Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

कोरोना संक्रमितलाई नयाँ जीवन दिनेहरु

         दशरथ घिमिरे/आभाष बुढाथोकी ||   19 Views   ||   Published Date : 21st June 2021 |

देउखुरी । घर जान नपाएको महिना दिन पुग्न थाल्दा पनि कमला न्यौपानेलाई परिवारसँग भेट नहुँदा त्यति धेरै चिन्ता लागेन जति उनलाई कोभिड–१९ का संक्रमितलाई कसरी छिटो निको बनाउन सकिन्छ भन्ने कुराले ध्यान तान्यो ।IMG_20210602_135357

अस्पताल आउँदा धेरै बिरामी गम्भीर भएर ल्याइएको हुन्छ । अक्सिजन लेवल ह्वात्तै घटेका बिरामीलाई बढी ध्यान दिनुपर्छ । सिकिस्त भएर कोभिड अस्पतालमा आइपुगेकाहरुलाई उपचारपछि नयाँ जीवन पाएको महसुस गर्छन् । थलिएका बिरामीलाई सञ्चो गराएर घर पठाउँदा सबै हर्षित हुन्छन् ।

‘अस्पताल आउँदा निकै कमजोर अवस्थामा पुग्नु भएकाहरुलाई निको बनाएर पठाउन पाउँदा निकै खुशी लाग्छ’ उनले भनिन, ‘रेफर गरेर पठाउँदा मन दुख्छ, तर निको भएर घर पठाउन पाउँदा त्यो भन्दा ठूलो खुशी हामीसामु हुँदैन ।’

कोभिड अस्पतालमा उपचारका लागि आउने धेरै बिरामीले आफ्नो स्वास्थ्यको धेरै चिन्ता गरेको पाइएको छ । ‘मर्छु कि भन्ने चिन्ताले गर्दा बिरामीको हालत झन बिग्रन जान्छ । आत्मविश्वास जगाउन धेरै सम्झाइ बुझाइ गर्ने गरेका छौं,’ कमलाले भनिन्, ‘काउन्सिलिङ गर्दा धेरैलाई चाँडै निको बनाउन सकिन्छ ।’ लमहीमा सञ्चालनमा रहेको एचडियु कोभिड अस्पतालमा डाक्टर, नर्सिङ सहितको ३५ जनाको स्वास्थ्यकर्मी निरन्तर उपचारमा खटिएको छ । आर्थिक अवस्था कमजोर भएका धेरै बिरामीले उपचारबाट नयाँ जीवन पाएका छन् ।

वैशाख १८ गतेबाट लमहीमा १२ बेडबाट अस्पताल शुरु भएको हो । अस्पताल पु¥याउने क्रममा सिकिस्त भएकाहरु ९÷१० दिनको उपचार पछि निको भएको डा. पुष्प भुसालले जानकारी दिए । ४८ वर्षीय पुरुष सडक कार्यालय लमहीमा कार्यरत थिए । अस्पताल पु¥याउँदा अक्सिजन लेवल ३५÷४० मात्रै थियो । कोभिड अस्पताल लमहीमा भर्ना गरेर उपचार शुरु भयो । १० दिनपछि ती व्यक्ति निको भएर घर फर्किए । यस्तै अर्को उदाहरण पनि छ । गढवा–३ घर भएकी महिला । कोभिड–१९ पोजेटिभ भएपछि होम आइसोलेसनमा बसिन् । तर स्वास्थ्य बिग्रदै गयो । त्यसपछि उनलाई कोभिड अस्पताल लमहीमा भर्ना गरियो । आर्थिक अवस्था कमजोर थियो । अन्यत्र लैजान सक्ने अवस्था थिएन ।

