Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

यौनजन्य हिंसा सबैको साझा मुद्दा बन्नुपर्छ

         ||   1098 Views   ||   Published Date : 24th August 2016 |

Samarekha-Bahas-copy-300x92
प्रहरी प्रधान कार्यालयको तथ्यांकले बलात्कार बर्षेनी बढ्दो क्रममा देखाएको छ । यो वर्ष दाङमा तीन वर्षीया, पाँच वर्षीया बालिकादेखि ६५ वर्षीयाबृद्धा महिलासम्म बलात्कारको शिकार भएको घटना सार्वजनिक भए । प्रहरीसम्म नपुगेका र सार्वजनिक नै नभएका यौन हिंसाका घटनाहरु यो भन्दा धेरै रहेको विश्वास गरिन्छ । यस परिवेशमा समरेखा म्यागजिनको यो अंकमा हामीले यही विषयको सेरोफेरोमा जिल्लाका अगुवाहरुको धारणा लिएका छौं । उहाँहरुलाई हामीले बढ्दो यौन हिंसाको कारण केलाई मान्नु हुन्छ ? यौन हिंसा अन्त्य गर्न कसले के गर्नुपर्ला ? यही विषयको सेरोफेरोमा जिल्लामा बिभिन्न क्षेत्रमा क्रियाशील अगुवा व्यक्तित्वहरु तुलसा गिरी, गोमा महरा, किशोरचन्द्र गौतम, सुषमा गिरी र सुमित्रा पन्थी सुवेदीको विचार यो अंकको समरेखा बहसमा प्रस्तुत गरिएको छ । सम्पादक

यौनजन्य हिंसा सबैको साझा मुद्दा बन्नुपर्छ

तुलसा गिरी

Tulasa giri
महिलामाथि हुने यौनजन्य हिंसाले आधुनिक नेपाली समाजलाई दूषित बनाएको छ । यस्ता अपराधमा संलग्न व्यक्तिलाई कडा सजाय र पीडतलाई उचित न्यायको माग राख्दै नेपालका महिला अधिकारकर्मी र त्यस क्षेत्रमा काम गर्ने संघ सस्थाहरुले लामो समयदेखि आन्दोलन र अभियान नै चलाउँदै आएका छन् । यस्ता अभियान र आन्दोलनकै कारण बलात्कार सम्बन्धि कानुनमा केही संसोधन भएको पनि छ । ३५ दिने हदम्याद बढेर अहिले १८० दिन भएको छ । पीडतले छिटो र सहज तरिकाले न्याय प्राप्त गर्न सकून भनेर अदालतमा यस्ता मुद्दाको निरन्तर सुनुवाई हुनुका साथै पीडितको गोपनियतालाई ध्यान दिँदै पीडितले आफूमाथि भएको घटनालाई अनुसन्धान गर्ने अधिकारीसँग एकपटक भनेपछि पूनः दोहोयाएर अदालत भित्र बाहेक अन्त कसै सग पनि भन्नु नपर्ने र यस्ता घटनाको वहस बन्द इजलास भित्र गरिने व्यवस्था छ । यो एउटा महत्वपुर्ण उपलब्धि हो ।

यसलाई हेर्दा कानुनतः बलात्कारबाट पीडित महिला र बालिकाको न्यायिक प्रक्रियामा केही हदसम्म भए पनि सहजता देखिन्छ तर अहिलेको माग भनेको कानुनी व्यवस्थामात्र गरेर पुग्दैन यसको प्रभावकारी कार्यान्वयन हुनु पर्छ भन्ने नै हो । चालु आ.व. को १० महिनाको अवधि भित्र दाङ जिल्लामा २३ वटा यौनहिंसाका घटना प्रहरीमा दर्ता भएका छन् । त्यस भित्र धारिलो हतियारले यौनाङ्ग काटेर सामूहिक बलात्कार, ५ बर्षकी बालिकादेखि ६५ वर्षकी वृद्धामाथिको बलात्काको घटना दर्ता भएका छन् । यी घटना त केही प्रतिनिधि घटना मात्र हुन् यस्ता धेरै घटना बाहिर आउँदैनन । गाउँ समाजमा बाहिर आएका धेरै घटना पनि प्रहरीसम्म नपुगी बीचैमा मेलमिलाप हुन्छ ।

