Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

सेयर बजारमा कम्पनी छनौट गर्ने आधारहरू

         भरत खरेल ||   343 Views   ||   Published Date : 20th June 2021 |

 

विषय प्रवेश 
सेयर बजारमा उपयुक्त कम्पनी छनौट गर्नु लगानीकर्ताका लागि एक चुनौती हो । लगानी गर्नुको मुख्य उद्देश्य भनेको पैसा बचाउनु र बढाउनु हो । आजको विश्वव्यापी अर्थव्यवस्थामा उचित लगानीको निर्णय विश्लेषण जटिल विषय हो । लगानीकर्ताहरू प्रायः यसैमा रुमलिएको पाइन्छ ।Bharat kharel

आज एउटा कम्पनी ठीक लाग्छ भोली अर्कै । लगानीकर्ताले व्यवसायमामा लगानी गर्नुपर्दछ । विश्वविख्यात लगानीकर्ता वारेन बफेटले भनेका छन् – “एकदमै सबल वित्तीय सूचक भएका कम्पनीको सेयर किनिसकेपछि वर्षौसम्म बिर्सनुपर्छ ।” सेयर बजारमा कम्पनी छनौट गर्न व्यक्ति तथा संस्थाका आफ्नै तरिका एवम् विभिन्न आधारहरू हुन सक्तछन् । यसै सन्दर्भमा सेयर बजारमा कम्पनी छनौट गर्ने केही विश्व प्रचलित एवम् प्रभावकारी आधारहरू यहाँ प्रस्तुत गरिएको छ ।
प्रति सेयर आम्दानी
करपछिको नाफालाई कुल सेयर सङ्ख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रति सेयर आम्दानी भनिन्छ (भट्टराई, २०१६ : ९७) । प्रति एकाइ सेयरले कति रुपैँया आम्दानी गरेको छ भन्ने कुरालाई प्रति सेयर आम्दानीले देखाउँदछ । उच्च प्रतिफल दिने कम्पनीको सेयरमा प्रायः लगानीकर्ता आकर्षित हुन्छन् । प्रतिसेयर आम्दानी सेयरको मूल्य मूल्याङ्कन मापन गर्ने एक महत्वपूर्ण आधार हो । प्रति सेयर आम्दानी उच्च भएको कम्पनीलाई असल मानिन्छ भने कम भएकालाई कमसल मानिन्छ । कम्पनीले गर्ने कुल नाफा भन्दा प्रति सेयर आम्दानी हेरेर लगानी गर्नु बढी लाभदायक हुन्छ । सुरु र अन्तिम वर्षसम्मका तीन वर्षे औसत प्रयोग गरेर विगत दश वर्षमा प्रति सेयर आम्दानीमा कम्तीमा एक तिहाइको न्यूनतम वृद्धि भएको हुनुपर्छ (ग्राह्म, सन् १९७३ : ३४८) ।

नयाँ कम्पनीले भने उसको हकमा थोरै प्रति सेयर आम्दानी देखिए तापनि भविष्यमा राम्रो गर्न सक्ने क्षमता भएको पनि हुन सक्छ । यसतर्फ पनि विचार पु¥याउनु पर्दछ । बढी प्रतिसेयर आम्दानी भएको कम्पनीमा लगानी गर्नु बढी प्रतिफलमूलक हुने गर्छ । प्रति सेयर आम्दानी भाग लाग्ने नाफा भए पनि सबै नाफा लगानीकर्तालाई वितरण नहुन पनि सक्छ । लाभांश वितरण सम्बन्धमा कम्पनी र नियामक निकायका आ–आफ्नै नियम हुन सक्दछन । आम्दानीबाट केही नाफा कम्पनीले आफै राखेर मात्र सेयरधनीलाई बाँढ्न सक्छ ।

