पाठक पत्र
फैसला कार्यान्वयन किन हुँदैन ?
समरेखा म्यागजिनको गतांकमा अदालतबाट भएका फैसला कार्यान्वयन नहुँदा महिलाहरुले भोगेको पीडाबारे बुझ्ने मौका मिल्यो । स्वतः पाउनुपर्ने हक लिन पनि महिलाहरुले यति धेरै अप्ठेरो भोगिरहेका रहेछन् । हाम्रोजस्तो महिलालाई हेप्ने समाजमा घरभित्रको पीडा बाहिर ल्याउनु सानो कुरा होइन । कानुनी प्रक्रियाका झन्झटिला पार गरेर अदालतबाट पाएको हक पनि सजिलै भोगचलन गर्न नपाउने हो भने ती महिला कहाँ जाने ? यो त पीडित महिलाले दुःख पाउने काम मात्रै भयो । पीडितले पाएको न्याय पनि भोगचलन गर्न नपाउने र पीडकको उस्तै दबदबा भइरहने हो भने समाजमा दण्डहीनताले प्रश्रय पाउँछ । शक्तिमा हुनेले, पैसा सम्पत्ति हुनेले जे गरे पनि हुन्छ भन्ने मान्यताले बल पाउँछ । न्यायालयप्रतिको जनविश्वासमा ह्रास हुन्छ । त्यसैले यो राम्रो लक्षण होइन ।
अदालतबाट भएका फैसला कार्यान्वयन गराउन अदालतको दायित्व एउटा तहसम्म होला, तर गाउँ समाजका व्यक्तिहरुको भूमिका झन ठूलो हुन्छ । कुनै एक व्यक्ति विशेषको कुरा भए पनि समाजमा न्याय स्थापित गराउन पनि यस्ता विषयहरु सामाजिक सरोकारका विषय बन्नुपर्छ । स्थानीयहरुले सहयोग गर्ने हो भने यस्ता समस्याहरु सजिलै समाधान हुन्थे । त्यसैले अदालतका फैसला कार्यान्वयन गराउँदा नजिकका छिमेकी, स्थानीयस्तरका बडा नागरिक मञ्चहरुको समेत संलग्नता गराउन सके राम्रो हुने थियो ।
सुशीला शर्मा
प्यूठान
एसिड आक्रमणमा परेकाको साहसिक कथा
समरेखा म्यागजिनको कार्तिक मंसीर अंकमा प्रकाशित एसिड आक्रमणमा परेका महिलाहरुले गरेको कामको प्रशंसा गर्न
चाहन्छु । महिला भएकै कारणले एसिड आक्रमणको शिकार भएका भारतका महिलाहरु संगठित भएर क्याफे सञ्चालन गरेको कथाले धेरै महिलाहरुलाई प्रेरणा दिएको छ । त्यस्ता समस्या भोग्न बाध्य महिलाहरुको मनोबल उठाउँदै उनीहरुलाई अगाडि बढ्न प्रेरित गर्नेहरु धन्यवादका पात्र छन् । जन्मँदै शारीरिक अवस्था कमजोर भएका, कुनै कारणले कुनै घटनाले शारीरिक अवस्था असामान्य भएकाहरु समाजका लागि बोझ होइनन, अवसर पाए उनीहरुले पनि उदाहरणीय काम गरेर समाजमा स्थापित हुनसक्छन् भन्ने मान्यतालाई बल दिएको छ । यस्ता कथाहरुले अघि बढ्न खोज्ने तर बाटो नदेखेका व्यक्तिहरुका लागि बाटो देखाउने काम गर्छन् । समरेखामा यस्ता सकारात्मक सन्देश प्रवाह गर्ने सामग्रीहरु निरन्तर आइरहून्।
पुनम विक
तुलसीपुर, दाङ
एक्काइसौं शताव्दीमा बल्ल मतदान
साउदी अरबमा महिलाले पहिलोपल्ट मतदान गरेको समाचार सुन्दा अचम्म लाग्यो । हामी एक्काइसौं शताब्दीका कुरा गर्छौं । विज्ञान र सञ्चारले यतिधेरै फड्को मार्दासमेत आजसम्म साउदीमा महिलाका लागि मतदानको अधिकारसम्म रहेनछ । यो समाचार सुन्दा हामी धेरै अगाडि भएजस्तो लाग्यो । हाम्रो देशमा राष्ट्रपति सभामुखजस्तो राष्ट्रको माथिल्लो पदमा महिलाहरु पुगिसके । हामी नेपाली महिलाले २००४ सालदेखि मतदानको लागि संघर्ष ग¥यौं । २००८ सालदेखि नै मताधिकार प्राप्त ग¥यौं । नागरिकतामा समान हकको संघर्ष जारी छ । नयाँ संविधानमा समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात गरिएको छ । र पनि अझै व्यवहारतः नेपाली महिलाले विभेदबाट अझै मुक्ति पाउन सकेका छैनौं ।
महिला भएकैले अधिकार पाउनका लागि छुट्टै संघर्ष गर्नुपर्ने बिडम्बनाबाट मुक्ति नपाउञ्जेल कसरी बिकासमा प्रतिस्पर्धा गर्न सकिएला ? जे होस्, पहिलोपल्ट मतदाता र उम्मेदवार बन्ने मौका पाएका साउदी महिलाले चुनाव जितेको समाचारले खुशी तुल्यायो ।
सीता शर्मा
काठमाडौं
चेतना महिला विद्यालयलाई शुभकामना
अझै पनि छोरालाई विशेष महत्व दिने हाम्रो समाजमा वयस्क महिलाको शिक्षाको विषयमा प्रायः कसैको पनि ध्यान गएको देखिँदैन । एकाध वयस्क महिलाहरुले आफ्नै कोशिसमा शिक्षा लिएका केही उदाहरण सुनिए तापनि त्यस्ता उमेर समूहका महिलाहरुलाई लक्षित गरेर विद्यालय खुलेका छैनन् । निजी क्षेत्रबाट महिलाहरुको सक्रियतामा दाङमा चेतना महिला विद्यालय खुलेको सुन्दा धेरै खुशी लागेको छ । ज्ञान आर्जन गर्ने कुनै उमेर हुँदैन । पारिवारिक सामाजिक या अन्य कुनै कारणले पढ्न नपाएका, पढाई छुटेका महिलाहरुलाई यस्तो अवसर उपलब्ध गराउने विद्यालयका सञ्चालक महिलाहरुलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुको यस्तो पुण्य कार्यमा सबैले सहयोग गर्नुपर्छ । चेतना महिला विद्यालय साँच्चिकै शिक्षाको चेतना छर्न सफल रहोस् शुभकामना दिन चाहन्छु ।
इन्दिरा ज्ञवाली
हालः काठमाडौं