Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

किन बढ्दैछ बलात्कार ?

         लक्ष्मी आचार्य ||   516 Views   ||   Published Date : 12th August 2016 |

गएको माघ महिनामा दाङमा एक पाँच बर्षिया बालिका ६० वर्षीय व्यक्तिबाट बलात्कृत भएको उजुरी दिन उनकी आमा प्रहरीकोमा पुगिन् । अभिभावक उमेरका आफ्नै गाऊँका ती व्यक्तिको साथ लगाएर आमाले जंगलमा घाँस लिन पठाउन खोजेपछि बालिकाले बल्ल आमासँग ती कुरा खोलिन् । केही दिन पहिले रगतपिच्छे भएर घर पुगेकी ती बालिकाले डराउँदै आमालाई लडेर चोट लागेको बताएकी थिइन् । बच्चीको शारीरिक अवस्था र उसको कुरा सुनेपछि आमालाई छोरी बलात्कारमा परेको एकिन भयो र प्रहरीकोमा पुगिन् । जाहेरी दिँदा उनले घटनाको दिन एकिन गर्न नसकेको अवस्थामा थियो तर दिन एकिन गरेर प्रहरीले जाहेरी दर्ता गरिदियो । पछि अभियुक्त भनिएका व्यक्तिले सोही दिन अर्कै जिल्लामा मालपोत रजिष्ट्रेशन गरेको प्रमाण पेस गरेको आधारमा अदालतले उसलाई सफाई दियो ।

चालु आर्थिक वर्षको कार्तिक महिनामा दाङमै तीन बर्षीया बालिका बलात्कारको शिकार भईन् । जिल्ला अदालत दाङका तहसिलदार ले दिएको जानकारी अनुसार उनलाई बलात्कार गर्ने १५ वर्षीय किशोरलाई जिल्ला अदालतले पाँच वर्ष कैद र १० हजार क्षतिपूर्ति फैसला ग¥यो । त्यस्तै गत साउनमा सात वर्षीय किशोरीलाई बलात्कार गर्ने १४ वर्षीय किशोरले पनि सोही बमोजिम सजाय पाए । त्यस्तै गत माघमा आठ बर्षीया बालिकालाई बलात्कार गर्ने २१ बर्षीय युवकलाई जिल्ला अदालतले १० वर्ष कैद र २० हजार क्षतिपूर्ति फैसला ग¥यो । चालु आर्थिक वर्षमै एक अपाङ्ग महिलालाई बलात्कार गर्ने ७४ बर्षीय बृद्धलाई जिल्ला अदालतले ५ वर्ष कैद र १० हजार क्षतिपूर्ति फैसला ग¥यो । चालु आर्थिक वर्षमा एक ६५ बर्षीया बृद्धामाथि भएको बलात्कारको मुद्दा चलिरहेको छ । यसरी जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरु हेर्दा जिल्लामा बालिकादेखि बृद्धासम्म बलात्कार हुने गरेका छन् ।

कुनै व्यक्तिसँग उसको सचेत स्वीकृतीबिना राखिने यौन सम्पर्क नै बास्तवमा बलात्कार हो । अर्को शब्दमा भन्दा कसैको मन्जुरीबिना डर, धम्की वा बल प्रयोग गरी जबरजस्ती गरिने यौन सम्पर्कलाई बलात्कार भनिन्छ । त्यस्तै उमेर नपुगेको व्यक्तिलाई फकाई वा मञ्जुरी लिएर गरिएको यौनसम्पर्क समेत बलात्कारभित्र पर्छ । मुलुकी ऐन २०२० को महल १४ मा बलात्कार (जबरजस्ती करणी सम्बन्धी परिभाषा अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा सोह्र वर्षभन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा निजले जबर्जस्ती करणी गरेको ठहर्छ । यस्तो कार्य गर्दा डर त्रास, धाक देखाई वा करकाप, अनुचित प्रभाव, झुक्यानमा पारी वा जोरजुलुम गरी वा अपहरण गरी वा शरीर बन्धक राखी लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन । साथै होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन । मुलुकी ऐनमा बलात्कारसम्बन्धी गरिएको यो परिभाषालाई २०७२ असोजमा पास भएको लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकले केही फराकिलो पारेको छ । यस अनुसार गुद्द्वार वा मुखमा लिङ्ग बाहेक अन्य कुनै वस्तु प्रवेश गराएमा पनि जबरजस्ती करणी मानिने छ भनिएको छ ।