लगानी आयको वृद्धि प्रवृत्ति
कम्पनीले आफ्नो वार्षिक आम्दानी एवम् लगानीलाई कसरी वृद्धि गरिरहेको छ भन्ने कुरा निकै महŒवपूर्ण हुन्छ । लगानीको लागि कम्पनी छनौट गर्दा केही वर्ष पहिलेदेखि औषतमा वार्षिक १२% भन्दा माथि आम्दानी वृद्धि गरिरहेका कम्पनी यसका मालिकहरूको लागि पर्याप्त वित्तीय सन्तुष्टिको स्रोत हुन सक्छन् (फिसर, सन् २००३ : १०८) । कम्पनी अति राम्रो छ, उच्च आम्दानी छ तर अब त्यो भन्दा माथि जाने स्थिति नभएको अवस्थामा सेयर मूल्य अधिक छ भने उक्त सेयर बेच्दा उपयुक्त हुन्छ । अहिलेको अवस्थामा आम्दानी राम्रो देखिएको तर विगत तीन वर्षदेखिको वार्षिक वृद्धिदर ऋणात्मक वा तुलनात्मक रूपमा राम्रो नभएका कम्पनी भविष्यको लागि राम्रो मानिँदैन । यसले कम्पनीको आम्दानी घट्दै गएको वा समय सापेक्ष रूपमा अगाडि बढ्न नसकेको कुरालाई जनाउँछ । लगानीमा प्रतिफल कम्पनीको कार्यसम्पादन तथा नाफा आर्जनको मूल्याङ्कन गर्ने अन्तिम औजार हो । नाफा कमाउने लक्ष्य रहेका कम्पनीको अन्तिम लक्ष नाफा नभई लगानीमा प्रतिफल नै हुनुपर्छ (भट्टराई, २०१६ ः ११०) । यो जति धेरै भयो त्यति नै राम्रो मानिन्छ । त्यसैले कम्पनी छनौट गर्दा लगानीमा प्रतिफल १०% भन्दा माथि भएका छनौट गर्नु उपयुक्त हुन्छ ।

मूल्य आम्दानी अनुपात
कम्पनीको तत्काल कारोबार भएको प्रति सेयर मूल्यलाई पछिल्लो प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै मूल्य आम्दानी अनुपात हो । यही अनुपातलाई आधार बनाएर संसारका धेरै लगानीकर्ताले सेयर खरिद बिक्रीको निर्णय लिने गरेका छन् । कम्पनीले आम्दानी गरेको एक रुपैँयाका लागि दोस्रो बजारमा लगानीकर्ताले कति गुणा तिर्न तयार छन् भन्ने कुरालाई मूल्य आम्दानी अनुपातले देखाउँछ । अन्तिम टिपोट गरिएको किताबी मूल्य (Book Value) भन्दा सेयरको मूल्य १.५ गुणा भन्दा बढी हुनु हुँदैन । मूल्य आम्दानी अनुपात (PE) १५ भन्दा कम हुनुले सेयरको मूल्य कम मूल्याङ्कन भएको औचित्य प्रमाणित गर्न सक्दछ (ग्राह्म, सन् १९७३ : ३४९) । कम्पनी छनौट गर्दा लगानीकर्ताले मूल्य आम्दानी अनुपात कम भएका कम्पनी छनौट गर्नुपर्दछ । ठ्याक्कै यति अनुपात भएका कम्पनी राम्रा हुन्छन् भनेर भन्न सकिँदैन किनकि कम्पनीको प्रकार, भावी रणनीति, कम्पनीले दिने प्रतिफल आदि जस्ता कुराहरूले पनि यसलाई प्रभाव पारेको हुन्छ । सामान्यतया मूल्य आम्दानी अनुपात १० देखि १५ सम्म भएका कम्पनी सामान्य एवम् लगानी गर्न योग्य अवस्थाका हुन्छन् । यो अनुपातभन्दा कम भएका कम्पनी कि त वास्तवमै कम मूल्याङ्कन भएका छन् र खरिद गर्न योग्य हुन्छन् वा भविष्यमा ठूलो दुर्घटना हुन सक्ने खालका हुन्छन् भने अर्कोतर्फ उक्त अनुपात बढी भएका कम्पनीले भविष्यमा राम्रो व्यापार विस्तार र आम्दानी गर्न सक्ने सम्भावना बोकेका हुन्छन् या त अनियमितताको कारणले उक्त कम्पनीको मूल्य आम्दानी अनुपात अधिक भएको हुन सक्छ । विश्वसनिय स्रोत, सूचना अथवा सही विश्लेषण विना निकै कम वा बढी मूल्य आम्दानी अनुपात भएका कम्पनीको सेयर खरिद गर्नु हुँदैन ।