लमहीमा उनको कोभिडको उपचार शुरु भयो । एक हप्तापछि उनी निको भएर घर फर्किइन् । ‘२४ घण्टा स्वास्थ्यकर्मीको निगरानी रहन्छ । रोटेशन अनुसार ड्युटी हुन्छ,’ डा. भुसालले भने, ‘अक्सिजन नर्मल भएकालाई होम आइसोलेसनमा बस्न भन्छौं । ९० भन्दा अक्सिजन लेवल कम भयो भने अस्पतालमा भर्ना गरेर अक्सिजन, औषधी, चेस्ट फिजियो थेरापी, निरन्तर काउन्सिल गर्ने काम हुन्छ ।’ देउखुरीको लमही नगरपालिका, राजपुर, गढवा र राप्ती गाउँपालिकाको संयुक्त लगानीमा कोभिड अस्पताल सञ्चालनमा आएपछि संक्रमितको उपचारमा सहजता आएको हो ।
डाक्टर रोदन : जो संक्रमितको उपचार गर्दै घर–घर पुगिरहेका छन्

cover---Rodan Mahara
रातको नौ बज्दै थियो । डा. गिर रोदन महरालाई लमहीबाट एकजना कोभिडका बिरामीले आत्तिएर फोन गरिन्, ‘अक्सिजन घट्दो छ । तपाईं अहिले नै आइदिनुस् न ।’

विरामीको अवस्था गम्भीर छ भन्ने बुझेपछि डा. रोदन राती नै बाइक कुदाउँदै लमही पुगे । बिरामीको घरमै पुगेर स्वास्थ्य जाँच गरे । स्वास्थ्य अवस्था बुझेर औषधी र आवश्यक परामर्श दिएपछि अर्काे दिन बिहानमात्र घर फर्किए । केही दिन पछि ती संक्रमित बिरामीको स्वास्थ्य अवस्था क्रमशः सुधार हँुदै गयो ।

एकदिन दिनभर संक्रमितलाई हेरिसकेपछि रातको १२ बजे डा. रोदन नुहाएर सुत्ने तयारी गर्दै थिए । बाहिर पानी परिरहेको थियो । त्यहीबेला कोभिड संक्रमितका एक बिरामीले उसैगरी आत्तिएर फोन गरे । उनी राति नै पिपिई लगाएर उपचारका लागि बिरामीको घरमै पुगे ।

घोराही–१४ का ३५ वर्षीय डा. गिर रोदन महरालाई कोभिड संक्रमण बढे यता न दिन न रातको प्रवाह छ, न घाम पानीको । कोभिड संक्रमणको यो महामारीमा डा. रोदन भने संक्रमित बिरामीको उपचारमा दिनरात खटिरहेका छन् ।

बंगलादेशबाट एमविविएस गरेपछि गृहजिल्ला दाङमा फर्किएका डा. महराले २८ दिनको अन्तरालमा ७० बढी कोभिड बिरामीहरुलाई घरमै पुगेर औषधी उपचार सेवा र तीन सयबढीलाई फोनबाटै परामर्श दिइसकेका छन् । डा. रोदनलाई कोभिड संक्रमितका विरामीहरुको दैनिक ५० बढी फोन आउँछन् । ‘पहिले बिरामीको स्वास्थ्य अवस्था बुझ्छु’ उनले भने ।
‘अवस्था सामान्य भए फोनबाट सल्लाह र परामर्श दिन्छु । अवस्था गम्भीर भए घर खोज्दै भेट्न पुग्छु ।’ दैनिक सातदेखि १७ जनासम्म बिरामीहरुलाई घरमै भेटेरै उपचार तथा परामर्श दिइरहेका छन् ।

कति बिरामी त गम्भीर प्रकार हुन्छन्, अक्सिजन नै दिनुपर्ने अवस्थाका । डा. रोदनलाई कतिपटक अक्सिजन सिलिण्डर समेत बोकेर घरमै जानु परेको छ । ‘कति बिरामीले गम्भीर अवस्थाका हुन्छन् । श्वासप्रश्वासमा गाह्रो भयो भनेर फोन गर्छन,’ उनले भने, ‘त्यस्तो अवस्थामा अक्सिजन बोकेर जानुपर्ने हुन्छ ।’ डा. रोदनले उपचारका लागि कुनै शुल्क नलिएर उपचार गरिरहेका छन् । यी सबै उनले सेवा भावका रुपमा गरेका छन् । त्योभन्दा धेरै एउटा चिकित्सक हुनुको दायित्व सम्झेर संक्रमित बिरामीहरुलाई निःशुल्क उपचार गर्दैछन् ।