बलात्कारको बढ्दो क्रम

नेपालमा बलात्कारसम्बन्धी घटनाहरु वर्षेनी बढ्दै गइरहेका छन् । दाङ्ग जिल्लाको मात्रै कुरा गर्ने हो भने पनि यो तथ्य देखिन्छ । दाङ देउखुरी जिल्ला अदालतमा आर्थिक वर्ष २०७०÷०७१ मा बलात्कार र बलात्कार प्रयासका ३० मुद्दा दर्ता भएकोमा आर्थिक वर्ष २०७१÷२०७२ मा यो संख्या बढेर ४७ पुगेको देखिन्छ । चालु आर्थिक वर्ष जेठ २५सम्म २७ मुद्दा जिल्ला अदालतमा दर्ता भैसकेका छन् । (हेर्नुहोस् तालिका नंं १)

sama 20-1

 

 

देशभरको कुरा गर्ने हो भने प्रहरी प्रधान कार्यालयको तथ्यांकले बलात्कारका घटनाहरु निरन्तर बढिरहेको देखाउँछ । तथ्यांक अनुसार प्रहरी प्रधान कार्यालयमा आर्थिक वर्ष २०६१÷२०६२ बलात्कारका १ सय ८८ घटना दर्ता भएकोमा यसको दस वर्षपछि आर्थिक वर्ष २०७१÷०७२ मा यो संख्या बढेर ९ सय ८१ पुगेको छ । त्यस्तै दसवर्ष अघि बलात्कार प्रयासका २५ घटना भएकोमा आर्थिक वर्ष २०७१÷०७२ मा ५ सय ६२ बलात्कार प्रयासका घटना दर्ता भए । (हेर्नुहोस् तालिका नं. २ )

sama 20-2page

 

 

 

बलात्कारजस्ता महिलामाथि भैरहेका यस्ता जघन्य हिंसाका घटनाहरुको अभिलेख राख्ने महिला पुनस्र्थापना केन्द्र ओरेक नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकका तथ्यांकहरुले पनि बलात्कारका घटनाहरु निरन्तर बढिरहेको देखाउँछ । ओरेक नेपालको प्रकाशन महिलामाथि हुने हिंसासम्बन्धी वर्ष पुस्तक अन्वेषीमा बि.सं.२०६९ मा बलात्कारका १ सय १० घटना अभिलेख गरिएकोमा २०७१ मा आउँदा यो संख्या बढेर ४ सय ४१ पुगेको छ । त्यस्तै २०६९ मा बलात्कार प्रयासका ३६ घटना भएकोमा २०७१ मा यो संख्या १ सय १७ पुगेको छ । ( तालिका नं. ३) त्यस्तै ईन्सेकको प्रकाशन मानव अधिकार वर्ष पुस्तकमा सन् २०१२ मा बलात्कारका १ सय ११ र बलात्कार प्रयासका २९ घटना अभिलेख भएकोमा सन् २०१६ मा आईपुग्दा बलात्कारका २ सय ५९ र बलात्कारप्रयासका १ सय ३५ घटना अभिलेख भएका छन् । ( तालिका नं. ४ )

3

sama 8

 

 
यसरी बलात्कारका घटनाहरु निरन्तर बढ्नुलाई दुई किसिमले हेर्ने गरिन्छ । पहिलो, समाजमा अपराधिक मानसिकता बढ्दै गएको छ । अपराधीहरुले उन्मुक्ति पाइरहेका छन् । दण्डहीनता मौलाइरहेको छ । दोश्रो, घटनाहरु पहिले पनि हुन्थे तर अहिले पीडितहरुले उजुरी दिने क्रम बढेको छ । पीडितको लागि सहयोगी संयन्त्रहरु बढेका छन् । जनचेतना बढेको छ । बलात्कारलाई राष्ट्रिय एवं अन्तराष्ट्रिय कानुनहरुले अक्षम्य र दण्डनीय बनाएका छन् । यस्तो अपराध आपसी समझदारीमा मिलाउन पाईंदैन भन्ने कानुनी मान्यता छ । विभिन्न अध्ययनहरुले देखाएको तथ्य विश्लेषण गर्दा बलात्कारका घटना निरन्तर बढ्नुमा यी दुवै कारण महत्वपूर्ण छन् ।