लाभांश
कम्पनीमा लगानी गरेपछि हरेक लगानीकर्ताले लाभांशको आशा राखेका हुन्छन् र लगानी गर्नुको प्रमुख उद्देश्य पनि यही नै हो । जागिरमा महिनैपिच्छे प्राप्त हुने तलब जस्तो सेयर बजारमा आम्दानीको निश्चितता हुँदैन (भट्टराई, २०७७ : २७०) । यही कारणले गर्दा हामीले कम्पनी छनौट गर्नु अघि जहिले पनि उक्त कम्पनीको लाभांश इतिहास कस्तो छ र लगानीकर्ताले नियमित रूपमा उचित मुनाफा प्राप्त गरेका छन् कि छैनन् भन्ने कुराको गहन विश्लेषण गर्नुपर्छ । यसको लागि कम्पनीको कम्तीमा पाँच वर्षको लाभांशको इतिहास हेर्नुपर्छ । यसरी विगत पाँच वर्षको तथ्याङ्कका आधारमा कम्पनीले नियमित रूपमा लगानीकर्तालाइ उचित लाभांश वितरण गरेका र वार्षिक लाभांश चक्रवृद्धि दर ५% भन्दा बढी भएका कम्पनी लागनीका लागि उपयुक्त हुन्छन् । कम्पनी छनौट गर्दा उमेर, आवश्यकता र योजनालाई पनि ख्याल गर्नु आवश्यक हुन्छ । यदि हामि जवानी अवस्थामा छौँ र लगानीको थप अवसर खोजिएको हो भने लाभांशलाई लगानीमा बदल्ने कम्पनी खोज्नु उपयुक्त हुन्छ । तर यदि सेवानिवृत्त अवस्थामा उमेर माथि छ अथवा विविध कार्यको लागि समय समयमा नगद आवश्यकता पर्दछ भने परिपक्क भएका यथेष्ट नगद लाभांशमा जोड दिने कम्पनी छान्नु उपयुक्त हुन सक्दछ ।

संस्थागत सुशासन
कम्पनीलाई सही दिशामा लैजाने प्रमुख जिम्मेवारी सञ्चालकहरूको हो । संस्थागत सुशासन संस्थाले अवलम्बन गर्ने एउटा नियन्त्रणको संयन्त्र हो । यसले सेयरधनीहरूको कल्याणका लागि सम्भावित व्यक्ति केन्द्रित स्वार्थलाई नियन्त्रण गर्दछ (लार्कर् र टायन, सन् २०१५ :४०) । कम्पनी राम्रो बनाउन असल आचरण, पारदर्शिता, इमानदारिता एवम् जवाफदेहिता आवश्यक पर्छ । सञ्चालक राम्रा नभएका कम्पनीका वित्तीय अवस्था क्षणिक रूपमा राम्रो भए तापनि त्यो दीर्घकालिन हुन सक्दैन र त्यो त केवल एउटा पासो मात्र हुन सक्छ । उनीहरूले सही तरिकाले कार्यसम्पादन गर्न सकेमा कम्पनीको आफ्नै किसिमको छवि बन्दै जान्छ । सेयरको सही मूल्य निर्धारण हुन्छ र कम्पनीमा आश्रित सबैको भविष्य उज्ज्वल हुन्छ । सुशासन कमजोर भएका कम्पनीको सेयर मूल्य बजार बढ्दै जाँदा पनि अन्य कम्पनीको तुलनामा यसको मूल्य नबढ्ने र घट्दो बजारमा थेग्नै नसकिने हिसाबले तल झर्ने समस्या आउँछ । कम्पनीको लापारबाहीले हुन जाने गल्तीबाट आम सर्वसाधारण सेयरधनी समेत कारवाहीको भागिदार हुन पुग्छन् । यसले एकातिर सेयरको मूल्यमा निकै उतारचढाव हुन्छ भने अर्कोतर्फ कारोवार रोक्का भएमा आफ्नो सम्पत्ति समेत बेच्न नपाउने स्थिति आउँछ । यसरी आचरण सही नभएका अक्षम सञ्चालकहरूद्वारा सञ्चालित कम्पनीमा कदापि लगानी गर्नु हुँदैन ।

