Widgetized Section

Go to Admin » Appearance » Widgets » and move Gabfire Widget: Social into that MastheadOverlay zone

विभेदमा नर्सहरु

         गोकर्ण पौडेल ||   91 Views   ||   Published Date : 31st January 2022 |

नर्सिङ पेसा सेवामूलक सम्मानित पेसा हो । तर सोहीअनुसारको सम्मान, पारिश्रमिक र मैत्रीपूर्ण व्यवहार नहुँदा विरामीलाई सबैभन्दा धेरै हेरचाह गर्ने नर्सहरु पेशाबाटै पलायन हुने जोखिम बढेको छ ।

तुलसीपुर, माघ । विमला पौडेल नर्सिङ पेसामा आबद्व भएको तीन दशक नाघ्यो । कोभिडभन्दा अघि त्यस्ता महामारीसँग खासै जुध्नु परेन । जब कोभिड शुरु भयो जोखिममात्रै होइन सामाजिक विभेदमासमेत पर्नुपर्यो । विमला पौडेल नेपाल नर्सिङ संघ दाङको नेतृत्वमा रहँदा त विभेद सहनुप¥यो भने अरु नर्सको अवस्था अझ झन दयनीय नै रह्यो ।

बुद्ध हस्पिटल घोराहीमा कार्यरत एक जना नर्सलाई त घरबेटीले कोरोना संक्रमण फैलने भन्दै बस्दै आएको कोठाबाटै निकालिदिए । त्यतिमात्रै होइन कोरोना महामारीमा नर्स हिँड्ने बाटो, आउँदा जाँदा समाजले उनीहरुप्रति गरेको दुव्र्यवहार दर्जनौं घटना छन् । महामारीमा आफ्नो ज्यानको बाजी राखेर धेरैको ज्यान बचाइयो विमलाले भनिन, तर समाजमा हामीलाई नै छि छि दूर दूर खेप्नु प¥यो ।

कुनै समय सामान्य ज्वरो आउँदा होस् या रक्तचाप बढ्दा छरछिमेकहरु घरमै उपचारका लागि आउँथे । तर कोरोना अस्पताल तुलसीपुरमा कार्यरत नर्स समीक्षा रिजाललाई यो महामारीमा तिनै छरछिमेकले गाउँ पस्नबाट नैतिक बार लगाए । तुलसीपुर–१७ की रिजाललाई घर फर्किदा छिमेकीहरुले नै कोरोना रिपोर्ट नेगेटिभ खोज्न थालेपछि आफूलाई हेला गरेको महसुस भयो ।

यी त दाङमा नर्सिङ पेशाप्रति समाजले गरेका विभेदका केही उदाहरण मात्रै हुन् । रातदिन विरामीको सेवामा खटिने नर्सिङहरुले अस्पताल, समाज र राज्यबाट खेप्नु परेको पीडा अझ धेरै छन् ।

नर्सिङ पेसा सेवामूलक सम्मानित पेसा हो । तर सोहीअनुसारको सम्मान, पारिश्रमिक र मैत्रीपूर्ण व्यवहार नहुँदा विरामीलाई सबैभन्दा धेरै हेरचाह गर्ने नर्सहरु पेशाबाटै पलायन हुने जोखिम बढेको छ ।

दुरदराजमा डाक्टरको काम यिनै नर्सहरुले गरिरहेका छन् । तर उनीहरु कार्यरत संस्थामै विभेदमा छन् । स्वास्थ्य संस्थामा पाँचौ तहको सिएम ए, प्यारामेडिसिनको मातहतमा रहेर नर्सहरुले काम गर्दै आएका छन् । सरकारले तह निर्धारण गरेको छ । सातौ तहसम्म पुगेको नर्स पनि पाँचौै तहकै कार्यालय प्रमुखबाट परिचालित हुनुपर्छ । नेपाल नसिंङ संघ दाङका सल्लाहकार राधा पौडेलले भन्छिन्, ‘हाम्रो तह बढेर तलब मात्रै बढ्ने रहेछ, इज्जत, प्रतिष्ठा र नेतृत्वदायी भूमिका बढ्ने रहेनछ । जब राज्यले नै यसरी विभेद गर्छ भने अरुबाट कसरी सम्मान मिल्ला ?’