बालिका, बृद्धा पनि बलात्कारको चपेटामा

वयस्क युवतीमात्रै होइन, बलात्कारको चपेटामा साना बालिका र बृद्धासमेत पर्ने गरेका छन् । महिला हिंसा सम्बन्धी वर्षपुस्तक अन्वेषी २०७२ मा अभिलेख भएका बलात्कारका घटनामध्ये ५२.५ प्रतिशत बलात्कार १५ वर्षमुनिका बालिका परेका छन् । चालु आर्थिक वर्षमा दाङ देउखुरी जिल्ला अदालतमा दर्ता भएका बलात्कारका २७ मुद्दामध्ये ३ वर्ष, ५ वर्ष, ७ वर्ष, ८ वर्ष गरी दशवर्ष मुनिका ६ बालिका बलात्कारमा परे । त्यस्तै १० देखि १९ वर्षभित्रका ८ किशोरी बलात्कारमा परे भने ६५ वर्षीया बृद्धा पनि बलात्कारमा परेको मुद्दा दर्ता भएको छ । समाजमा अशक्त अवस्थामा रहेका अपाङ्ग, मानसिक सन्तुलन गुमाएर सडकमा पुगेकाहरु पनि बलात्कारमा परिरहेको तथ्य भेटिएको छ । यसरी दुधे बालकदेखि असक्तमहिलाहरुलाई समेत बलात्कार गर्ने यौन पिपासुहरुलाई सहजै स्वीकार गर्ने वातावरणले हाम्रो समाजलाई नै आपराधिक बनाउँदै लगेको देखाउँछ ।

कम सार्वजनिक हुन्छन् बलात्कारका घटना

बलात्कारका घटनाहरु बढिरहेको देखिँदै गर्दा यस्ता घटनाहरु निकै कममात्रै सार्वजनिक हुने घटनाहरुमध्ये पर्छन् भन्ने कुरा अर्को यथार्थ हो । सन् १९९० मा अमेरिकाजस्तो विकसित देशमा समेत बलात्कारका एक तिहाई घटनाहरुमात्र कानुनी कारवाहीकालागि प्रहरी समक्ष पुग्ने गरेको पाइएको थियो । यसो हुनुका चार कारणहरु अध्ययनले देखाएको थियो । पहिलो लोकलाज, कुल मर्यादा वा सामाजिक प्रतिष्ठामा आँच आउने जस्ता कारणहरुले बलात्कारसम्बन्धी धेरै घटनाहरु स्थानीय वा व्यक्तिगत रुपमै ढाकछोप हुनु । दोस्रो कारण, बलात्कारमा संलग्न अभियुक्तहरु पीडितसँग जानपहिचान भएका वा नातेदारहरु हुने गर्दछन् जसलाई सार्वजनिक नगर्न परिवारभित्रैबाट दबाब आइपर्नु । तेस्रो कारण, पीडक शक्तिशाली हुने भएकाले बलात्कार घटना सार्वजनिक गर्न पीडितकालागि जोखिमपूर्ण हुनु । चौथो कारण, कानुनी प्रक्रिया जटिल, झन्झटिलो र पीडितमैत्री नहुनु । ( संहिता,२०७३) हाम्रोजस्तो पितृसत्तात्मक संरचना भएको मुलुकमा बलात्कारका घटनाहरु सार्वजनिक हुन झनै अप्ठेरो छ । घटनामध्ये एकतिहाई भन्दा पनि कम घटनामात्र दर्ता प्रक्रियामा पुग्ने अनुमान गर्न सकिन्छ ।