यी माथिका घटनाका आरोपित व्यक्ति अदालतसम्म पुगेर छुट्न सफल भएका छन् । सामूहिक बलात्कारको घटनामा तुरुन्त प्रहरीमा सम्पर्क गर्दा उल्टै प्रहरीले पीडितलाई अपराधीको जस्तो व्यवहार गरिन्छ । बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई शुरुवात अर्थात् जाहेरीदेखिनै कमजोर बनाइन्छ, जब कि सर्वसाधारण व्यक्तिलाई जाहेरीको महत्वको बारेमा जानकारी नै हुँदैन । मुद्दा दर्ता गरेर अगाडि बढाउने निकायले यसको महत्वको बारेमा सर्वसाधारणलाई जानकारी दिन आवश्यक समेत ठान्दैनन् । त्यसमाथि त्यस्ता घटनाबाट प्रभावित व्यक्तिलाई दोषपूर्ण नजरले हेर्ने गरिन्छ । यस्ता घटना आरोपित एक त पक्राउ नै पर्दैन परे पनि अदालतसम्म पुगेर उम्कन सफल हुन्छन । यसले के देखाउँछ भने यस्ता घटना दिनानुदिन बढ्नुमा कमजोर अनुसन्धान प्रक्रिया एउटा महत्वपूर्ण कारण हो जसले दण्डहीनतालाई बढाएको छ । प्रहरीको चरम लापरवाही, पहुँचको आधारमा आरोपित व्यक्तिले पाउने संरक्षण र उन्मुक्ति, सम्बन्धित निकायमा पीडितमैत्री वातावरणको अभाव, पीडितको उचित संरक्षण, पीडित महिला तथा बालिकालाई समाजले उल्टै दोष दिने जस्ता थुप्रै कारण छन् जसले गर्दा यस्ता घटनालाई बाहिर ल्याउन चाहँदैनन् । त्यस्ता घटनाबाट पीडित महिला तथा बालिकाको घटना बाहिर आएर मुद्दा आगाडि बढेमा उनीहरु आफ्नै घर भए पनि पुन सोही ठाउँमा बस्न चाहँदैनन् । यसको मुख्य कारण भनेको उनीहरुलाई सामाजले गर्ने व्यवहार नै हो । यो कुनै अनुमान हैन काम गरेको आधारमा पाइएको सत्यता हो । यसबाट अनुमान लागाउन सकिन्छ कि यस्ता घटनाबाट प्रभावितलाई परेको मानसिक असर । यसको बारेमा कसैको ध्यान जान सकेको छैन ।

यस्ता घटनालाई न्यूनिकारण गर्न अपराधीलाई कानुनतः सजाय पाउँछ भन्ने कुरा स्थापित गर्ने कानुन कार्यान्वयन गर्ने निकाय जिम्मेवार बन्नु पर्छ । राजनितिक संरक्षण पाउनुहँुदैन । बढ्दै गएको दण्डहीनताको अन्त्यकालागि खबरदारी गर्न हामी नागरिक सामाज, अधिकारकर्मी एकैठाउँमा उभिनु जरुरी छ । यस्ता घटनालाई महिलाको मात्र मुद्दा बनाउनु हुँदैन, बलात्कारको घटना गराउनेहरु पुरुषहरु नै हुन्छन् जसमा हजुबुवा बुवा, दाजु, भाई लागायतका नजीकका आफन्तहरु नै देखिएका छन । हजुरबुवा बुवा भाइ, दाजु जस्तो पवित्र र सम्मानित सम्बन्धलाई कलंकित बनाएको छ । त्यसैले पुरुष भन्ने बित्तिकै गलत नजरले हेर्ने दिन नआओस् भन्नका लागि पनि महिलामाथि हुने यौनजन्य हिंसालाई सबैको मुद्दा बनाउनु पर्छ । महिलालाई दोषदिने प्रवृतिको अन्त्य भएमात्र यस्ता घटनामा कमी आउँछ ।
जिल्ला संयोजक
ओरेक नेपाल
कानुनी सुधार र तिनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ

