Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

न्यायिक प्रक्रियामा खेलबाड नगर

         ||   225 Views   ||   Published Date : 21st July 2016 |

महिलाहरुको न्यायमा पहुँच पुग्न नसकेको र मिलापत्रका नाममा महिलालाई न्यायको पहुँचबाट विमुख पार्ने काम भैरहेको कुरा बेला बेलामा चर्चा हुने गर्छ । यस्ता मिलापत्रहरु सरकारी तथा गैरसरकारी दुवै निकायमा हुने गरेका छन् । सामान्यतया मिलापत्रले परिवार र समाजमा मेलमिलापको वातावरण वनाउन मद्दत गर्छ भन्ने मान्यता राखिन्छ । तर महिलामाथि भैरहेका अपराधमा समेत भैरहेका मिलापत्रले मेलमिलापको वातावरण बनाउनुको साटो उनीहरुलाई न्यायबाट बिमुख पारिरहेको तथ्यहरु देखिन थालेका छन् ।

महिलाको न्यायमा छिटो छरितो र प्रभावकारी पहुँचको बाधक प्रहरी प्रशासन भएको आरोप लाग्ने गरेको छ । कतिपय सन्दर्भमा प्रहरीले जाहेरीको ढोका बन्द गर्ने र जाहेरीलाई आफ्नो ढंगले लेख्ने, विश्लेषण गर्ने प्रवृत्तिले पीडित महिलाहरुले दुःख पाइरहेको बताउँदै आएका छन् । प्रतिकुल सामाजिक अवस्थाका बाबजुद न्याय खोज्दै निस्किएका महिलाहरुको न्यायमा पहुँच पु¥याउन सहयोग पु¥याउनुको साटो समस्या बल्झाइने गरेको देखिएको छ । घरेलु हिंसाका विषयमा मात्रै होइन, सरकारवादी फौज्दारी मुद्दामा समेत प्रहरीले कानुनी प्रक्रियामा लैजानुको साटो मेलमिलापको प्रक्रियामा लगेका उदाहरण देखिएका छन् । सरकारवादी मुद्दामा पीडितको जाहेरीविरुद्ध प्रहरीको आफ्नो रुचीमा मुद्दामा मेलमिलापको कागज गरिदिएर पीडकलाई छाड्ने काम भएका छन् । अझ बिडम्बना, त्यस्ता मुद्दाहरु मेलमिलाप गरिएबमोजिम कार्यान्वयन पनि भएका छैनन् । सरकारवादी फौज्दारी मुद्दामा समेत प्रहरी कार्यालयभित्र मेलमिलाप हुनु भनेको न्यायप्राप्तिको बाधाहरु त्यहीँबाट थपिँदै जान्छन् कुराको पुष्टि पनि हो । सिद्धान्ततःगर्नै नमिल्ने कुरामा हुने गरेका यस्ता मध्यस्थताहरु तत्काल रोकिनु पर्छ । त्यसरी मध्यस्थता गर्नेहरु कारवाहीको भागीदार बन्नुपर्छ ।

सामान्यतया मेलमिलापले परिवार जोड्ने काम गर्छ भने मुद्दामामिलाले परिवार तोड्ने काम गर्छ भनिन्छ । मेलमिलापको क्रममा मुद्दाका दुबैपक्षलाई जितजितको अवस्थाको अनुभूति हुने गर्छ भनिन्छ । गल्ती कमजोरी गर्नेहरुले आफूले गरेका गल्ती कमजोरी स्वीकार गर्छन् जसले मेलमिलापको वातावरण बनाउन मद्दत गर्छ । यही अवधारणालाई आत्मसात गर्दै कतिपय मुद्दामा न्यायिक प्रक्रियाभित्रै मेलमिलापलाई प्राथमिकता दिइएको हुन्छ । घरेलु हिंसा सम्बन्धी ऐनलाई लिन सकिन्छ जहाँ मेलमिलापलाई प्राथमिकता दिइएको छ । तर मेलमिलापको यो सिद्धान्तलाई हरेक मुद्दाको सन्दर्भमा लागू गर्नु भनेको प्रहरी आफ्नो जिम्मेवारीबाट पन्छिनु मात्रै होइन, ती मुद्दाप्रति चलखेल बढ्ने वातावरण बनाउनु पनि हो । आफ्नो दायित्वबाट पन्छिएर मेलमिलापको नाममा दण्डहीनता बढाउने छुट प्रहरीलाई पनि छैन ।

सरकारवादी मुद्दामा अधिकांश रुपमा प्रतिवादीले जित्ने, कानुनी प्रक्रियामा लैजानुपर्ने मुद्दाहरु मेलमिलापको नाममा थामथुम पार्ने, कानुनी प्रक्रियामै आर्थिक लेनदेन हुने, मुद्दा टुंगिन वर्षौं लाग्ने जस्ता तथ्यले आमजनताको न्यायलयप्रतिको विश्वासमा पनि कमी आउने पक्का छ । महिलाहरुमाथि हिंसा हुनुका पछाडि न्यायिक÷अर्धन्यायिक निकायको गैर जिम्मेवार कार्यशैली मात्रै होइन, समाजमा बढ्दो आपराधिक मनोबृत्ति, महिलाप्रतिको विभेदकारी दृष्टिकोण पनि जिम्मेवार छ । अधिकांश घटनामा आफन्तबाटै महिला पीडित हुने गरेका छन् । यस्ता घटना बढ्दै जानुमा दण्डहीनता प्रमुख कारक हो । दण्डहीनता बढाउन मेलमिलापको नाममा जुनसुकै जस्तोसुकै घटनामा पनि मेलमिलाप गराउन तत्पर हुने हाम्रा निकायहरु जिम्मेवार छन् । यी विषयहरुमा सरोकारवाला गंभीर हुनै पर्छ ।

मेलमिलापको क्रममा महिलामैत्री प्रक्रिया अपनाउने, मेलमिलापको क्रममा गरिएका सहमति पीडक पक्षले लागू गरे नगरेको हेर्ने, समस्याको गहिराईसम्म पुगेर समाधानको सही उपायको खोजी गर्ने र यो सबै क्रममा कुनै पनि अपराधले प्रश्रय नपाओस् भन्ने कुरामा मेलमिलापकर्ताले विशेष ध्यान पु¥याउनुपर्छ । सामाजिक लैंगिक मान्यता, महिलालाई हेर्ने दृष्टिकोण, पारीवारिक सामाजिक रुपमा उनीहरुलाई दिइएको स्थान आदिको सही विश्लेषण गरेर गरिएका मध्यस्थताले मात्रै परिवार र समाजमा मेलमिलापको वातावरण बनाउन मद्दत पुग्छ । परम्परागत रुपमा रहेका लैंगिक मान्यताभन्दा माथि उठेर महिला अधिकारका आधारभूत मान्यतालाई आत्मसात गरेर गरिएका मध्यस्थताले मात्रै मेलमिलापको सही अर्थलाई स्थापित गर्छन् । त्यसैले हाम्रा मध्यस्थताकेन्द्रहरु, मेलमिलापकर्ताहरु यी कुराप्रति जानकार, तालिम प्राप्त छन् कि छैनन् भन्ने हेर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np