‘न्याय अनावरण, बलात्कार पीडितको आवाज’ ओरेक नेपाल र आइसिस विक्कीद्वारा गरिएको नेपालमा बलात्कार पीडितको न्यायमा पहुँच विषयक अनुसन्धानात्मक प्रतिवेदन, २००७—२०१० ले धेरैजस्तो अवस्थामा बलात्कृत महिला वा बालिकालाई नै सामाजिक बहिष्करणमा पार्ने, खिल्ली उडाउने, उनीहरुको मानमर्दन गर्ने र बलात्कार हुनुमा उनीहरुलाई नै दोषी देखाउने प्रचलनले पीडितहरु घटना सार्वजनिक गर्न सक्दैनन् । यौनहिंसाका घटनाहरु गुपचुप राख्ने, दबाउने, सम्पूर्ण अपजस पीडितमाथि थोपर्ने प्रचलनले मुद्दा प्रक्रियामा आउन पीडितहरुलाई मुश्किल पर्छ । यस्तो वातावरणले पीडितको मनोबल घटाउने र पीडकको मनोबल बढ्ने हुने भएकोले बलात्कारजस्तो जघन्य अपराध समाजमा फैलँदै गएको मान्न सकिन्छ ।
किन बढ्दैछन् बलात्कारका घटना ?

ओरेकको अनुसन्धान प्रतिवेदनले बलात्कारका घटना बढ्नुमा सामाजिक संरचना र पितृसत्तात्मक मूल्य, शक्ति प्रदर्शनको पुरुषजन्य प्रकृति, गरिबी, आपराधिक मानसिकता र मदिरा सेवनजस्ता कुप्रचलन, कमजोर कानुनी वातावरण, शिक्षा चेतनाको कमीलगायतका बलात्कारका घटना बढ्नुका कारणको रुपमा देखाएको छ । (ओरेक, २०१०) नेपाली समाज जुन रुपमा आधुनिकतातिर लम्केको छ त्यही अनुरुप समाज र सार्वजनिक स्थलहरु सुरक्षित तथा महिला मैत्री हुन नसक्दा यौन हिंसा बढिरहेको समाजशाष्त्री डा. माधवी भट्टको ठम्याई छ । ‘पितृसतात्मक सामाजिक संरचनामा अधिकांश महिलाहरु परिवारभित्रका वा परिवार वाहिरका पुरुषसँग निर्भर हुन बाध्य हुनु र यो परनिर्भरताकै कारण उनीहरु घरपरिवारदेखि घर वाहिरका पुरुषहरुवाट बलात्कृत भइरहेका छन् ।’ सत्य निरुपण तथा मेलमिलाप आयोगकी प्रवक्ता समेत रहेकी डा. भट्ट भन्छिन्, ‘बलात्कारी पुरुषलाइ परिवार र समाजले बहिष्कार गर्नुको सट्टा संरक्षित गर्ने गरेको छ । कानूनी रुपमा पनि उनीहरुले उन्मुक्ति पाउने गरेका छन् । जसका कारण बलात्कारका घटनाहरु बढिरहेको हुनसक्छ ।’

