Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सामन्तवादका अवशेषहरु नष्ट गर्न सकिएन

         ||   235 Views   ||   Published Date : 21st July 2016 |

रेखा शर्मा

नेपालको राजRekha Sharmaनीतिक क्षेत्रमा रेखा शर्मा जुझारु, संघर्षशील महिला नेताको नाम हो । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय शर्मा मुलुकमा भएको जनयुद्धको दौरान हिरासतमा निकै यातना भोगेको व्यक्ति हुनुहुन्छ । दोश्रो संविधानसभामा समानुपातिवाट सभासद बन्नुभएकी शर्मा एकीकृत माओवादीका सचेतक पनि हुनुहुन्छ । महिला हक अधिकारका दृष्टिले नयाँ संविधानका सबल र दुर्बल पक्षमा केन्द्रीत भएर समरेखाको यो अंककालागि हामीले शर्मासँग कुराकानी गरेका छौं । सम्पादक

१ लैङ्गिक दृष्टिकोणले हेर्दा नेपालको संविधान २०७२ का सवल पक्ष के के हुन् ?

नयाँ संविधानमा संघीय संसद र प्रदेश सभामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुनु, स्थानीय प्रदेशमा ४० प्रतिशतको व्यवस्था हुनु, राष्ट्रिय सभाका अध्यक्ष उपाध्यक्ष, संघीय संसदका सभामुख उपसभामुख, प्रदेश सभाको सभामुख उपसभामुखमध्ये एक जना महिला हुने व्यवस्था गरिएको छ । नागरिकतामा आमा वा बुवा भनेर आमाको पहिचान स्वीकार गर्नु, विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाको सन्तानलाई अंगीकृत नै भए पनि नागरिकताको व्यवस्था गरिएको छ । त्यस्तै पैतृक सम्पत्तिमाथि लैंगिक विभेद विना सन्तानको समान हकको व्यवस्था गरिएको छ । समान कामको समान ज्याला, प्रजनन स्वास्थ्यको हक, सम्पत्तिमा दम्पत्तिको समान अधिकारको व्यवस्था, महिला आयोगलाई संबैधानिक आयोग बनाउनु, राज्यका हरेक निकायमा महिलाको समानुपातिक समावेसी हकको व्यवस्थ मौलिक हकमा हुनु लगायतका विषय लैङ्गिक दृष्टिकोणबाट हेर्दा संविधानका सवल पक्ष हुन् । संविधानका यिनै सबल पक्षहरुको आधारमा बाँकी अधिकार प्राप्तिको बाटो सहज हुनेछ ।

२ आरक्षणका हिसाबले ३३ प्रतिशत सुनिश्चित भए पनि संविधानको मूल स्प्रिट पितृसत्तात्मक चिन्तनलाई निरन्तरता दिने नै आयो भन्ने छ । यसमा महिलाका असन्तुष्टि के के हुन ?
संविधानको मूल स्प्रिट नै पितृसत्तात्मक भयो भन्ने कुरा त होइन तर संविधानमा व्यवस्था भएका सकारात्मक कुराहरुसँगै कैयन् कमीकमजोरी पनि छन् । विगतका तुलनामा संविधान सकारात्मक भए पनि पूर्णरुपमा विभेदमुक्त रहन भने सकेन । नागरिकताका कैयन् प्रावधान आफैमा अन्तरविरोधी र विभेदयुक्त छन् । अघिल्लो पटक सहमति भैसकेको परिवारसम्बन्धी हक अहिले हटाइएको छ । नेतृत्व विकासका हिसावले महत्वपूर्ण रहेको स्थानीय निकायमा महिलाको ५० प्रतिशत उपस्थितीको व्यवस्थ नगर्नु, गाउँपालिका अध्यक्ष उपाध्यक्षमा एक जना महिला हुने व्यवस्था नहुनु, प्रस्तावनामा लैङ्गिक विभेदको मूल कारकतत्वको रुपमा रहेको पितृसत्तात्मक उत्पीडन भन्ने पदावली हटाइएको त । न्यायालय, विभिन्न संवैधानिक आयोग र कार्यपालिकामा समानुपातिक समावेसी हकको व्यवस्था गरिएको छैन । राजनैतिक दल र राजदुत नियुक्तिमा पनि यो व्यवस्था गरिएन । समग्रमा भन्दा २१ औं शताब्दीमा जारी भएको संविधान पूर्ण रुपमा विभेदमुक्त रहन सकेन । सामन्तवादका सबै अवशेषहरु नष्ट गर्न सकिएन । उल्लेखित विषयहरु नै महिलासहितका उत्पीडित समुदायका असन्तुष्टि हुन् ।

३. नागरिकतामा महिलाले उठाएको सवाल जहिले पनि राष्ट्रियतासँग जोडिएर विवादित बन्ने गरेको छ । यसको कारण के हो ? नेतृत्व तहका नेतालाई बुझाउन नसकिएकै हो त ?
बुझ्ने र बुझाउने भन्दा पनि यो दृष्टिकोणमा रहेको समस्या हो । सामन्तवादी दृष्टिकोणले अहिलेनै महिलाहरुलाई पूर्ण समानता प्रदान गर्न सक्दैन भन्ने पुष्टि भएको छ । महिलालाई अधिकार दिँदा राष्ट्रियता गुम्छ भन्नु कमजोर मानसिकता हो । यो मानसिकता बिरुद्ध एकतापूर्ण संघर्ष जरुरी छ ।

