रोजगारीसँगै हस्तकला प्रवर्द्धन
देउखुरी । कोरोना भाइरसको संक्रमण फैलिएपछि बन्दाबन्दी भयो । यो समय तुलसीपुर उपमहानगरपालिका–१९ विजौरी निवासी खिमा विकले सदुपयोग गर्न सकिनन् । ज्याला मजदुरीको काम पनि भेटिएन । हातमा सीप थिएन । हातमा सीप नहुँदा बन्दाबन्दीमा कामविहीन जस्तै हुनुपर्यो । अब खिमालाई बन्दाबन्दीको समयमा होस् या अन्य कुनै विपतमा परेको बेला पनि खाली बस्नु नपर्ने भएको छ । उनले बाँसबाट सामान बनाउन सिकेकी छन् । हस्तकलाको सामग्री बनाएर बिक्री गर्ने उनको योजना छ ।
विकको घर वरिपरि बाँसघारी छ । त्यो बाँसको उनले डोको मात्रै बुनेको देखेकी थिइन् । घर बनाउँदा होस् बार बेर्दा बाँस काम लाग्छ तर बाँसको प्रयोग यतिमा मात्रै भने सीमित छैन । भित्ते घडीदेखि बाँसकै टेबुल, कुर्सीसम्म बन्छ भन्ने उनलाई थाहा थिएन । अब खिमालाई यी सबै कुरा थाहा पनि भयो अनि आफै बनाउन सक्ने भइन् ।
‘भात भान्साको काम सकेपछि खाली हुन्थें । अब बचेको समयमा बाँसबाट सामान बनाउँछु’– उनले भनिन्, ‘राम्रो बनाएर दिन सक्ने हो भने महंगोमा बिक्री हुने रहेछ ।’
कृष्णमती पुनलाई पनि अब दुई चार रुपैयाँका लागि अरुसँग हात थाप्नुपर्ने अवस्थाको अन्त्य हुन्छ भन्ने लागेको छ । उनी पनि गृहिणी महिला हुन् । अब हस्तकलाको सामग्री तयार पारेर आयआर्जन गर्न सक्ने क्षमता विकास भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले कृष्णमती र खिमासहित पाँच सय युवा तथा उद्यमीलाई स्वरोजगार बनाउन थालेको छ । कोरोना भाइरसका कारण स्वदेशमा रोजगारी गुमाएका, विदेशबाट रोजगारी गुमाएर फर्किएका तथा बेरोजगार युवालाई लक्षित गरेर स्वरोजगार बनाउने अभियान चलाएको हो । विभिन्न सीपयुक्त तालिम दिएर आफ्नै ठाउँमा स्वरोजगार भएका उदाहरणहरु छन् ।
तुलसीपुर बहुप्राविधिक शिक्षालयले मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रम लुम्बिनी प्रदेशको सहयोगमा तालिम सञ्चालन गरेर युवालाई उद्यमी बनाउन थालेको छ । बाँसबाट विदेशी पर्यटकलाई आकर्षण गर्न सक्ने धेरै सामग्री बनाउन सकिन्छ । तुलबहादुर केसीसँग बाँसबाट सजिलै सँग सामग्री बनाउन सकिने र यसबाट आम्दानी गर्न सकिने अनुभव छ । ‘बाँसबाट के बन्दैन, सबैथोक बन्छ । यसलाई बनाउन जान्नुपर्छ’– उद्यमी तुलबहादुर केसीले भने, ‘हामीले बनाएको सामग्री सरकारले किनिदिएर प्रोत्साहन दिए झनै राम्रो हुने भयो ।’
बाँसबाट निर्मित सामग्रीको बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने भनाइ उहाँको छ । कोरोना भाइरसका कारण रोजगारी गुमाएकाहरुलाई स्वरोजगार बनाउन कार्यक्रम उपयोगी भएको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । बन्दाबन्दीको अवस्थामा पनि सीप सिकेर त्यसको सदुपयोगबाट आम्दानी गर्न सकिने विश्वास स्थानीय सरकारको छ ।
‘हामी सीप प्रदान गरेर स्वरोजगार बनाउन चाहन्छौं । यो दिशामा अघि बढेका छौं । तालिम दिएर सीप दिने र सीप सिकेकाहरुले उद्यममा संलग्न हुने व्यवस्थापन गरेका छौं’– तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भने, ‘रोजगारी सिर्जना गर्ने कार्यक्रमको मुख्य उद्देश्य हो ।’ कोरोनाका कारण र त्यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनले गर्दा धेरैले रोजगारी गुमाउनुपरेको छ ।
रोजगारी गुमाएकाहरुलाई स्वरोजगार बनाउन अन्य स्थानीय सरकारले पनि यस्तै अभियान चलाउन सके उद्यम विकासमा टेवा पुग्ने थियो ।