Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

निषेधाज्ञाको एक महिनामा दुई सय बढी लैंगिक हिंसा

         समरेखा डेस्क ||   19 Views   ||   Published Date : 21st June 2021 |

नेपाल सरकारले पटक–पटक निषेधाज्ञाको समय अवधि थप गरी नागरिकलाई कोरोना महामारीबाट सुरक्षित राख्ने प्रयास गरेको छ । तर यस्तो विपतको अवस्थाले महिला तथा बालिकामाथि हिंसा हुने वातावरण समेत बनाएको छ । 

दाङकी ४५ बर्षीय महिलाका श्रीमान् यही निषेधाज्ञाको समयमा बैदेशिक रोजगारीबाट फर्केर आए । विदेशमा बस्दादेखि नै श्रीमतीमाथि अनेक शंका गर्दै चारित्रिक लाञ्छना लगाउँदै आएका उनले घरमा आएपछि पनि त्यही क्रम दोहोर्याए । यही बैशाख ११ गते राती ८ बजे चारित्रिक लाञ्छना लगाउँदै कुटपिट गरे । घाँटी अठ्याएर मार्ने प्रयास गरेपछि उनी जसोतसो भागेर ज्यान बचाउन सफल भइन् । रातभर सडकको बास भयो उनको । भोलिपल्ट विहान बैशाख १२ गते आफै संस्थाको सम्पर्कमा आइन् । संस्थाको समन्वयमा प्रहरीमा ज्यान मार्ने उद्योगमा घटना दर्ता त भएको छ तर बन्दावन्दीको कारणले घटनाको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

दुई वर्ष अघि प्रेम विवाह गरेकी २६ बर्षीय एक युवतीलाई दाइजोको निहुँमा श्रीमान् तथा परिवारका सदस्यले दिनहुँ यातना दिन थाले । यही जेठ १० गते कुटपिट तथा मानसिक यातना दिएपछि सहन नसकेर उनी दिदीको घरमा बस्दै आएकी छन् ।
त्यस्तै यही जेठ महिनामा नै मोरङ्गकी २१ बर्षीय युवतीलाई पनि दाइजोकै निहुँमा श्रीमान्ले नीलडाम हुने गरी कुटे । श्रीमान्को लछार पछार गर्दै गरेको कुटपिट सहन नसकेपछि उनी भागेर ओरेक संस्थाको सम्पर्कमा आइन् । संस्थामा आइपुगेपछि उजुरी लिएर प्रहरीमा पुगिन् । तर जारी लकडाउनलाई कारण देखाएर उनको घटनामा छलफलसम्म हुन सकेको छैन । उनी अहिले माइतीमा नै छन् ।

यी घटना निषेधाज्ञाको अवधिमा ओरेक संस्था खोज्दै पीडित आफै पुगेकामध्ये केही प्रतिनिधि घटना मात्र हुन् । धेरै हिंसाका घटनाहरु सार्वजनिक हुन सकेका छैनन् भने घरपरिवारका व्यक्तिहरुबाट भएका घटनाको उजुरी दिन प्रभािवतहरुले नसकेको, कतिपय घटनाबाट प्रभावित व्यक्तिहरु दुर्गम ठाउँमा हुँदा काउन्सेलिंगमा पनि आउन नसकेको, केही प्रभावित व्यक्तिहरुले मेरो परिवारका व्यक्ति आए भनी विचमै फोन काट्ने गरेको र तत्काल हिंसा प्रभावितका लागि सेवा प्रदान गर्ने सहयोगी संयन्त्रहरु पनि प्रभावित हुँदा न्याय पाउने विश्वास नै नभएका कारण पनि घटनाहरु बाहिर नआएको अवस्था रहेको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले भनाई छ ।