कम्पनी छनौट गर्दा सञ्चालकहरूको बारेमा राम्रोसँग बुझ्नुपर्छ । उनीहरूद्वारा सञ्चालित अन्य कम्पनी पनि छन् भने ति कम्पनीहरूको प्रगति कस्तो छ भन्ने कुरालाई समेत ध्यान दिनुपर्छ । सर्वसाधारणले कम्पनीको सुशासन एवम् कार्यकुशलता कस्तो छ भन्ने कुरा सहज रूपमा बुझ्न अहिले विकसित मुलुकमा रेटिङ्स मेट्रिक्सको विकास भएको छ । यसले सरोकारवालाको मत, कम्पनी, सञ्चालक एवम् अन्य कैयौँ धेरै कुराहरूको अध्ययन अनुसन्धानको आधारमा उक्त तथ्याङ्कलाई सटीक रूपमा चित्रण गर्दछ ।

तरलता एवम् मात्रा
विश्वव्यापी रूपमा सेयरको त्यस्तो कुनै एकिन सङ्ख्या छैन जसले कम्पनीको पर्याप्त तरलता निर्धारित गर्दछ । सेयरको तरलता एवम् मात्रा एकआपसमा परस्पर हुन्छन् । तरलताले सम्पत्तिको मूल्यलाई असर नगरी कसरी सुरक्षित एवम् सहज तरिकाले सेयर खरिद बिक्री गर्न सकिन्छ भन्ने कुरा दर्शाउँछ । सेयरको वास्तविक मूल्यमा खरिद तथा बिक्रीकर्ता कति सहज रूपमा उपलब्ध हुन्छन् भन्ने कुरालाई बुझाँउछ । सेयरको तरलताले उक्त कम्पनी चलायमान् हुन सहयोग गर्दछ । कम्पनी छनौट गर्दा लगानीकर्ताले चाहेको समयमा सहजै खरिद एवम् बिक्री गर्न सकिने खालका सेयर पहिलो प्राथमिकतामा राख्नुपर्छ । नयाँ एवम् उच्च आम्दानी गरिरहेका कम्पनीले प्राप्त नाफा तथा आम्दानीलाई पुनः लगानीमा बदल्छन् भने परिपक्व भैसकेका कम्पनी जसको लगानी गर्ने अन्य ठाँउ हुँदैन उनीहरू नगद प्रवाहमा जोड दिन्छन् । यसरी नयाँ एवम् थोरै पुँजी भएका कम्पनीले प्राप्त लाभांशलाई स्थिर रहन नदिई चलायमान एवम् पुनः लगानीको अवसर दिने गर्दछन् । यसले गर्दा कम सेयर जारी भएका तर उच्च प्रतिफल दिन सक्ने कम्पनीको मूल्य चाँडै एवम् धेरै बढ्ने गरेको पाइन्छ ।

