लकडाउनमा लुकेको लैङ्गिक हिंसा
कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलन नदिन नेपालमा चैत्र ११ देखि लकडाउन शुरु भयो । लकडाउन शुरु भएसँगै घरपरिवारका सदस्य लामो समय एकै ठाउँमा बस्ने मौका मिलेको छ । रोजगारी, पढाई या अन्य कारणले एक अर्कासँग टाढा टाढा बसेका परिवारका सदस्यहरु लकडाउनका बेला एकै ठाउँमा आए । घर फर्कनेको लामो लर्को लाग्यो । पारिवारिक मिलनका हिसाबले कतिपयका लागि लकडाउन अवसरको रुपमा पनि आयो । अरुबेला बेफुर्सदी हुँदा परिवारलाई समय दिन नपाएको गुनासो गर्नेहरुले अहिले मौका पाएका छन् । परिवारका सदस्य सबै सँगै हुँदा अनेकन परिकार पकाएर खाएको, रमाएर बसेको दृष्टान्तहरु सामाजिक सञ्जालतिर छरपष्टै देखिएका छन् । यो सकारात्मक पाटोसँगै लकडाउनका बेला लैङ्गिक हिंसाका कहालीलाग्दा भित्री पाटो भने हामीकहाँ उति उजागर भएको छैन । हाम्रो जस्तो पितृसत्तात्मक मूल्यमा आधारित समाजमा लकडाउनको अघिल्लो दिनसम्म दैनिक हुने लैङ्गिक हिंसाका घटनाहरु लकडाउन शुरु भएसँगै कम भए भन्न सकिने अवस्था भने छैन ।
नेपाल प्रहरीमा बर्सेनि दर्ता हुने लैङ्गिक हिंसाका घटनाको ठूलो हिस्सा घरेलु हिंसाले ओगट्छ । घरेलु हिंसाको ९० प्रतिशत हिंसा श्रीमान् र श्रीमतीबीच हुने गर्छ भनिन्छ । नेपालमा महिला हिंसाका घटनाको उजुरी पछिल्लो एक दशकमा १० गुणाले बढेको प्रहरीको तथ्याकं छ । गएको आर्थिक वर्षमा लगभग तीन हजारको संख्यामा बलात्कार र बलात्कारको प्रयास अनि झण्डै १५ हजार घरेलु हिंसाका उजुरी प्रहरीमा दर्ता भएका थिए । विगतका वर्षहरुमा प्रहरीमा पर्ने लैङ्गिक हिंसाको उजुरी हेर्दा संख्यात्मक रुपमा निरन्तर बृद्धि हुने गरेका छन् । यसका अतिरिक्त अझै पनि लैङ्गिक हिंसाका पीडितहरुमध्ये धेरै न्यायिक प्रक्रियामा नै जाँदैनन् भन्ने तथ्य पनि उत्तिकै बलियो छ ।
विभिन्न अध्ययन अनुसन्धानहरुले पीडितहरुप्रतिको सामाजिक लाञ्छना तथा संभावित थप अप्ठ्यारो आंकलन गरेर यी मध्ये केही आफूले भोग्दै आएको पीडामा उजुरी गर्दैनन् भने केहीलाई उजुरीबारे आवश्यक सूचना जानकारी समेत हुँदैन भन्ने देखाएका छन् । प्रहरी प्रशासन तथा न्यायालयप्रतिको अविश्वास र गोपनियताको अभावले पनि पीडितहरुलाई न्यायकालागि अग्रसर हुन उत्प्रेरित गर्दैन । अहिले लकडाउनकाबेला यो असहजता झन बढेर गएको छ ।
कतिपय परिवारमा लागूऔषध तथा मादक पदार्थ सेवनले घरमा कलहको सिर्जना भई महिलामाथि हिंसा हुन पुगेको छ । लकडाउनकाबेला घर बाहिर तथा कार्यस्थलमा हुने हिंसा हुने कुरा भएन तर यो बीचमा घरेलु हिंसा तथा यौनजन्य हिंसा बढेको वताइन्छ । यसखालका हिंसाबाट तत्काल उपचार पाउने बाटो नदेख्दा कतिपय पीडित महिलाले आत्महत्या गरेका घटना सार्वजनिक भएका छन् । प्रहरी तथ्यांकले लकडाउनको समयमा आत्महत्याका घटना बढेको देखाएको छ । यो बेला आर्थिक, सामाजिक, शारीरिक तथा मानसिक हिंसा बढिरहेको छ । तर प्रहरीमा लैङ्गिक हिंसाका उजुरी पर्न सकेका छैनन् । मानिसहरू घरभित्रै बस्न बाध्य भएर उजुरी नभएको पनि हुनसक्छ । घरेलु हिंसालाई सामान्य रुपमा लिने प्रचलनले पनि यस्तो भएको हुन सछ ।
त्यसो त यस्तो संकटको बेला उजुरी गर्न सक्ने गरी विभिन्न हटलाइनको व्यवस्था गरिएको पनि छ । महिला आयोगको हटलाइन ११४५, प्रहरीको १०० नम्बरमा फोनमार्फत उजुरी गर्न सक्ने व्यवस्था छ । जिल्ला प्रशासन कार्यालय दाङले ०८२–५६३५४० नम्बरलाई हटलाइनको रुपमा व्यवस्था गरेको छ । गैरसरकारी संस्थाहरुले पनि यस्तो व्यवस्था गरेका छन् । तर पीडितहरुले यी नम्बरलाई पर्याप्त उपयोग गर्न सकिरहेका छैनन् । यसको कारण के हुन सक्छ ? यी नम्बरबारे आम रुपमा सूचना पुगेको छ त ? हिंसा सहँदै घरभित्र गुम्सिएर बस्नुपर्ने अवस्था त छैन ? यसरी हटलाइनमा गरिने उजुरीमा रेस्पोन्स त भएको छ ? सरोकारवाला सबै गम्भीर बन्नु जरुरी छ । लकडाउनका बेला राहत बोकेर प्रभावितको घरदैलोमा पुग्नेहरुले हिंसा संबोधनका उपायबारे सूचना पनि सँगसँगै दिने गरौं । लैङ्गिक हिंसाबिरुद्ध जनस्तरसम्म पर्याप्त सूचना पुर्याऔं । घरभित्र हिंसा नहुने वातावरण सहेर होइन, अन्यायको निरुपण गरेर मात्र संभव छ भन्ने कुरामा सबैले जोड दिऊँ ।
समरेखा म्यागजिन : फागुन-चैत, २०७६ अंक