यौन हिंसा बढ्नुका पछाडि महिलाको शरीरलाई पुरुषको सम्पत्तिको रुपमा हेर्ने तथा महिलाको ईज्जतलाई महिलाको योनीमा अझ भनौ परिवारको ईज्जतलाई महिलाको यौनिकतासँग जोड्ने प्रवृत्ति मुख्य दोषी देख्छिन् महिला अधिकारकर्मी डा. रेणु अधिकारी । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी केन्द्रीय अध्यक्ष डा. रेणुु महिलाको यौनिकता खण्डित गर्नकालागि योनी छेदन हुनुपर्ने जुन मान्यता समाजमा स्थापित छ त्यो नै यौन हिंसा हुनुको महत्पूर्ण कारण देख्छिन् । यही मानसिकताले जहाँतहीँ महिलाहरु बलात्कारको शिकार हुने गरेका छन् । लेखक रामेश्वरी पन्त बलात्कारका घटना बढाउनुमा मादक पदार्थ सेवनलाई पनि लिन्छिन् । ‘बलात्कारका घटनामा मादक पदार्थ सेवन गरेका, लागुपदार्थका दुव्र्यसनीहरू संलग्न पाइनुले पनि यस्ता घटना बढाउन मदिरा र लागुपदार्थले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।’ पन्त थप्छिन्, ‘अहिले समाजमा ब्याप्त बाल यौन दुब्र्यवहारको कारण पनि यिनै हुन् । यी बाहेक मोबाइल र इन्टरनेटमा सहजै उपलब्ध हुने अश्लील भिडियोहरूले पनि बलात्कारका घटना बढाएको छ । अर्काे कुरा के पनि छ भने बाबुले नै छोरी बलात्कार गरेका अत्यधिक घटनाको कारण मदिरासेवन अनि श्रीमती बिदेश गएका, श्रीमतीले छोडेका र श्रीमती मरेका पुरुषहरूले यौन प्यास मेटाउन आफ्नै छोरीलाई बलात्कार गरेको अनुसन्धान बाट खुलेको देखिन्छ । बिकृत मानसिकताका पुरुषहरू जुनसुकै उमेरका भए पनि बलात्कारमा संलग्न देखिन्छन् ।’

बलात्कारले महिलाहरुमा पार्ने असर

मान्छेको जीवनमा मृत्युलाई सबैभन्दा बढी पीडादायक घटनाको रुपमा लिने गरिन्छ । तर बलात्कारले मान्छेलाई जिउँदै मरेतुल्य बनाईदिन्छ । शारीरिकसँगसँगै बलात्कृतको आत्मसम्मान र स्वाभिमानमा लाग्ने गहिरो चोटले उनीहरुको जीवनलाई नै क्षतविक्षत बनाईदिने विभिन्न अध्ययनहरुले पनि देखाएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बलात्कार पीडितहरुले सामान्य मानिसभन्दा तीन गुणा बढी डिप्रेसनको शिकार हुन सक्ने, १३ गुणा बढी अल्कोहत प्रयोगको आदतमा फस्न सक्ने, २६ गुणाबढी लागु औषध प्रयोग गर्न सक्ने र सामान्य अवस्थाभन्दा चार गुणा बढी आत्महत्या गर्ने संभावना हुन्छ । ९ध्ज्इ,द्दण्ण्द्द० त्यस्तै ओरेक नेपाल र आइसिस विक्कीद्वारा गरिएको माथि उल्लेखित अनुसन्धान प्रतिवेदन अनुसार बलात्कार पीडितले ८३ दशमलब ६ प्रतिशत मनोबैज्ञानिक÷मानसिक सकस, शारीरिक क्षति, चोट ६१ प्रतिशत, प्रजनन स्वास्थ्यसम्बन्धी ४० प्रतिशत, आर्थिक ८१ दशमलब ८ प्रतिशत र ६१ दशमलब ८ प्रतिशतले सामाजिक समस्या भोग्नुपरेको देखाएको थियो । सो अध्ययनले बलात्कृत हुँदा पीडितहरु नै कलंकित तुल्याइएका, दोषी ठह¥याइएका छन् जसको परिणाम उनीहरु परिवार, समुदाय र समाजबाट एक्लाइएका छन् ।
बलात्कार आफैमा जघन्य प्रकारको अपराध हो । शारीरिक, सामाजिक, साँस्कृतिक, आर्थिक र अन्य रुपमा हिंसाको एउटा विषमवृत्त पनि हो । पीडितलाई यसले कुनै न कुनै तवरले आफ्नो विषमा चक्रमा घुमाइ नै रहेको हुन्छ । बलात्कारको पीडा खेप्न बाध्य महिला जीवनभर नै कुनै न कुनै प्रकारको अर्को हिंसा, मानसिक तनाब खेपिरहेकी हुन्छिन् । त्यसैले बलात्कार अरु अपराधजस्तो होइन, यो मानवता विरुद्धको अपराध हो । हाम्रोजस्तो पितृसत्तात्मक समाजमा पीडितहरु थप पीडित बन्दै जाने र बलात्कारीहरु सहजै स्वीकार हुने गर्छन् । बलात्कारजस्तो अपराध निरन्तर बढ्दै जानुकापछाडि समाजको यही व्यवहार मुख्य दोषी छ ।