मूल्य इतिहास
सेयर सस्तो हुँदैमा राम्रो प्रतिफल दिन नसक्ने र महँगो हुँदैमा बढी प्रतिफल दिन्छ भन्ने धारणा गलत हो । सस्तो सेयर, बीचको मूल्यको सेयर र महँगो मूल्यको सेयर सबैको राम्ररी लेखाजोखा गरेर मात्र लगानी गनुपर्ने हुन्छ । सकारात्मक आम्दानी दिने त्यस्ता कम्पनीको पहिचान गर्ने एक मात्र तरिका ऐतिहासिक सेयर मूल्यहरू मार्फत हो । यो लगानी अनुसन्धानको एक अनिवार्य अंश पनि हो । जब सेयर बजारमा कुनै अनुसन्धान नगरी लगानी गरिन्छ भने त्यो केवल मौकाको खेल बन्छ । मूल्य इतिहास अध्ययनको अर्को महत्वपूर्ण पक्ष के हो भने प्रकोप तथा प्रतिकूल अवस्थामा सेयरको मूल्य कति सम्म तल झर्न सक्छ भन्ने कुराको आँकलन यसबाट सहजै गर्न सकिन्छ । लाभांश एवम् मूल्य इतिहासले पोर्टफोलियोको मूल्य निर्धारण गर्दछ । यद्यपि छोटो समयको लागि अस्थिरता हुन सक्छ (फेवर, सन् २०१३ :२) ।
प्रायः लगानीकर्ताहरूले कम्पनी छनौट गर्दा मूल्य इतिहास हेर्ने गरेको पाइन्छ । यसले अन्य कुराहरू सामान्य भएको अवस्थामा सेयरको मूल्य कति तल वा माथिसम्म जान सक्छ भन्ने पूर्वानुमान लगाउन मद्दत गर्छ । मूल्य इतिहासले देशको सामाजिक, आर्थिक एवम् राजनीतिक परिवर्तनहरूमा उक्त सेयरले कस्तो व्यवहार प्रदर्शन गर्दछ भन्ने प्रस्ट जानकारी दिन्छ । त्यसैले प्रतिकूल अवस्थामा तुलनात्मक रूपमा सेयरको मूल्य कम तल झर्ने तर अनुकूलतामा फड्को मार्ने खालका कम्पनी छनौट गर्नुपर्छ । यसलाई मूल्य इतिहासबाट पत्ता लगाउन सकिन्छ ।
प्रविधि र अनुसन्धान
प्रविधिले व्यवसायमा धेरै महत्वपूर्ण प्रभाव पार्दछ । प्रविधि र अनुसन्धानले दुवै मूर्त र अमूर्त फाइदाहरू दिन्छन् जसले पैसा बनाउन र ग्राहकहरूको माग अनुसार नतिजा उत्पादन गर्न सक्दछ । यसले व्यवसायिक दक्षता एवम् सुरक्षालाई अगाडि बढाउँदै विश्वस्त हुन मद्दत गर्दछ । कम्पनीले कत्तिको राम्रो उत्पादन गरिरहेको छ वा यसको छवि कति शक्तिशालि छ भन्ने कुराले सधैँ राम्रो हुन्छ भन्ने हुँदैन । कम्पनीले केही पैसा नयाँ व्यवसाय विकासको लागि खर्च गर्नैपर्छ, जबकी अनुसन्धान र विकास खर्च आज आम्दानीको स्रोत होइन । यो विशेषत कम्पनीलाई नयाँ विचार र उपकरणका साथ भोलि थप आयाम एवम् कायापलट गर्नसक्ने लगानी हो (ग्राह्म, सन् १९७३ : ३०५) ।

त्यस्तै अनुसन्धानले कम्पनीको भावी अवस्थालाई चित्रण गर्दछ । आगामी दिनमा कम्पनीले के कस्ता नयाँ कुराहरूको विकास गर्न सक्दछ भन्ने कुरा अनुसन्धानले निर्धारण गर्छ । धेरै ठूला ठूला कम्पनीहरूले आफ्नो आयको धेरै हिस्सा अनुसन्धानमा खर्च गरिरहेका हुन्छन् किनभने उनीहरूलाई यो कुरा राम्रोसँग थाहा छ कि आगामी दिनमा ग्राहकको लागि नयाँ कुरा दिन सकिएन भने कम्पनी पछाडि पर्छ । नयाँ उत्पादनहरू सिर्जना गर्न वा पुरानोलाई सुधार गर्नु बाहेक अनुसन्धान तथा विकासले व्यापार रणनीतिलाई पूरक पनि बनाउँदछ । कोरियन कम्पनी सामसुङ्ले विभिन्न १२ देशमा १४ अनुसन्धान केन्द्र, ७ कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) केन्द्र अन्तर्गत १० हजारमाथि अनुसन्धानकर्ता परिचालन गरेको छ र वार्षिक १५ अरब डरल अनुसन्धान एवम् प्रविधिको खोजीमा खर्च गरिरहेको छ ।

तुलना एवम् पूर्वाग्रह
कुनै कम्पनीको सेयर खरिद गर्न विना आधार हुरुक्कै हुने अनि कुनै कम्पनीको नामै लिन नचाहने कुरा बजारको स्वतन्त्र लगानीकर्ताको हैसियतले हेर्दा घातक हुन सक्छ । सेयर खरिद बिक्रीमा कुनै निश्चित कम्पनीको सेयरमा पूर्वाग्रह नराख्नु नै राम्रो हुन्छ । कुनैपनि कम्पनीको सेयर खरिद गर्नुअघि उक्त कम्पनीको वस्तु तथा सेवासँग मिल्दाजुल्दा अन्य कम्पनीका वित्तीय विवरण, सेयर सङ्ख्या, कर्मचारी सङ्ख्या, आम्दानी, खर्च, लाभांश एवम् अन्य विविध पक्षहरूको तुलनात्मक अध्ययन गर्नुपर्छ । यसरी तुलना गर्दा अन्य कम्पनीको भन्दा नराम्रा पक्ष थोरै र राम्रा पक्ष धेरै भएका कम्पनी आफ्नो रोजाइमा पार्नुपर्छ । यसरी लगानीलाई विविधिकरण गर्दा हरेक क्षेत्रमा तुलनात्मक रूपमा राम्रा मानिएका सेयर छनौट गर्दै आफ्नो सम्पत्ती थैली (Portfolio) बलियो बनाउनुपर्छ ।