गोमा महरा

Goma Mahara

महिलाबिरुद्ध हुने हिंसामध्ये जबरजस्ती करणी गंभिर प्रकृतिको फौजदारी अपराध हो । यसलाई प्राचीनतम् अपराधको रुपमा लिईन्छ । मानव सभ्यताको उषाकालदेखि नै समाजमा जबरजस्ती करणी सम्बन्धी अपराध अस्तित्वमा रहेको पाइन्छ । फरक यति हो कि पहिलेको तुलनामा यसको क्षेत्र र पहिचान फराकिलो भएको छ ।
प्राचीन अबधारणालाई हेर्ने हो भने यो अपराधलाई महिलाबिरुद्धको अपराधभन्दा पनि पिता वा श्रीमानबिरुद्धको संपत्ति सम्बन्धी अपराधको रुपमा लिइन्थ्यो । किनकी तत्कालिन समयमा महिला या त पिताको अधिनमा हुन्थिन् या त श्रीमानको । समाजको बिकासक्रमसंगै उल्लेखित धारणामा परिवर्तन भई यो अपराध महिलाको सतित्वबिरुद्धको अपराधको रुपमा बिकास भएको पाइन्छ । महिलाको सहमति बिना गरिने सहवासलाई जबरजस्ती करणी मानिने गरी अपराधको परिभाषा गरिने प्रचलनको शुरुवात १९औं शताब्दिदेखि भएको पाईन्छ । जबरजस्ती करणी संबन्धमा मुलुकी ऐन जबरजस्ती करणीको महलमा यसको परिभाषा, दण्ड सजाय, हदम्याद र क्षतिपूर्तिको ब्यवस्था गर्नुको साथै यो अपराधलाई कानूनले गंभिर प्रकृतिको राज्य बिरुद्धको अपराध समेत मानेको छ । जबरजस्ती करणीको अपराधलाई महिलाबिरुद्धको सबैभन्दा गंभिर र संबेदनशिल अपराध मानिनेभए तापनि यो अपराधले नेपाली समाजमा नराम्ररी जरा गाडेर बसेको तथ्यलाई भने नजर अन्दाज गर्न सकिँदैन ।

दाङ जिल्लाको सन्दर्भमा हेर्ने हो भने यो आर्थिक बर्षको १० महिनामा दाङ देउखुरी जिल्ला अदालतमा आएका जबरजस्ती करणीका मुद्दाहरु २३ वटा छन् । जसमा पीडितहरु तीन वर्षदेखि ६५ बर्षसम्मका उमेर समूहका छन् । जे जति संख्यामा यो मुद्दा बाहिर आएको छ त्यो भन्दा पनि बढी संख्यामा यो अपराध समाजमा हुने गरेको पाईन्छ । यो यौनजन्य हिंसा किन बढ्दो मात्रामा भैरहेको छ ? किन यो अपराधलाई नियन्त्रण गर्न र न्यूनिकरण गर्न सकिएको छैन ? भन्ने बिषयबस्तुलाई विश्लेषण गर्ने हो भने, अझैसम्म पनि यो पितृसत्तात्मक संरचनामा आधारित समाजले महिलालाई एउटा स्वतन्त्र ब्यक्तिको रुपमा मान्यता दिएको छैन । दोस्रो दर्जाको नागरिकको कित्तामा महिलालाई राखी एउटा भोग्य बस्तुको रुपमा मानेको छ । जसको कारणले नेपाली महिला आज यो हिंसा को पीडा सहन बाध्य छिन् । अशिक्षा र चेतनास्तरमा कमीको कारणले महिला बलात्कृत हुनुमा पनि समाजले महिलाको नै दोष देख्छ । राती किन हिडेको ? एक्लै किन हिडेको ? किन त्यस्तो छोटो लुगा लगाको ? भन्ने जस्ता प्रश्नहरु तेर्साएर महिलामाथि नै यो बलात्कृत हुनुको दोष थुपारिन्छ । यो अपराधलाई महिलाको चरित्र र इज्जतसँग बढी गाँसेर हेरिन्छ । जसको कारणले गर्दा यो यौनजन्य हिंसाबाट एकातिर महिला पीडित भई राखेका हुन्छन् भने अर्कोतिर सामाजिक लान्छना र ईज्जतको डरले यस्तो अपराधिक घटना बाहिर ल्याउँदैनन् । यसैमा कसैले आँट गरेर यो घटनालाई बाहिर ल्याउने हिम्मत गरे पनि प्रहरी प्रशासनले त्यति सहयोग गर्दैन । अपराधलाई राजनैतिक ढाक छोप गरिन्छ । पीडितले पनि गरीबि, इज्जत र सामाजिक प्रतिष्ठाको कारण बाहिर नै यो बिषयलाई मिलाउन खोज्छन् । पीडित पक्षलाई पनि जबरजस्ती करणी सम्बन्धी अपराधको कानूनी प्रक्रिया र प्राबधानको बारेमा स्पष्ट र सही जानकारी नहँुदा प्रमाण लोप भई सकेपछि उजुरीको लागि आउने अवस्था हुन्छ । हदम्यादको कमीले प्रमाण जुटाउन गाह्रो पर्ने । यी कुराहरुले पनि अपराधिक घटना कानूनको दायरा भित्र आउन नसकी यसको नियन्त्रण र न्यूनिकरण हुन नसकेको हो । जसको कारण अपराधले समाजमा अझ बढी प्रश्रय पाएको देखिन्छ ।