कमजोर न्याय प्रणाली

बलात्कारसम्बन्धी एक अध्ययनले महिलासँग सम्बन्धित मुद्दामा प्रहरी प्रतिवेदनको अभावमा चिकित्सकले जाँच गर्न इन्कार गर्ने, चिकित्सकको प्रतिवेदनको अभावमा प्रहरीले प्रारम्भिक सूचना प्रतिवेदन दर्ता गर्न इन्कार गर्ने, पीडित र पीडित परिवारलाई उजुरी फिर्ता लिन दबाब तथा उजुरी गरेबापत डर धम्की दिने, विभिन्न राजनीतिक पार्टीहरुले मुद्दा दर्ता नगर्न प्रहरीहरुलाई दबाब दिने लगायतका कारणले पीडितले थप पीडा भोग्नु परेको तथ्य आंैल्याएको छ । सन् २०११ मा इन्सेकले गरेको सो अध्ययनले एक त लैंगिक हिसाका कारणले पीडित त्यसमाथि पनि फौज्दारी न्यायप्रणालीका कमजोरीले गर्दा उनीहरुलाई झनै पीडित बनाउने काम गरिरहेको, अदालतका कर्मचारी, प्रहरी र सरकारी वकिल मिलेर अभियुक्तले सफाई पाउने वा उसलाई थोरै सजाय हुने वातावरण बनाएका थुप्रै उदाहरण रहेको तथ्य देखाएको थियो । अध्ययनले पारिवारीक सद्भावका नाममा मेलमिलापलाई अति धेरै बढावा दिइँदा पीडित थप पीडित बन्नुपर्ने र पीडकले उन्मुक्ति पाउने अवस्था सिर्जना हुने गरेको पनि देखाएको थियो । जाहेरी लेख्दा पीडितले भनेको यथार्थ कुराभन्दा अनुसन्धान गर्नुपर्नेहरुले आफ्नो सजिलो अनुसार लेख्ने, कमजोर अनुसन्धान र यसबीचमा हुने चलखेलहरुले थप पीडित बनाउने गरेको पीडितहरु बताउँछन् ।

