उत्साहित पिन्जु
तीनवर्षको उमेरदेखि नृत्य गर्न थालेकी पिन्जु मगर अहिले ९ वर्षको भइन् । अहिले उनी नृत्यमा निकै पारंगत भइसकेकी छिन् । गाउँघर र विद्यालयमा हुने सांस्कृतिक कार्यक्रमहरुबाट नृत्य प्रतिभा देखाउन थालेकी पिंजुले राष्ट्रियस्तरका कार्यक्रमहरुमा समेत नृत्य देखाएकी छिन् ।
जेठ २३ गते काठमाडौंमा भएको मिष्टर एण्ड मिस लिटिल च्याम्पमा पिन्जु विजेता भएकी थिइन् । राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा २५ जनालाई उछिनेर उनले लिटिल च्याम्पको ताज पहिरिइन् । यो प्रतियोगितामा विजेता बनेपछि उनी निकै उत्साहित भएकी छिन् ।
‘म निकै खुशी छु । यो क्षण मेरो जीवनका सबैभन्दा खुशीको क्षण हो । कलाक्षेत्रमा केही गर्ने मेरो सपना आज पूरा भयो ।’ ताज पहिरिए लगत्तै पिन्जुले उत्साहितभावमा प्रतिक्रिया दिइन्,‘पहिलो प्रयासमै मैले ठूलो सफलता पाएँ । यति ठूलो मंचमा प्रस्तुती दिएर विजेता बनें । यो सफलताले मेरो आत्मविश्वास बढाइदिएको छ ।’
प्रशुन संगीत विद्यालयले आयोजना गरेको सो प्रतियोगिता पिन्जुको लागि साँच्चिकै विशेष बन्यो । जीवनको पहिलो प्रतियोगितामा उनी सर्वाेत्कृष्ट भइन् । बालअधिकारसम्बन्धी सोधिएको प्रश्नमा उनले निकै सटिक र सुन्दर जवाफ दिएकी थिइन् ।
पिन्जु जनवादी गायिका प्रगति महरा र जनकलाकार रंजीत बुढा मगरकी छोरी हुन् । उनी भानुभक्त मेमोरियल पानीपोखरी, काठमाण्डौंमा कक्षा ४ मा अध्ययनरत छिन् । पढाइमा पनि उत्तिकै अब्बल पिन्जुको नृत्य र अभिनयमा विशेष दख्खल छ । म्यूजिक एप टिकटकमा उनको अभिनय र प्रस्तुती निकै आकर्षक छन् । भविष्यमा कुशल कलाकार बनेर चिनिइने पिन्जुका आकांक्षा छ ।