महिला बिरुद्धको यो जबरजस्ती करणीको अपराधलाई अन्त्य त गर्न सकिँदैन तर यसलाई नियन्त्रण र न्यूुनिकरण गर्न भने सकिन्छ । यसको लागि निम्नलिखित उपायहरु अबलम्बन गर्नु पर्दछ । महिलामाथि हुने यौनहिंसा तथा यसको कानूनी प्रक्रिया र प्राबधानहरु समेटेर माध्यमिक तहको पाठ्यक्रममा समाविष्ट गर्ने, सरोकारवालाहरुले बलात्कार महिलाबिरुद्धको जघन्य अपराधमात्र नभै सम्पूर्ण मानबता बिरोधी अपराध हो भन्ने कुरा ब्यक्ति र समाजमा स्थापित गर्न र यसमा महिलाको न कुनै दोष हुन्छ न त यो महिलाको सामाजिक इज्जत र प्रतिष्ठासँग जोडिएको बिषय नै हो भनेर बलात्कारलाई मानव बिरुद्धको अपराध हो भन्ने कुरालाई समाजमा स्थापित गर्न पहल गर्ने । त्यस्तै राज्यको तर्फबाट र सरोकारवाला संघ सस्थाहरुले यो अपराधमा प्रमाण तथा हदम्यादको महत्व र कानूनी प्रकृयाको बारेमा गाउँ टोलमा समूह बनाई जानकारीमुलक र सचेतनामुलक कार्यक्रम संचालन गर्ने, समाजमा बढ्दै गैरहेको अपराधिक मनोबृत्ति र यसलाई नियन्त्रण गर्न राज्यको रोकथाममूलक स्पष्ट अपराध नियन्त्रण नितिको तर्जुमा गरी प्रभाबकरी ढंगले कार्यान्वयन गर्नुपर्ने, दण्डहीनताको स्थिती बढ्दै जानुमा राज्यको दण्ड तथा कार्यान्वयन नीति कमजोर देखिएकोले स्पष्ट दण्ड तथा कार्यान्वयन नीति तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने, बलात्कारको मुद्दामा पीडितको बयान प्रमाणित गराउने ब्यबस्था गरी प्रमाणको भार पीडकमा रहनु पर्ने गरी कानून संशोधन हुनुपर्ने, साक्षी संरक्षण तथा उपस्थितिको प्रत्याभूतिका लागि साक्षी संरक्षण ऐन जारी गर्ने जस्ता कानुनी सुधार र तिनको प्रभावकारी कार्यान्वयनले यौन हिंसा न्यूनिकरण गर्न सकिन्छ ।
अधिवक्ता, जिल्ला बार एशोसियसन दाङ