फेरिँदैछ कानुन

बलात्कारसम्बन्धी कानुन कमजोर र पीडितमैत्री भएन भन्दै मुलुकमा महिला अधिकारकर्मीले लामो समयदेखि आन्दोलन पटक पटक अभियान चलाउँदै आएका छन् । ती अभियान र अन्दोलनकै कारण बलात्कार सम्बन्धि कानुनमा केही संसोधन पनि भएको छ । ३५ दिने हदम्याद बढेर अहिले ६ महिना भएको छ । पीडतलाई छिटो र सहज तरिकाले न्याय प्राप्त होस् भनेर बलातकारका मुद्दामा निरन्तर सुनुवाईको व्यवस्था छ । त्यस्तै पीडितको गोपनियताको हक कायम गर्दै पीडितले आफूमाथि भएको घटनालाई अनुसन्धान गर्ने अधिकारीसँग एक पटक भने पछि पुनः दोहो¥याएर अदालतभित्र बन्द इजलासमा बाहेक अन्यत्र कसैसँग पनि भन्नु नपर्ने व्यवस्था गरिएको छ । यसले बलात्कारपीडितलाई एक हदसम्म सहज बनाएको देखाउँछ ।
बलात्कारसम्बन्धी कानुनमा सुधारको प्रस्तावसहित लैंिगक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न २०७१ सालमा विधेयक ल्याइयो । विधेयकमा प्रस्ताविक विषयहरुमा महिलाअधिकारकर्मीहरुले देशैभर बहस चलाएर सुझावहरु दिए । प्रस्तावित विधेयकमा १६ वर्ष मुनिका बालिका बलात्कार गर्नेलाई जन्मकैदसम्मको प्रावधान थियो । १६ वर्षभन्दा बढी उमेरकी महिलाभए १० देखि १८ वर्ष सजाय प्रस्ताव गरिएको थियो । त्यस्तै अन्य प्रकृतिका बलात्कारका मुद्दामा सजाय बढाएर प्रस्ताव गरिएको थियो । सुझाव लिने क्रममा चारैतिरबाट केही थपकुराहरु सहित यसमा घटाएर सजाय तोकिनु हुँदैन भन्ने सुझाव थियो । तर २०७३ असोजमा यो विधेयक पारित हुँदा बलात्कारीलाई प्रस्ताव गरिएको यो सजायमा पूरै फेरबदल गरेर साविक बमोजिम कायम राखियो । यसले न्यायकोलागि निरन्तर उठेका आवाजको अपमान भएको यस क्षेत्रमा लामोसमयदेखि काम गरिरहेका महिलाहरु बताउँछन् ।
हामीले नयाँ संविधान पाइसकेका छौं । नयाँ संविधानले लैङ्गिक समानता प्रवद्र्धन हुने गरी धेरै सकारात्मक विषय संबोधन गरेको पनि छ । नयाँ कानुन बन्ने क्रममा छन् । अहिले संसदमा बलात्कारसम्बन्धी कानुनलाई संबोधन गर्नेगरी फौज्दारी संहिता संसदमा टेबुल भएको छ । बलात्कारीलाई दिने सजायको हकमा यो संहिता पनि पछाडि फर्किएको छ । मुलुकी ऐनमा बलात्कारसम्बन्धमा गरिएको परिभाषालाई केही फराकिलो बनाएको भए पनि पीडितमुखी न्यायको पक्षमा संहिता छैन । उपचार, क्षतिपूर्ति र जीविकोपार्जनको सम्बन्धमा पीडकलाईमात्रै जिम्मेवार बनाएर अभिभावकिय जिम्मेवारीबाट राज्य पन्छिने प्रस्ताव यसमा छ । पीडकबाट सरकारले असूल गर्ने तर पीडितलाई सरकारले नै अभिभावकिय जिम्मेवारी निर्वाह गर्दै यसको व्यवस्था नगर्ने हो भने गरीब, दुःखी, अप्ठेरो अवस्थामा रहेका महिलाले न्यायको अनुभूति गर्न सक्दैनन् भन्ने कुराको यो संहिताले बेवास्ता गरेको छ । (हेर्नुहोस बक्समा )

बलात्कारको अन्त्य कसरी ?