यो पेसामा महिलामात्रै कार्यरत हुने भएकाले लैगिंक आधारमै सबैभन्दा बढी विभेद खेप्नुपरेको पौडेलको गुनासो छ । अन्य पेसामा पुरुष समेत हुने भएकाले उनीहरुले नीति निर्माण तहमै प्रभाव पार्न सक्छन । उनीहरुकै पक्षमा नीति नियम बन्छन् तर नर्सले जति दक्षता, क्षमता प्राप्त गरेका भए पनि कुनै अर्थ देखिएन–पौडेलले भन्नुभयो । त्यति मात्रै होइन जोखिमका समयमा सुरक्षाका आवश्यक सामग्रीहरु समेत नर्सहरुलाई उपलब्ध नगराइएको पौडेलले बताउनुभयो । ‘हामीले आवश्यक सुरक्षा सामग्री समेत पाउन सकेनौं पौडेलले भन्नुभयो,–मास्क,स्यानिटाइजर, पिपिई समेत नपाएपछि जोखिम उठाएरै काम ग¥यौँ ।

जिल्लामा रहेका सरकारी संस्थाहरुमा नर्सहरुको मासिक तलब भत्ता १८ देखि ३० हजारसम्म छ । तर नीजि स्वास्थ्य संस्थामा त्यो सुविधा पनि छैन । नीजि क्षेत्रमा एकाध बाहेक आठदेखि १५ हजारसम्म पाउने गरेको स्वयं नर्सहरु बताउँछन । जोखिम उठाउँदै बिरामीको सबैभन्दा धेरै हेरचाहमा खटिने नर्सहरुको जोखिम भत्ता समेत कटौती गरिएको नेपाल नर्सिङ संघ दाङले जनाएको छ ।

कोरोना अस्पतालमा काम गर्दै आएका नर्सहरुलाई २०७७ चैतसम्म एक सय प्रतिशत भत्ता दिइएको थियो । २०७८ वैशाखदेखि २०७८ कात्तिकसम्म ५० प्रतिशत भत्ता प्राप्त गरेका थिए । २०७८ मंसिर यता जोखिम भत्ता पाउन सकेका छैनन् । नेपाल नर्सिङ संघ दाङकाअनुसार जिल्लामा तीन सय नर्सहरु नीजि तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत छन् । तर सरकारीबाहेक नीजि क्षेत्रमा कार्यरत अधिकांश नर्सिङ स्टाफहरुको रोजगारीको ग्यारेन्टी छैन । न पैसा छ न रोजगारीको ग्यारेन्टी छ एक स्टाफ नर्सले भनिन्– रातदिन गर्ने ड्यूटीको बोझअनुसारको पारिश्रमिक अस्पतालहरुले दिन सकेका छैनन् । सरकारी स्वास्थ्य संस्थामै कार्यरत करार नर्सहरुको अवस्था पनि नीजि संस्थाको भन्दा कम छैन । उनीहरुको जागिरकै ठेगान छैन । अधिकारका लागि बोले हटाइदिने समस्या सरकारी स्वास्थ्य संस्थाका करार र नीजि संस्थाका नर्सहरुले भोगिरहेका छन् । यस्तै समस्याका कारण दक्ष जनशक्ति पनि विदेश पलायन हुने अवस्था रहेको नर्सिङ संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समरेखा म्यागजिन (द्वैमासिक) लागि


सम्पादक
लक्ष्मी आचार्य





Ghorahi-10 Dang, Nepal
Email: magazinesamarekha@gmail.com
Phone: +977-082-560084
Web: www.samarekha.com.np