अभद्रता
समयको सानु फुर्को समातेर मैले
सडकमा उभिुन
अभद्रता ठान्छौ भने
मैले टेकेको माटोको कसम
म अभद्र छु यतिबेला !
मलाई लाखौं पटक भत्काउन आए
ऐतिहासिक दस्तावेजहरु
धार्मिक ग्रन्थहरु
गुरुवाका उपदेशहरु
घरमा बा भन्थे – आईमाई र गाई उस्तै हुन्
खुट्टा उचाल्यो भने कुटाई खान्छन्
मैले खुट्टा उचाल्नुको साटो
आफैलाई कोपरेकी छु कैयन् पटक
मेरा चोटहरु हेरेर
बेस्सरी हाँसेकै हो तिमी !
ए भद्र पुरुषहरु हो
म अभद्र छु यतिबेला !
तिमीले कोरेका लक्ष्मण रेखालाई
मैले आमाको कात्रो किन्न जाँदा तोडेकी हुँ
हो, म निस्किएकै हुँ मध्यराती
जुनकिरीहरुको साथ लागेर !
ए भद्र पुरुष !
तिमी जुनसुकै उपमा दिन सक्छौ
म यो भत्किएको मै जस्तो सडकमा
उभिएकी छु यतिबेला
मलाई हेरेर बज्न बिर्सिएको छ घण्टाघरले
सडकभरी बलेको छ रंगीन बिजुली
तिमी जुनसुकै रङको देख मलाई
म रंगीन सपनाहरुको कुम्लो हुँ यतिबेला !
ए भद्र पुरुष !
म अभद्र छु यतिबेला
तिमीलाई थाहा हुनुपर्छ
असाध्यै गर्मी बढेपछि बादलले पनि पानी बोक्छ
निष्पट्ट अँध्यारो रातमा
जुनकिरीको उज्यालोले पनि बाटो देख्छ
सँधै–सँधै भद्रतामा
त भित्ताको फोटो उभिन सक्छ
मन्दिरका मूर्तिहरु उभिन सक्छन्
चर्चका जिसस उभिन सक्छन्
मस्जिदका अल्लाह उभिन सक्छन्
त्यो पनि भुईंचालो नआउन्जेलसम्म
मत्र, भुईँचाले नआउन्जेलसम्म !