मूलतः बलात्कार महिलालाई भोग्या ठान्ने, यौन वस्तुको साधनको रुपमा मात्रै हेर्न चाहने, महिलालाई सिंगो मान्छेको दर्जा समेत दिन नचाहने पितृसत्तात्मक सोंचको उपज भएकोले यसको अन्त्य गर्ने कुरा पितृसत्तात्मक सोंचको अन्त्यसँग जोडिएको कुरा हो । महिलालाई कमजोर तुल्याउन उनीहरुको यौनिकतामाथि प्रहार हुने गरेको छ । यही सोंचको बिकृत रुप बलात्कारको रुपमा जहाँतहीँ प्रकट भएका छन् । आफ्नो कुण्ठित यौनईच्छा पूरा गर्न बालिकासमेत बाँकी नराख्नेहरुप्रतिको कानुनी उदासिनता र दण्डहीनताले बलात्कारको संस्कृतिलाई बढावा दिएका छन् । बलात्कारको अन्त्य गर्न पितृसत्तात्मक मूल्यलाई परास्त गर्ने गरी कानुनी र सामाजिक दुवैक्षेत्रबाट प्रभावकारी रुपमा काम गर्नुपर्छ । समाजशाष्त्री डा. भट्ट यौनहिंसा वा बलात्कार रोक्न सार्वजनिक स्थल कार्यालय तथा कम्पनीहरु महिला मैत्री र सुरक्षित बनाउन जरुरी छ । पितृसतात्मक परिवार र समाजको पुनसरचना गरेर समतामुलक परिवार र समाज निर्माण गर्नु जरुरी रहेको बताउँछिन् । डा. भट्ट भन्छिन्, ‘बलात्कार अन्त्य गर्न विद्यालयहरुमा यौन शिक्षा र नैतिक शिक्षा समावेस गर्नुपर्छ । किनकी कानूनलेमात्र अपराध नियन्त्रण गर्न असंभव छ ।’
लेखक रामेश्वरी पन्त भन्छिन्, ‘बलात्कार रोक्न वा नियन्त्रण गर्न प्रमुख कुरा राज्यको कानुन नै प्रभावकारी हुनु पर्छ । बलात्कारीलाई जबसम्म कठोर सजायको ब्यबस्था कानुनमा हँुदैन, यस्ता घटनामा कमी आउन सक्दैन । मृत्युदण्ड वा आजीवन कारावासको व्यवस्था कानुनमा हुनै पर्छ ।’ यसबाहेक समाजमा मदिरा तथा लागुपदार्थ नियन्त्रण, बाल यौन हिंसाबिरुद्ध सामाजिक चेतनाका साथै यौन हिंसाबिरुद्ध समाजको आवाज बलियो गराउँदै राज्यलाई निरन्तर दवाब दिनुपर्छ । कानुन कमजोर रहेको अवस्थामा बलात्कारीलाई पीडित स्वयं, उसको परिवार र समाज मिलेर उचित दण्ड दिन सक्ने हो भने यस्ता अपराधमा कमी पक्कै आउँछ । अन्यथा समाजमा बलात्कारको मानसिकता मौलाईरहने लेखक पन्तको ठम्याई छ ।
महिला अधिकारकर्मी डा. रेणु अधिकारी यौन हिंसाको परिभाषा फराकिलो बनाई कानुन बलियो बनाउनु पर्ने धारणा राख्छिन् । ‘त्यस्तै समाजले यौन हिंसाबाट प्रभावित व्यक्तिलाई नै दोष दिने प्रचलन छोडेर, पीडितको जीवन बर्बाद भयो भन्ने सोंचबाट मुक्त भएर यौन हिंसा गर्ने व्यक्ति अपराधी हो भन्ने मान्यता राख्नु पर्छ । यौन हिंसा गर्नेलाई कानुनी कारवाहीको लागि सहयोग गर्ने, सामाजिक बहिष्कार गर्नुपर्छ । यौन हिंसा पीडित व्यक्तिले पूर्ण रुपमा शारीरिक मानसिक उपचार, सहयोग पाउनुपर्छ । यस्तो घटना हुनुमा पीडितको दोष होइन, पीडितले पीर मान्ने होइन बरु अपराधीलाई सजाय दिन डटेर लाग्नुपर्छ भन्ने मान्यता सबैले प्रवद्र्धन गर्नुपर्ने आवश्यकता देख्छिन् डा. अधिकारी । बलात्कारको अन्त्य गर्ने उपाय भनेको बलियो कानुन निर्माणसँगसँगै कानुन कार्यान्वयनमा रहेको समस्या तत्काल निवारण गर्नु नै हो । बढ्दो दण्डहीनता र कानुन कार्यान्वयनतहको गैर जवाफदेहिताको अन्त्यका साथसाथै पीडितलाई थप पीडा दिने खालका सामाजिक मान्यता परिवर्तनबिना बढ्दो बलात्कारका घटना न्यून हुने छैनन् । बलात्कारजस्तो मानवताविरुद्धकै अपराध अन्त्य गर्ने सवालमा मौन बसेर होइन, हामी सबैले आ—आफ्नो क्षेत्रबाट सचेत नागरिक हुनुको, जिम्मेवार अधिकारी हुनुको, जिम्मेवार निकाय हुनुको भूमिका निर्वाह गर्न सक्ने हो भने मात्रै यसको न्यूनिकरण हुँदै जानेछ । पीडित केन्द्रीत न्याय प्रणालीको विस्तार र हिंसामुक्त जीवन बाँच्न पाउने महिलाको आधारभूत हकको संरक्षण हुन सके बलात्कारजस्तो जघन्य अपराध न्यून हुने आसा गर्न सकिन्छ ।

sama 12

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np