४. नागरिकतामा समान प्रावधान राखेर महिलाको पहिचानको हक सुनिश्चित गर्दा कसरी राष्ट्रियता खतरामा पर्छ ? यसमा तपाईंको धारणा के छ ?
नागरिकतामा समान प्रावधान राख्दा राष्ट्रियता खतरामा पर्ने होइन, राष्ट्रियता बलियो हुन्छ भन्ने लाग्छ मलाई । यसलाई धेरै कोणबाट पुष्टि गर्न सकिन्छ ।

५. नागरिकतामा आमा वा बाबुको प्रावधान आयो भनेर प्रचार गरिएको छ । तर महिला अधिकारकर्मीहरु वा को प्रावधान बाबुको हकमा मात्रै सहज भएको तर विभिन्न कारणले बाबु देखाउन नसक्ने÷नचाहने महिलाको समस्या संबोधन गर्दा उनीहरुको आत्मसम्मानमा चोट लगाउने पुरानैशैलीलाई निरन्तरता दिइएको छ भन्छन् । तपाईं के भन्नुहुन्छ ?
वैवाहिक अंगीकृत नागरिकतामा राखिएको विभेदपूर्ण प्रावधानको कारण यस्तो भएको हो । आमा वा बुवा भनिए पनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाको श्रीमान्लाई अंगीकृत नागरिकताको कुनै व्यवस्था नभएको कारण नेपाली महिलाले आफ्नो सन्तानलाई नागरिकता दिँदा आफ्नो श्रीमान् नेपाली भएको पुष्टि गर्नुपर्ने बाध्यताको कारण वा को व्यवस्था हुँदाहुँदै पनि यो महिलाको लागि सहज छैन ।

६. नयाँ संविधानमा लैंगिक समानता कायम गर्न तपाईंहरुले पार्टी ह्व्पिभन्दा माथि उठ्ने प्रतिवद्धता गर्नुभएको थियो सार्वजनिक रुपमै । तर त्यस्तो त देखिएन होइन ?
महिला अधिकारको पक्षमा हामी विभिन्न व्यवधानका बाबजूद पनि संविधानसभामा अन्तिम समम लडेको कुरा विदितै छ । आफ्नो संशोधनको प्रस्तावमा १० प्रतिशत पुग्न नसक्ने अवस्थामा र जसरी पनि संविधानसभाबाट संविधान बनाउनैपर्ने परिस्थिती पछिल्लो समयमा विकसित घटनाक्रमका कारण आफ्ना प्रस्तावप्रति प्रतिवद्धत रहँदै अहिलेको संविधानसभा भित्रको शक्ति सन्तुलनको कारण केही पछि हटेको कुरा साँचो हो । तर हामीले हाम्रा विषय दर्ज गरेका छौं । यसका पक्षमा निरन्तर लडिरहनेछौं ।

७. अघिल्लो संविधानसभामा महिला सभासदले महिला ककस बनाएर एकठाउँमा उभिने प्रयास गरे । ककस बनाउन यसपाली दिइएन तर तपाईंहरु एकठाउँमा आउने कुरा औपचारिक रुपमै सीमित रहेजस्तो देखियो हैनर र ?
हो, अहिलेभन्दा ककसको कारण र आन्दोलनको राप र तापको कारण पनि अघिल्लो पटक संगठित संघर्ष केही सहज थियो । यसपटक संविधानसभाभित्रको शक्तिसन्तुलन दुई ठूला पार्टीका नीति र त्यसका बिरुद्धमा उभिने साहस ठूला पार्टीका महिला नेताहरुले नगर्दा संघर्ष प्रभावकारी हुन सकेन । हाम्रो मात्र प्रयत्नले संभव हुने कुरा पनि भएन । यसमा कसको भूमिका कस्तो रह्यो इतिहासमा समीक्षा हुने नै छ । विगतको समीक्षासहित बाँकी अधिकारको पक्षमा एकतावद्ध हुन सबैतिरबाट प्रयत्न गर्नु अबको आवश्यकता हो ।

८. नयाँ संविधान जारी भयो । समानताको संघर्षमा महिलाका अबका प्राथमिकता के हुनुपर्छ ?
विभिन्न बाधा व्यवधानका बावजूद विगतको भन्दा प्रगतिशील संविधान संविधानसभाबाट जारी भएको छ । यो आफैमा सकारात्मक कुरा हो । तर यसो हुँदाहुँदै पनि केही महत्वपूर्ण विषय संविधानमा समावेश गर्न सकिएन । संविधानलाई लैङ्गिक विभेदमुक्त बनाउन, सकारात्मक कुराहरुको मातहतमा कानुन बनाउन र संविधान कार्यान्वयनमा एकतापूर्वक अगाडि बढाउनु नै अहिले हामी सबैको प्राथमिक कार्य हो ।

९. अन्तमा केही भन्नु छ कि ?
पहिलोपटक हामी नेपाली जनताले सार्वभौम सत्ताको प्रयोग गरी संविधानसभाबाट संविधान निर्माण गरेका छौं । संविधान निर्माणसँगै कार्यान्वयनको चुनौती पनि थपिएको छ । विभिन्न खाले नकारात्मक प्रवृत्तिहरु पनि सल्बलाईरहेका छन् । राष्ट्रिय एकताको आवश्यकताको यो घडीमा सबै एकताबद्ध बनौ र समानताको लडाईंमा अगाडि बढौं भन्न चाहन्छु ।

समरेखा म्यागजिन पूर्णांक १७, २०७२ भदौ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np