बढ्दो यौन हिंसा न्यूनिकरणका उपाय
किशोरचन्द्र गौतम

kishorchandra gautam
यौन हिंसा अन्त्यकालागि लागि सजिलो र देखिने गरी भन्न मिल्ने उपाय हो पुलिस प्रशासनको सक्रियता सजगता र संवेदनशीलता । यसलाई सहयोग गर्ने अर्को तत्व हो प्रभावकारी र संवेदनशील न्याय प्रणाली । महिलालाई आजीवन मानसिक यातना खप्नुपर्ने बलात्कारजस्ता जघन्य अपराधलाई पनि मेलमिलाप र लेनदेनमा मिलाउनकालागि हाम्रा अर्धन्यायिक निकायहरु जसरी उदारता देखाउँछन् त्यो लज्जास्पद र भत्र्सनायोग्य छ । बलात्कारजस्तो यौन हिंसाको चरम स्वरुप प्रति त यस्तो रवैया देखिन्छ भने अरु अपेक्षाकृत नरम यौन हिंसालाई त अब अपराध नै मान्न छाड्ने मानसिकता बढ्दैछ । यो डरलाग्दो सामाजिक बिकृति हो ।
मानिसको मन असाध्यै जटिल विषय हो । यसमा जाग्ने काम भावना र त्यसको विकृत स्वरुपको उद्घाटन नै यौन हिंसा हो । यसको चरम स्वरुप बलात्कारका रुपमा प्रकट हुन्छ भने अन्य स्वरुपहरु त दैनिक जीवनमा छताछुल्ल पोखिएका हुन्छन् । यिनको न्यूनिकरणकालागि केबल राज्यको दण्ड व्यवस्थालाई मात्रै उपाय ठान्यौ भने यो एकाङ्की चिन्तन हुनेछ । यद्यपी यो आधारभूत र अनिवार्य तत्व हो तर सँगसँगै हामीले सामाजिक उपचारको प्रयास पनि निरन्तर अघि बढाउन जरुरी छ । यौन हिंसा न्यूनिकरण गर्न निम्न कुराहरुमा विशेष ध्यान पुग्नु पर्छ ।

१. पीडाबोधको दायरा अभिबृद्धि ः हामी आफ्नो ठान्ने आफ्नाहरुको दायरा साँघुरो बनाउँदैछौं । त्यसैले सामाजिक अपराधहरुप्रति उदासीन बन्दैछौं । आफ्नी छोरी, बहिनी र श्रीमतीले पीडा भोग्दा हामी ब्यथित हुन्छौं, आक्रोशित हुन्छौं तर त्यो पीडाको स्तर समाजका अरु महिलाको पीडामा ह्वात्तै घटेर जान्छ उदासिनताको स्तरसम्म । अरुका छोरी बहिनी पनि असुरक्षित हुने समाजमा मेरा छोरी बहिनी पनि सुरक्षित छैनन भन्ने अनभूति जरुरी छ । पीडाबोध गर्ने संवेदनशीलता जरुरी छ ।

२. साहित्य, कला, सङ्गीत, सिर्जना र शिल्पको बिकास ः हाम्रो यौनप्रति असहिष्णु समाजमा जान अन्जान रुपमा यौन आवश्यकता कुण्ठित हुन्छ अनि यसका विकृत स्वरुपहरु बाहिर आउँछन् । तर यदि हामीले यी माथि उल्लेखित सिर्जनात्मक शीपहरु समाजमा व्याप्त गर्न सक्यौ भने मानिसका अधिकांश यौन उद्वेगहरु शिथिल हुन्छन् । रुपान्तरित हुन्छन् । यसका लागि प्रत्येक गाविस नगरपालिकाहरुले आफ्नो बिकास निर्माण अंगको रुमपा यी मानव संशाधनलाई परिष्कृत पार्ने तत्वलाई आत्मसात गर्नु जरुरी छ । लेखक कलाकार र सम्बद्ध संस्थाहरुले सक्रियता देखाउन जरुरी छ ।

३. यौन शिक्षा ः यौन ईच्छा स्वभाविक भोक हो अपराध होइन भन्ने धारणा समेत हामीले स्थापित गर्न सकेका छैनौं । क्याम्पस लेबलका विद्यार्थीहरुमा समेत यौनप्रतिको धारणा स्पष्ट छैन । कसरी हामी यसको उद्वेगबाट बच्ने ?यसलाई कुण्ठा बन्न कसरी रोक्ने ? भन्ने जस्ता सरल सिद्दान्तसमेतबाट हाम्रा किशोर किशोरी मात्र हैन विवाहित श्रीमान् श्रीमती समेत अनभिज्ञ छन् ।
समग्रमा भन्नुपर्दा राज्यका संयन्त्रको मानसिकतामा र विधि व्यवस्थामा समेत आमूल परिवर्तन नहुँदासम्म र सामाकिज मनोबैज्ञानिक उपाय नखोजिँदासम्म न मेरा छोरीहरु सुरक्षित हुनेछन् न तपाईंका बहिनीहरु । आफ्नो चोट महशुस गरेर हामी प्रत्येक यौन हिंसासँग लडेनौ भने फरक फरक समयमा हामी सबै एक्ला एक्लै निरीह भएर रुनुको बिकल्प छैन ।
उप—प्राध्यापक
नेपाल संस्कृत विश्वविद्यालय
दण्डहीनताको संस्कृतिले बलात्कार मौलाएको छ
सुषमा गिरी