धेरै लगानीकर्ता केवल नाम चलेका वा आफूले सुनेका कम्पनी मात्र राम्रा हुन भन्ने भ्रमपूर्ण दम्भ पालेका हुन्छन् । राम्रो नराम्रोको लेखाजोखा कम्पनीको आर्थिक स्वास्थ्यको आधारमा तय गर्नुपर्छ । वित्तीय रूपमा राम्रो आम्दानी तथा अथक प्रयास गरिरहेको कम्पनी जसले पुराना खालका वस्तुहरूको उत्पादन गरिरहेको हुन्छ । त्यस किसिमका कम्पनीहरूमा आम लगानीकर्ताको खासै नजर परेको हुँदैन । यसको विपरीत सानदार रूपमा पाइलट प्रोजेक्टको नाम दिएर प्रस्तुत भएका नयाँ कम्पनीहरूको सेयर खरिद गर्नलाई अधिक मूल्य तिर्न लगानीकर्ता तयार भैरहेका हुन्छन् । उनीहरूमा यस्तो मनोविज्ञान कायम हुन जान्छ कि घुमाउरो बाटोमा पुरानो कम्पनीको गाडी १० किमि प्रतिघण्टा चलिरहेको छ भने नयाँको १०० किमि प्रतिघण्टा चलिरहेको हुन्छ (फिसर, सन् २००३ :९२) ।

निष्कर्ष
साधारण लगानीकर्ताको लागि कैयौँ कम्पनीका वित्तीय विवरणको अध्ययन गरी निचोडमा पुग्न कठिन छ । कम्पनी सही भयर मात्रै हँुदैन । खरिद गर्ने समय पनि सही हुनुपर्दछ । तब मात्र प्रयाप्त लाभ लिन सकिन्छ । कुनै एक कम्पनीमा मात्र आफ्नो कुल लगानीको दश प्रतिशत भन्दा धेरै लगानी गर्नु हुँदैन । लगानी सेयरमा नभई व्यवसायमा लगाउने चीज हो । त्यसैले नियमित रूपमा उच्च प्रतिफल दिन सक्ने, थप लगानी क्षमता भएका, प्रयाप्त तरलता, संस्थागत सुशासन काम राख्न सफल, प्रविधि एवम् अनुसन्धानले नयाँ आयामको दिशा निर्देश गरेका र कम मूल्याङ्कन कायम भएका कम्पनी लगानीकर्ताको रोजाइमा हुनुपर्छ ।
सन्दर्भग्रन्थसूची
ग्राह्म, बेन्जामिन. द इन्टेलिजेन्ट इन्वेस्टर. चौथो संस्क. अमेरिका : हार्पर विजनेस इसेन्सियल्स, सन् १९७३ ।
डेभिड, लार्कर् र टायन व्रेन. कर्पोरेट गभरेन्स म्याटर्स. अमेरिका :पिएर्सन एजुकेसन लिमिटेड, सन् २०११ ।
फबेर. मेबने. सेयरहोल्डर इल्ड. अमेरिका :द आइडियल फाम, सन् २०१३ ।
फिसर, फिलिप ए. कमन स्टक्स एन्ड अनकमन प्रोफिट्स. दोस्रो संस्क. अमेरिका :विली जोन एन्ड सन्ज, सन् २००३ ।
भट्टराई, रवीन्द्र. सेयरको आधारभूत विश्लेषण. काठमाडौं :एस.आर.सी.एस., २०७३ ।
नेपालको सेयर बजार. बाह्रौं संस्क. काठमाडौं :एस.आर.सी.एस., २०७७ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np