म मात्र कसैकी हुँ
म छोरी हुँ बाबाकी
चेली हुँ
मेरो आफ्नो छनोट हुँदैन
त्यसैले आफ्नो निर्णय गर्ने
हक पनि हुँदैन
बाबाले जहाँ पठाउनुहुन्छ
त्यहाँ जानुपर्छ निहुरिएर चुपचाप मैले
मैले आफ्नो बाटो निर्धक्क रोज्नु हुँदैन ।
दुलही हुँ म लोग्नेकी
बुहारी हुँ म सासु ससुराकी
त्यसकारण म घुँघट लगाउँछु
मेरो अनुहार अरुलाई देखाउनु हुँदैन
मेरो ईच्छा पनि हुँदैन
लोग्नेको ईच्छामा जिउनुपर्छ मैले
म हिँड्दा मेरो पदचाप सुनिनु पर्छ
म कता गई भन्ने खबर हुनुपर्छ ।
त्यसैले माया गरेर मलाई
पाउजु लगाईदिनुभएको छ ।
म पोथी हुँ
त्यसकारण
मैले ठूलो स्वरमा कराउनु हुँदैन
बास्यो भने त
दैलो मै काटिन सक्छ
मैले त ओथारो बस्नुपर्छ
चल्लाहरु कोरल्नु पर्छ
स्याहार्नु पर्छ
चुलोचौका लोटाउनुपर्छ
मेरो आफ्नो केही हुँदैन
किनकी
म आफै कसैकी हुँ
त्यसकारण
मैले आफ्ना लागि सोंच्नु हुँदैन
म आफ्नो लागि बाँच्ने पनि होइन
अरुका लागि नै बाँच्नु पर्छ
मेरो स्वास्थ्यको
आयुको ख्याल राख्ने होइन मैले
बाँच्नकालागि मलाई
लोग्नेको आयु चाहिन्छ
छोराको स्वास्थ्य चाहिन्छ
त्यसैले त तीजमा निराहार ब्रत बस्छु
कर्भा चौथ
जितिय पर्व मनाउँछु
श्रीमान्लाई मुड चल्यो कि
तलाक भन्न सक्छ
सम्बन्ध बिच्छेद गर्न सक्छ
घरबाट निकाल्न सक्छ
दाइजो नपुग्दा
जिउँदै जलाउन पनि सक्छ
त्यसैले म आफू केही होइन
मात्र म कसैकी हुँ ।