Sushma giri
बलात्कार अत्यन्त गम्भीर प्रकृतिको जघन्य अपराध हो । बिडम्बना नै भन्नुपर्छ घटनाहरु सार्वजनिक हुने क्रम हेर्दा अहिले बलात्कारका घटनामा दिनानुदिन बृद्धि भइरहेको देखिन्छ । बलात्कार जस्तो अपराधको बढ्दो तथ्यांकले हरेक संवेदनशील नागरिकको शीर लाजले निहुरेको छ । यो हरेक अधिकारकर्मीहरुको अत्यन्तै चासो र चिन्ताको विषय बनेको छ । बलात्कारका घटनाहरु बढ्नुका कारणहरु धेरै छन् ।
बलात्कारका घटना बढ्नुका पछाडि महिलालाई सिर्फ यौन सन्तुष्टिको साधन ठान्ने पितृसत्तात्मक सोचले काम गरिरहेको छ । व्यक्तिमा रहेको अपराधिक मानसिकता जसलाई त्यस्तो पितृसत्तात्मक सोचले बलात्कारजस्तो कुकर्म गर्न अग्रसर गराउन मुख्य भूमिका खेलेको छ । त्यस्तै महिलाको आर्थिक परनिर्भरता, प्रतिकूल सामाजिक परिवेश, त्रुटिपूर्ण मूल्यमान्यता, महिलालाई वस्तुको रुपमा लिने सोचले यस्ता अपराधका घटना हुने गरेका छन् । घटना न्यूनीकरण हुन नसक्नुका पछाडि आवश्यक कानुनको अभाव र भएका कानुनको कार्यान्वयनमा तदारुकता नदेखाउनु पनि हो ।
प्रचलित बलात्कारसम्बन्धी अनुसन्धान प्रक्रिया अत्यन्त लामो र त्रुटिपूर्ण छन् । प्रमाणको भार पीडितमाथि छ । त्यसमा पनि प्रमाणको लागि आधार बनाइएका कुराहरु नै त्रुटिपूर्ण छन् । न्यायको छडी समातेका प्रहरी, अदालत तथा प्रशासनमा रहेका केही व्यक्तिहरुमा रहेको पितृसत्तात्मक सोच र व्यवहारले बलात्कारीले सजिलै उन्मुक्ति पाइरहने वातावरण छँदैछ । दण्डहीनता मौलाएको छ । अपराधका घटनामा समेत अपराधीलाई उन्मुक्ति दिन राजनीतिक, प्रशासनिक लगायतका शक्तिकेन्द्रको दबाबले जसले जे गरे पनि हुन्छ भन्ने खालको अवस्था सिर्जना भएको छ । यसले गर्दा अपराधीको मनोबल उच्च हुने र पीडित न्याय प्रक्रियामै नआउने या न्यायप्रक्रियाबाटै बाहिरिने अवस्था छ ।

दिनहुँ सार्वजनिक हुने बलात्कार, सामूहिक बलात्कारका घटनाले हामी सबैलाई लज्जित बनाएको छ । यो लज्जाबाट मुक्ति पाउन हामी सबैको सतत् प्रयत्न हुनुपर्छ । सर्वप्रथम त बलात्कारसम्बन्धी कानुन तत्काल संशोधन गरी आवश्यक कानुन निर्माण र त्यो कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ । बन्द इजलास, निरन्तर सुनुवाईलाई प्रभावकारी रुपमा लैजानुपर्छ । बलात्कारका अपराधीलाई जन्मकैद र बलात्कार पीडितमाथि विभेद र कुनै पनि किसिमको लाञ्छना या हिंसा गर्नेलाई सामाजिक अपराधको रुपमा राखी त्यस्तालाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्छ । बलात्कारका घटनालाई अन्त्य गर्न आम मानवअधिकारकर्मी, राजनैतिक दल, नागरिक समाज, पत्रकार, संघसंस्थाहरुले समुदायस्तरदेखि लागिपर्नु पर्छ ।
अध्यक्ष
महिला मानव अधिकार रक्षकहरुको सञ्जाल, दाङ

