माफ भयो मैले आफुले गरेको प्रेम स्वीकार गर्नु अपराध भयो । मेरो जीवनको निर्णय गर्दा मलाई कसैले सोधेन्न् म के चाहान्छु । त्यहाँ म एक वस्तु थिएँ । त्यहाँ मेरो मोलतोल हँुदै थियो । आफूले गरेको प्रेमको जिम्मेवारी नलिने मेरो श्रीमान्लाई कसैले प्रश्न गरेन ममाथि अपराधी जस्तो व्यवहार भयो ।’
हाम्रो समाजमा बुबा बिना एक्लै बच्चा जन्माउनु सजिलो कुरा होइन । बच्चा जन्माउँदा अस्पतालमा होस् या खोप लगाउँदा जहाँ पनि पहिले बुबाको नाम सोधिन्छ । बच्चा एक्लै हुर्काउनु पनि सजिलो कुरा होइन । ‘कति बिरामी प¥यो कयांै रात ननिदाएरै रात काटें, बच्चा ठूलो भयो बुवा खोई भन्छ । भन्न नसक्दा बिभिन्न थरीका आरोप र लाञ्छना मैले मात्र होइन मेरो परिवारले पनि कति खेप्नु पयो त्यसको कुनै लेखा जोखा नै छैन् ।’ पीडाको पोको फुकाउँदै उनी भन्छिन्, ‘ममाथि कस्ता प्रश्न सोधिन्न ? त्यो सबै म लाचार भएर सहन बाध्य छु । सहनुको बाहेक म सँग अरु केही पनि छैन । मानिस जीवनमा एक पटक जन्मन्छ र एक पटक मर्छ । म त आमा बनेकै कारण हजारांै चोटी मरेर बाँच्न विवश छु ।’
उनको छोरा पढन जाने भइसकेको छ अहिले । स्कूल भर्ना हँुदा पहिले नै जन्म दर्ता मागिन्छ । जन्म दर्ताको लागि उनले वडा कार्यालय र नगरपालिका धेरै चोटी धाइसकिन् । बच्चाको आमा एक्लै जाँदा पनि जन्म दर्ताको सूचना दर्ता हुनुपर्छ तर उनलाई पहिले बिहे दर्ता ल्याउन भनियो । सबै अवस्था जानकारी गराउँदा उनी उल्टै हाँसोको पात्र बनिन् । बिहे दर्ता नहुँदासम्म जन्म दर्ता नबन्ने त्यहाँका कर्मचारीले जहानकारी गराए । उनी निरास भई फर्किन् । अहिले अदालत वाट उनी र उनको बच्चाले अंश पाउने ठहर भएको छ । तर बिडम्बना अदालतको फैसला बोकेर बडा कार्यालय धाउन थालेको छ महिना बित्दासम्म उनको बच्चाको जन्मदर्ता हुन सकेको छैन । अदालतको फैसला उनको पक्षमा भए पनि जन्मदर्ता गरिदिने अधिकारीले कहिले श्रीमान्को नागरिकता त कहिले विवाह दर्ता त कहिले परिवारका मान्छे नआउँदै हँुदैन भनेर अल्झाईरहेका छन् ।
उनले श्रीमान्लाई सच्चा प्रेम गर्थिन् । तर श्रीमान्बाट माया त पाइनन् नै न्यूनतम साथ पनि पाइनन् । दुःख झेलेर कानुनी लडाई लडिन् । बच्चाको जन्म दर्ताको लागि श्रीमान् र परिवारका सदस्यलाई कैयांै पटक अनुरोध गरिन् । उनीहरुले नमानेपछि कानुनको सहारामा पुगिन् । अदालतको फैसला हुँदासमेत बच्चाको जन्मदर्ता गराउन सकिरहेकी छैनन् ।
सरकारले अहिले बालमैत्री स्थानीय शासन कार्यक्रम लागू गरिरहेको छ । घोराही नगरपालिका कार्यक्रम लागू भएको नगरपालिका पनि हो । हरेक बालबालिकाको जन्मदर्ता गर्नुपर्ने बालमैत्री स्थानीय शासनको महत्वपूर्ण सूचकको रुपमा मानिएको पनि छ । तर समस्यामा परेका बालबालिकाहरुको जन्मदर्ता हुन सकिरहेको छैन । अदालतले फैसला गरिदिएर कायम गरिदिएको हकसमेत नदिने ठाउँमा पीडित महिलाले कसरी न्याय पाउलान् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np