निषेधाज्ञाको एक महिनाको समयावधिमा दुई सय बढी महिला तथा बालिकामाथि हिंसा भएको ओरेक नेपालले जनाएको छ । निषेधाज्ञाको एक महिनामा महिला पुनस्थापना केन्द्र ओरेकमा यी घटना अभिलेख भएको संस्थाले एक विज्ञप्ति जारी गरी जानकारी गराएको हो । अभिलेख भएका घटनामा ४५ प्रतिशत हिंसा घरभित्रै हुने गरेको पनि उक्त तथ्यांकले देखाएको छ ।
निषेधाज्ञा शुरुवात भएदेखि ओरेकले एक महिनाको अवधिमा दुई सय जना महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसाका घटना भएको तथ्य अभिलेखिकरण गरेको छ । ओरेकद्वारा सञ्चालन गरिएका दुई वटा हटलाइन, २३ जना मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायिक संघसंसस्थाबाट घटनाहरु अभिलेखिकरण गरिएका हुन् ।

ओरेकका अनुसार दुई सय मध्ये मध्ये ४४ वटा घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएका हुन् । गत पन्ध्र दिन अर्थात जेष्ठ १ देखि १५ सम्ममा एक सय तीन जना महिला तथा बालिकामाथि विभिन्न किसिमको हिंसा भएको पाईएको छ ।
निषेधाज्ञाको समयमा संकलित घटनाहरु मध्ये सबैभन्दा बढी ४५ प्रतिशत अर्थात ९० जना महिलाहरु आफ्नै श्रीमान् र परिवारका सदस्यहरुबाट हिंसाभोग्न बाध्य भएको तथ्याँकले देखाउँछ । अभिलेखीकरण भएका घरेलु हिंसाका घटनालाई हेर्दा महिलाहरुलाई दाइजो नल्याएको वा कम ल्याएको निहुँमा, छोरी छोरी जन्माएको निहुँमा, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएकोमा सबै दोष महिलालाई नै लगाईे, चारित्रिक आरोप लगाई, गालीगलौज तथा अपशब्द प्रयोग गरी ३९ जनालाई शारीरिक तथा २६ जनालाई मानसिक यातना दिएको पाइएको छ भने । यसैगरी २५ जना महिला तथा बालिकाहरुलाई खान लाउन नदिई घरनिकाला गरि वेवास्ता गरिएको, बच्चाको जन्मदर्ता, विवाह दर्ता, नागरिकता नबनाइदिएको र स्वास्थ्य सुविधा जस्ता आवश्यक स्रोत सुविधावाट बञ्चित गरी हिंसा गरिएको पाइएको छ । घरेलु हिंसाका घटनामा ७६ प्रतिशत (६८ जना) श्रीमान र २४ प्रतिशत (२२ जना) परिवारका सदस्य संलग्न रहेको देख्न सकिन्छ । यसले प्रत्येक व्यक्तिका लागि घर सुरक्षित हुनुपर्नेमा घरभित्रै महिला र बालिका अझ बढी असुरक्षित र हिंसाको जोखिममा रहेको देखाउँछ ।

घरेलु हिंसाका घटना बाहेक यस अवधिमा ४५ वटा बलात्कार, १५ वटा सामाजिक हिंसा, १४ वटा हत्या, ५ वटा हत्या प्रयास, ६ वटा यौनदूव्र्यवहार, ४ वटा आत्महत्या, २ वटा मानव बेचविखन, २ वटा बलात्कारको प्रयास र १७ वटा अन्य प्रकृतिका हिंसाका घटना संकलन भएका छन् । अन्य प्रकिृतिका घटना मध्ये पारिवारिक स्रोतका अनुसार लैंगिक हिंसाको कारणले २ जनाले आत्महत्या प्रयास गरेका र १५ जनालाई अलपत्र पारिएका घटना रहेको छ ।

नेपाल सरकारले पटक–पटक निषेधाज्ञाको समय अवधि थप गरी नागरिकलाई कोरोना महामारीबाट सुरक्षित राख्ने प्रयास गरेको छ । तर यस्तो विपतको अवस्थाले महिला तथा बालिकामाथि हिंसा हुने वातावरण समेत बनाएको छ । यो अवस्था संबोधन गर्न हिंसा प्रभावितको न्यायको अधिकारलाई पनि अत्यावश्यकीय सेवाभित्र राखेर सेवालाई नियमित गर्नुपर्ने अधिकारकर्मीहरुले माग गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np