बलात्कारीलाई जन्मकैद हुनुपर्छ

सुमित्रा पन्थी सुवेदी

Sumitra panthi subedi
हाम्रो समाजमा महिला तथा बालिकाहरुमाथि यौन हिंसा र बलात्कारका घटना बढिरहेका छन् । यो हामी सबैका लागि गम्भीर चिन्ताको विषय हो । यसलाई सरकारले तत्काल सम्बोधन गरी यसका विरुद्ध प्रभावकारी संयन्त्रको व्यवस्था गर्नुपर्दछ ।
हाम्रो समाजमा अत्यधिक बलात्कारका घटना हुनुमा यहाँ रहेको व्यापक लैंगिक विभेद नै प्रमुख हो । विद्यमान पुरुषवादी चिन्तन र संरचनामा परिवर्तन नहुनु, महिलालाई हेर्ने दृष्टिकोणमा मूलभूतरुपमा परिवर्तन नहुनु अथवा महिलालाई वस्तुको रुपमा हेर्ने सोच अद्यावधि रहनु, सामाजिक संरचनाले महिलाको शरीर र यौनिकतामाथि नियन्त्रण गर्नुजस्ता आधारभूत कारणले महिलाहरु बलात्कारजस्तो जघन्य अपराध सहन बाध्य छन् । त्यस्तै महिलाको स्वास्थ्य र प्रजननमा आफ्नो अधिकार स्थापित नहुँदा र बलात्कारसम्बन्धी कमजोर कानुन, भएका कानुनहरुको प्रभावकारी कार्यान्वयन नहुँदा अपराध गर्नेको मनोबल उच्च हुने र पीडित निरीह भएर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । ढिलासुस्ती र अपमानजनक न्यायप्रणाली र समाजमा बलात्कारीलाई नै संरक्षण दिईँदा यस्ता घटनाहरुमा कमी आउन नसकेको हो ।

बलात्कारको अन्त्य गर्न सरकारले प्रभावकारी रुपमा कदम चाल्नु पर्दछ । आवश्यक कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन पहिलो प्राथमिकता बन्नुपर्छ । कानुनमा बलात्कारीलाई जरिवानासहित जन्मकैदको सजाय तोकिनुपर्छ । त्यस्तै पीडितमैत्री छिटोछरितो र सहज न्यायिक प्रक्रिया अवलम्बन हुनुपर्छ । त्यस्तै सरकारले घरपरिवार र समाजमा लैंगिक समानता कायम गर्नुपर्दछ । व्यक्तिको लैंगिक मानसिकता परिवर्तनको लागि औपचारिक शिक्षामा पनि लैंगिक समानता र अधिकारको बारेमा अनिवार्य विषयगतरुपमा समावेश गरिनुपर्दछ । त्यस्तै बलात्कार जस्तो अपराधको अन्त्यका लागि व्यक्ति, परिवार र नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ । सबैभन्दा पहिले त बलात्कारीलाई समाजबाट बहिष्कार गर्नुपर्छ । आफ्नो घरपरिवार र समाजमा कुनै पनि बलात्कारका घटना भए त्यसका बिरुद्ध सबै एकजुट हुने र बलात्कारीलाई कानुनी कठघरामा उभ्याउने आँट गर्नुपर्दछ । मिडियाबाट बलात्कार विरुद्धका कार्यक्रम, बलात्कारलाई जघन्य अपराधको रुपमा स्थापित गराउने सामग्रीको प्रकाशन प्रसारण गर्नुपर्दछ । पीडितलाई सबैले सहयोग गर्ने, सम्मानजनक व्यवहार गर्ने, न्यायका लागि सम्बन्धित निकायसम्म पु¥याई बलियो सामाजिक सुरक्षा प्रदान गर्ने संस्कारको विकास गर्नुपर्छ । यसको नेतृत्व समाजका अगुवाहरुले लिनुपर्दछ ।
प्रिन्सिपल
चेतना महिला प्राथमिक विद्यालय, घोराही

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np