दैनिकी
दैनिकी
- सरिता तिवारी
सबेरै उठेर
उघार्नु छ घरका ढोका
बढार्नु छ कसिंगर र धुलो
पुछ्नु छ भुईं
चमक्क चम्किएको भुईं हेर्दै
मुस्कुराउनु छ गृहिणी मुस्कान
सजाउनु छ बैठक
मिलाउनु छ शयनकक्ष
र ओलम्पिकको स्वर्णपदक जित्ने दौडजस्तो
दौडनु छ भान्साको अविदित भूगोलमाथि बिहानभर
चिया चमेना
भात भान्सा
टिफिन पानी
सिद्धिएपछि यो सबै चटारो
कतै अनन्तको उडान भर्ने तयारीजस्तो
निस्कनु छ बाच्ने उपक्रमको
दैनिक धावनमार्गमा
मानौं
पर्खेर बसेका छन् बाटो वारिपारि
प्रकृतिको अशेष गीत गाउने चराहरू
वा लालयित छन् आँखैअघि ठोक्किन
हावाको लयमा नाच्ने पुतलीहरू
सँँुघ्दै बाटोको परिचित गन्ध
छिचोल्दै मानिसहरूको भीड
र महसुस गर्दै हृदयमा
बाटोमा हिँडिरहनुको आनन्द
पुग्नु छ कहीँ, कुनै नियमित गन्तव्यमा
र बिसाउनु छ झोला
फर्कनु छ तीब्र रफ्तारमा
थामिनु छ आगनको पृथिबीमाथि
र खोल्नु छ ढोका
घरैभरि मलाई पर्खेर बसेका
अनगिन्ति छन् बेफुर्सदी
क्यालेण्डरजस्तो टागिएको छ अदृश्य
साँझ बिहानको निजी कार्यतालिका
र त्यसैका मसिना कोठाहरूमा
बाँडिनु छ प्रत्येक दिन आफँैलाई टुक्रयाएर
सिर्फ म जान्दछु
मेरा घरका भित्ताहरूको लिपि
र मात्र मलाई थाहा छ
कहाँनेर छ
मेरा पसिनाको मसीले लेखेको
गुमनाम किताबखाना
जब अलमस्त निदाउँछ रात
थाकेर लस्त भएको जीउलाई
थुपारेर सनातन बिछ्यौनामा
डुब्दै उत्रन्छु अवचेतन
र्याल र बिर्यको दलदले समुद्रमाथि
र किनारमा निस्केर
दोहोर्याउँछु मनैमनमा
मयल र पानीको
दुःख र निर्वाणको
यात्रा र गन्तब्यको
जीवनभरिको अकथ्य कथा
र
सम्झन्छु निदाउनुअघि हरेक रात
गृहस्थीको अज्ञात प्रोफाइलमा खज्मजिएर
सकसले सास फेरिरहेको
कदाचित पूरा हुन नपाएको कविता ।
००००