उनले बिरामीको उपचारका लागि हरबखत आफूलाई तयार राखेका छन् । ‘बिहान, साँझ भन्ने हँुदैन । जति बेला बिरामीलाई अप्ठ्यारो पर्छ, कुदिहाल्छु,’ उनले भने । यसबीच थुप्रै विरामीहरुलाई घरमै पुगेर उपचार गरिसकेका छन् । ‘विरामीलाई प्रत्यक्ष भेटेर जाँच्दा उनीहरुको स्वास्थ्य अवस्था थाहा पाउन सकिन्छ । अक्सिजन स्याचुरेनको मात्रा बुझ्न सकिन्छ,’ उनले भने । उनका अनुसार आफूले जाँचेका कैयौं बिरामी उपचारपछि निको पनि भएका छन् ।

उनलाई के लाग्छ भने कोभिड संक्रमणको बेला बिरामीहरु त्यसै पनि आत्तिएका हुन्छन् । एक्लो महसुस गर्छन् । मनोवल घटेको हुन्छ । यस्तो बेला स्वास्थ्यकर्मीले उनीहरुलाई भेटेमात्रै पनि आधा रोग निको भइसक्छ । सही समयमा सही उपचार दिए, बिरामीलाई सजिलै बचाउन सकिन्छ ।

डा. रोदन महामारीको घडीमा जे जसरी उपचारमा खटिरहेका छन् सामाजिक सञ्जाल र साथीहरुले निकै हौस्याउछन् । प्रशंसा गर्छन् । थप काम गर्न प्रेरित गरिरहेका छन् ।

उनलाई भने आफूले धेरै गरेछु जस्तो लाग्दैन । ‘मैले आफ्नो दायित्व मात्र पूरा गरेको हु । आफूले जानेको ज्ञान र थाहा पाएको कुरा विरामीको सेवामा लगाएको हु। महामारीको यो समयमा हरेक चिकित्सकले गर्नुपर्ने यही हो’– उनले भन्नुभयो । तर महामारीको घडीमा पनि कतिपय डाक्टर भने विरामीको उपचारमा नखटिएको देख्दा उनलाई दुख लाग्छ । ‘कोभिडको यो महामारीमा योद्धा भनेकै स्वास्थ्यकर्मी र चिकित्सक हुन् । यो अवस्थामा विरामीदेखि भाग्ने होइन । आफ्नो दायित्व सम्झेर स्वास्थ्य सेवामा झन् बढी खटिने हो ।’ डा. रोदनको घरमा भने वृद्ध हजुरबुबा हजुरआमा छन्, परिवार छ । श्रीमती र दुई वर्ष नपुगेकी छोरी छन् । डा. रोदनलाई यसरी विरामीको घर–घर पुग्दा आफू र परिवारलाई पनि संक्रमणको जोखिम रहन्छ ।

बिरामीको घरबाट फर्कदा रातको १२÷ एक बजिसकेको हुन्छ । संक्रमणको जोखिम रहने भएकाले नुहाउनुपर्छ । घरमा छुट्टै बस्नुपरेको छ । भर्खेरै हुर्कदै गरेकी १८ महिनाकी छोरी छ । डा. रोदन भावुक हुँदै भन्छन्,– ‘दुई वर्ष नपुगेकी छोरी छ, बाबा भन्दै आउन खोज्छ । म ऊदेखि टाढा बस्छु ।’

यसरी दिनरात नभनी खटिदा थकान पनि उत्तिकै बढेको हुन्छ । तर यी सबै कुरा भन्दा पनि महामारीमा थुप्रैको जीवन बचाउन सकेकोमा उनलाई खुशी लाग्छ । ‘विरामीको घरमा पुग्दा उहाँहरु खुशी हुनुहुन्छ । मनोबल बढेर आउँछ । मैले छँुदा पनि निको भएको महसुस गर्नुहुन्छ’– उनले भने, – ‘धेरै त निको पनि भइसक्नुभएको छ । यो देख्दा भित्रैबाट आनन्द महसुस हुन्छ । सबै थकान बिर्सन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np